डाइपर नहुँदा स्पाइनल इन्जुरीका बिरामीले पेट भरि खान पाएनन्

प्रनिनिधि तस्बिर

काठमाडौ : सुन्दरीजलकी गायत्री दाहाल १३ वर्षकी थिइन् । रमाइलोमा भुल्ने चञ्चल उमेरमै जीवनमा बज्रपात भयो । पिङबाट लडेर कम्मरमुनिको पूरै भाग नचल्ने बन्यो । स्पाइनल इन्जुरी अर्थात् मेरुदण्डको पक्षघातबाट पीडित बनिन् ।

पेट भर्न दाल, चामल र पानी उनका लागि जति महत्वपूर्ण छ, त्योभन्दा अपरिहार्य डाइपरको पर्छ । तर, लकडाउनमा उनलाई डाइपर अभाव छ ।

जीवन भोगाइ र संघर्षको यात्रा हो, उमेर बढ्दै जाँदा पाठ सिक्दै गइन् । आत्मबल उच्च पार्दै लगिन् । लक्ष्य बोकिन्– यो जीवन आफूजस्तै अपांगता भएकाहरूका लागि समर्पित गर्छु । गायत्री अपांगता भएकाहरूको हकअधिकारका लागि पैरवीमा होमिइन्, आज त्यही मैदानमा छिन् । तर, जति बोले पनि सरकारले नसुनेपछि कहिलेकाहीँ निराश हुन्छिन् उनी । अहिले लकडाउनमा आफूजस्ता अपांगता भएकाहरूको कष्ट नबुझेकोमा सरकारप्रति गुनासो छ उनको ।

४५ वर्षीया गायत्रीका लागि शौच जानु सबैभन्दा कठिन दैनिकी हो । पेट भर्न दाल, चामल र पानी उनका लागि जति महत्वपूर्ण छ, त्योभन्दा अपरिहार्य डाइपरको पर्छ । तर, लकडाउनमा उनलाई डाइपर अभाव छ । त्यसैले उनी आजभोलि खाना र पानी सकभर कम खाइरहेकी छिन्, ता कि डाइपर धेरै आवश्यक नपरोस् ।

‘२४ घन्टामा कम्तीमा तीनपटक डाइपर फेर्नैपर्छ । तर, अहिले पसल नखुलेकाले पाइँदैन,’ उनले पीडा सुनाइन्, ‘टन्न खाए शौच धेरै लाग्ने भएकाले बरु भोक खप्ने गरेकी छु । खाना र पानी सकेसम्म कम खाइरहेकी छु ।’

जोरपाटीस्थित एक होस्टेलमा बस्ने उनी लकडाउनमा एक्लै बस्न समस्या भएपछि सुन्दरीजलस्थित भाइबुहारीको घरमा गएकी छिन् । सुन्दरीजलबाट त झन् बजार टाढा छ । डाइपर किन्न झन् समस्या छ । उनका अनुसार स्पाइनल इन्जुरी भएका पुरुषलाई भन्दा महिलालाई युरिन इन्फेक्सनको सम्भावना बढी हुन्छ । बेलैमा डाइपर नफेरे युरिनरी ब्लाडरमा घाउ हुन्छ ।

‘दुई साताअघि मलाई यस्तै समस्या भयो । अस्पताल जान पनि समस्या भयो, प्रहरीलाई अनुरोध गरेर साथीको गाडी बोलाएर अस्पताल पुगेँ,’ गायत्रीले भनिन् । महिनामा अचानक कुनै रोग नलागे सामान्य औषधि तथा आवश्यक सामग्री किन्न पनि कम्तीमा १० हजार खर्च लाग्ने उनले बताइन् ।

स्पाइनल इन्जुरीका बिरामीलाई खाद्यान्नसँगै डाइपरलगायत पनि राहत दिनुपर्ने गायत्री बताउँछिन् । गोकर्णेश्वर नगरपालिकाले अहिले छुट्टै राहत प्याकेज नबाँडे पनि पहिल्यै होस्टेलमा बस्नेहरूलाई डाइपर बाँडेकाले लकडाउनमा केही राहत मिलेको बताउँछिन् । उपत्यकाबाहिर बस्नेहरू खास समस्यामा परेको हुन सक्ने उनले बताइन् । ‘ह्विलचेयर प्रयोगकर्ताहरू वडा कार्यालयसम्म गएर राहतको फारम भर्न सक्दैनन् । त्यसैले हामीजस्ता व्यक्तिलाई घर–कोठामै पुगेर फारम भर्ने र राहत बाँड्ने गर्नुपर्छ,’ गायत्रीले भनिन्, ‘राहतमा खाद्यान्न मात्रै होइन, प्याड, औषधि, डाइपर पनि राख्नुपर्छ ।’

साँखुका कृष्णगोपाल वादीकार दृष्टिविहीन हुन् । भूकम्पले घर भत्काएपछि जस्तापाताको छाप्रोमा बसेको उनको परिवार अहिले पनि छाप्रोमै छ । ब्रेललिपि सिकाउने एक संस्थामा कार्यालय सहयोगीको रूपमा काम गर्ने उनी त्यहीँको कमाइले तीनजनाको परिवार पाल्दै आएका छन् । तर, लकडाउनले उनलाई समस्या पारेको छ । खास समस्या त श्रीमती गर्भवती छिन् । ‘खान त वडाबाट केही राहत पाइएको छ, तर श्रीमतीलाई योबीचमा कुनै समस्या परे के गर्ने रु’ उनले भने, ‘लकडाउन थपिएको छ, अझै कति लम्बिने हो, आफूसँग पैसा छैन ।’

झापाको कन्काई नगरपालिका– ३ की ४३ वर्षीया सिर्जना बराल र उनका श्रीमान् दृष्टिविहीन छन् । उनीहरू आफूजस्तै दृष्टिविहीनहरूले बनाएका कुचो र फिनायलजस्ता सामग्री बेच्दै गुजारा चलाउँथे । तर, लकडाउनपछि उनीहरूको काम पनि ठप्प भएको छ । उनीहरूलाई वडाले दिएको राहत सकिएपछि के खाने भन्ने चिन्ताले सताएको छ । ‘वडाले १५ दिनका लागि त राहत दिएको छ । लकडाउन अझै थपिएपछि फेरि के हुने हो,’ सिर्जनालाई चिन्ता छ, ‘पहिले पनि वडामा चिनेको मान्छेहरूलाई फोन गरेर राहत लिएको हो । अहिले त्यही फोन गर्न पनि मोबाइलमा पैसा छैन, रिचार्ज कार्ड पाइँदैन ।’

प्रायः एक्लै बस्दै आएका अपांगता भएका व्यक्तिहरूलाई सम्पर्क गर्न गाह्रो भएको अपांग महिला संघकी अध्यक्ष टीका दाहाल बताउँछिन् । ‘सबैतिरबाट राहतका लागि समस्या भएको गुनासा आइरहेका छन्,’ अध्यक्ष दाहालले भनिन्, ‘अपांगता भएका व्यक्तिलाई यो लकडाउनको वेला कोठासम्मै राहत पुर्‍याउनुपर्छ । उनीहरू आफैँ लिन जान सक्ने अवस्थामा नहुन सक्छन् ।’

दृष्टिविहीनहरूलाई बाटोमा हिँड्दा पनि रेलिङ वा अरू कसैको सहारा चाहिने भएकाले राहत लिन जाँदा संक्रमणको जोखिम हुने उनको भनाइ छ । त्यस्तै कतिपय स्थानीय तहले बाहिरको बासिन्दा भन्दै राहत नदिने गरेको गुनासो आएको पनि उनले बताइन् । ‘आफ्नो क्षेत्रको बासिन्दा नभएको भन्दै राहत नदिने, नागरिकताजस्ता कागजात खोज्ने गरिरहेका छन् । सबैले सधैँ यस्ता कागजात बोकेर हिँड्छन् भन्ने हुँदैन,’ अध्यक्ष दाहाल भन्छिन्, ‘यो अवस्था हेरेर राहत दिनुपर्छ ।’ नयाँ पत्रिका दैनिकबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार