लकडाउनको मौकामा धमाधम ठडिदै चर्पी र जुठ्यान

तारा बाबु खाती, बाजुरा : बाजुराको बडिमालिका नगरपालिका ५ कुडाटोलका खडक साँउदको घरमा अहिले आफ्नै चर्पी ठडिएको छ । विगत लामो समयदेखि छिमेकीको चर्पी प्रयोग गर्दै आउनुभएका साँउदलाई लकडाउनले गर्दा आफ्नै चर्पी बनाउने समय मिलेको हो । ३ पुरुष र २ महिला गरी ५ जनाको परिवार रहेको साँउद घरले चर्पी सँगै जुठ्यान र साबुन पानी सहित हात धुने ठाउँको समेत व्यवस्था गर्नुभएको छ ।


बडिमालिका नगरपालिका ४, भगवती टोलका रनि लुहारले पनि पुरानो शौचालय भत्काएर नयाँ शौचालय बनाउनुभएको छ । २०७० सालमा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने बेला बनाएको कच्ची शौचालय भत्किन लागेपछि लुहारले नयाँ चर्पी बनाउनुभएको हो । उहाँले वैशाखको पहिलो हप्ता चर्पी निर्माण सम्पन्न गरी प्रयोग गर्न समेत थाल्नुभएको छ । लुहार भन्नुहुन्छ ‘पहिले कच्ची र असुरक्षित चर्पी बनाएका थियौं, अहिले कोरोनाबाट बच्न सरसफाइ गर्नुपर्छ, नियमित साबुन पानीले हात धुनुपर्छ भन्ने भनेपछि लकडाउनको समयलाई सदुपयोग गरेर नयाँ चर्पी र जुठ्यान बनायौं ।’

३ महिला र ६ पुरुष गरी ९ जनाको लुहार परिवारमा नयाँ चर्पी बनेपछि अहिले खुसियाली छाएको छ ।


सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि घरबाहिर आर्थिक उपार्जनको काममा जान नपाएका बाजुराको बढिमालिका र बूढीगंगा नगरपालिकाका विभिन्न टोलमा पुरानो चर्पी भत्काएर नयाँ बनाउने र हात धुने स्थान, भाँडा माझ्ने जुठ्यान र गोबर मलको व्यवस्थापन गर्ने काममा ध्यान जान थालेका हुन् ।
कोरोना र सरसफाइका बिषयमा बुझेपछि नयाँ चर्पी बनाएका बढिमालिका नगरपालिका ५, मना बाँउकुडाका हैते साँउद भन्नुहुन्छ ‘६/७ बर्ष अघि कच्ची चर्पी बनाएँ, त्यत्तिबेला खासै चर्पीको महत्व पनि बुझेको थिएन । त्यसपछि चर्पी सुधार गरौंला भनेको समय नै नपाईने । यसपाली भने समय पनि मिल्यो, घरभित्र बस्नुभन्दा आफ्नै काम गरियो, साथी भाइ मिलेर बनाउँदा यत्तिको चर्पी त बनाईएछ ।’

प्रायजसो खेतीपातीमै व्यस्त रहने हैते साँउदलाई कहिल्यै फुर्सद मिल्दैनथ्यो । जहिल्यै व्यस्त रहने साँउदले यसपटक भने भाँडा माझ्ने र सुकाउन मिल्ने गरी जुठ्यान पनि बनाउनुभएको छ । ४८ बर्षीय साँउद चर्पी, हात धुने स्थान र भाँडा माझ्ने ठाउँ एकै पटक बनाउन पाउँदा खुसी बन्नुभएको छ । साँउद भन्नुहुन्छ ‘यो कोरोना भन्ने नआएको भए यसपाली पनि नयाँ चर्पी बनाउने समय जुर्दैन थियो होला ? जे होस् कोरोनाले राम्रै गरेको छ, हाम्रो टोलमा ।’ उहाँका अनुसार लकडाउनको समयमा गाउँका धेरैले चर्पी, जुठ्यान र हात धुने ठाउँको व्यवस्था मिलाएका छन् ।

खुला दिसामुक्त घोषणा गर्ने बेला सबैको घरमा चर्पी बनेपनि त्यसको मर्मत सम्भार नगर्दा कतिपय चर्पी भत्किन थालेका र त्यसले खुला दिसामुक्त अवस्थाको दिगोपनालाई असर पुर्याउने अवस्था थियो । तर लकडाउनको समयलाई सदुपयोग गर्दै चर्पीको मर्मत सम्भार तथा सुधार गरेपछि खुला दिसामुक्त अवस्थालाई दिगोपना दिलाउन मद्दत मिल्ने सम्बन्धित वडाका अध्यक्षहरु बताउँछन् ।

GSF/UN Habitat को सहयोगमा बाजुराको बढिमालिका र बूढीगंगा नगरपालिकामा पूर्ण सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । सामान्य अवस्थामा जस्तो भेला हुने, सरसफाइ सम्बन्धी तालिम, गोष्ठी सञ्चालन गर्ने र सरसफाइ कार्यक्रम आयोजना गर्ने लगायत काम नभएपनि ती दुवै नगरपालिकाका विभिन्न टोलमा सरसफाइ सम्बन्धी कार्यक्रमहरु स्वतस्फूर्त रुपमा सञ्चालन भईरहेका छन् ।

यही अवधिमा घरै पिच्छे स्थायी तथा अस्थायी हात धुने स्थान बनेका छन् भने कर्मचारीहरुले स्वयम्सेवक तथा सरसफाइ योद्धाको सहायता लिई घरैबाट फोनको माध्यमबाट सरसफाइ सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् ।

 

 

 

 

 

स्टोरी लेखक ग्लोबल स्यानिटेशन फण्ड यूएन ह्याबिट्याटका बाजुरा जिल्ला संयोजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार