काठमाडौ : धादिङ र नुवाकोटको सिमाना बञ्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट निर्माण भइरहेको छ । सहरी विकास मन्त्रालय र काठमाडौं महानगरले निर्माण गरिरहेको ल्यान्ड फिल्डसाइटको निर्माणको गति सुस्त छ । लकडाउनका समयमा काम गर्न निर्माण सामाग्रीको उपलब्धता र ढुवानी जस्ता समस्याले अप्ठ्यारो छ ।
शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारी चालु आर्थिक बर्षको अन्तिमसम्ममा बञ्चरे डाँडामा फोहोर व्यवस्थापन कार्य थालनी गर्ने गरी पूर्वाधार निर्माणको काम भइरहेको बताउँछन् । ठेकेदारलाई यसै अनुसार काम गर्न भनेको उनले बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन थाल्ने र सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजर गर्ने कामलाई बिशेष प्राथमिकता दिएको बताए ।
‘फोहोर व्यवस्थापनसँग सम्बन्धित कामबाट कसैले पनि प्रभावित हुन नपरोस् । यसका आर्थिक, सामाजिक तथा वातावरणीय पक्षलाई सन्तुलित रुपमा व्यवस्थापन गर्ने प्रयासमा छौं,’ अर्यालले भने । हरेक वर्षामा सिडोलको ल्यान्डफिल साइट भरिएर सवारी जानै कठीन हुने अवस्था छ । जसले गर्दा वर्षाभरि फोहोर उठान बन्द गरिन्छ ।
बञ्चरेडाँडामा स्यानिटरी ल्यान्डफिल साइट निर्माण गर्न ०७६ बैशाख २२ गते लुम्बिनी -कोशी एण्ड न्यौपाने जेभि (उपक्रम) सँग ठेक्का सम्झौता गरिएको थियो । एक बर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का भएपनि ढिलाइ भएको छ ।
भ्याटबाहेक ३४ करोड ६८ लाख ७४ हजार ८९५ रुपैयाँमा गरिएको सम्झौता भएको थियो । सम्झौता भएपछि कोशी एण्ड न्यौपानेको स्वामित्व परिवर्तन भयो । यहीकारण क्लालिटी एस्युरेन्स प्लान (क्युएपि) र मोबिलाइजेसन वापत ठेक्केदारलाई दिएको पेश्की रकम ६ करोड ८० लाख रुपैयाँको विवरण बुझाउन सकेन । समस्या यहीँबाट शुरु भएको थियो ।
गत पुस २२ गते ठेक्केदारले परिवर्तित कार्यतालिका (रिभाइज्ड बर्क सेड्यूल) पेश गरहेको थियो । तर, पेश गरेको तालिका अनुसार काम हुन सकेको छैन । यसरी निर्माण पक्षबाट समयमा काम नभएपछि ल्याण्डफिल साइट निर्माण कहिले सम्पन्न हुने भन्नेमा चिन्ता छ । फोहोर व्यवस्थापन गर्न सिसडोल क्षेत्रमा सार्वजनिक र अधिग्रहण गरिएकोसहित ४७२ रोपनी र बञ्चरे डाँडामा १ हजार ७९२ रोपनी जग्गा छ ।
२०६२ साल जेठ २२ गतेबाट काठमाडौं उपत्यकामा उत्पादन भएको फोहोर नुवाकोटको ककनी गाउँपालिकाको ओखरपौवा क्षेत्रमा व्यवस्थापन गर्न थालिएको थियो । ओखरपौवाको क्षमता सकिएपछि आलेटारमा फोहोर व्यवस्थापन गरियो । आलेटारको पनि क्षमता सकिएपछि सिसडोल ल्याण्डफिल साइटकै क्षमता बढाएर फोहोर व्यवस्थापन गरिँदै आएको छ ।
काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुन्छ । काठमाडौं महानगरको वातावरण व्यवस्थापन बिभागले ओखरपौवा स्यानिटरी ल्याण्डफिल्ड साइटमा पुर्याइएको फोहोरको परिणामका आधारमा निकालेको तथ्यांक हो ।
यसबाहेक संकलन हुन नसकेको फोहोर र श्रोतमा घटाएको थप फोहोर पनि छ । यसको तथ्यांक यकिन छैन । १ हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर संकलन गरेर ल्याण्डफिल्ड साइटमा पुर्याउने गरिएको छ ।
उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्याण्डफिल साइटमा पुर्याउने गरिएको छ ।
उपत्यकाका गोकर्णेश्वर नगरबाट दैनिक ६० मेट्रिक टन फोहोर उत्पादन हुन्छ । नागार्जुन, टोखा, तारकेश्वर र बुढानिलकण्ठ गरी ४ वटा नगर क्षेत्र हरेकबाट ३५/३५ मेट्रिक टन फोहोर उत्पादन हुने गरेको महानगरको तथ्यांकले देखाउँछ ।
काठमाडौंको चन्द्रागिरी, ललितपुरको महालक्ष्मी र भक्तपुरको मध्यपुर थिमी नगर क्षेत्र हरेकबाट ३०/३० मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । ललितपुरको गोदावरी र भक्तपुरको सूर्यविनायक नगर क्षेत्रबाट क्रमशः २५/२५ मेट्रिक टन, काठमाडौंको कागेश्वरी मनोहरा नगर क्षेत्रबाट २० मेट्रिक टन, काठमाडौंकै दक्षिणकाली र भक्तपुरको चाँगुनारायण नगर क्षेत्रबाट १५/१५ मेट्रिक टन फोहोर संकलन हुने गरेको छ ।
काठमाडौंको शंखरापुर नगर क्षेत्रबाट ८ मेट्रिक टन र सबैभन्दा कम कीर्तिपुर नगरबाट दैनिक ६ मेट्रिक टन मात्र फोहोर उत्पादन हुने गरेको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकाका नगरबाहेक नुवाकोट जिल्लाको ककनी गाउँपालिका र धादिङ जिल्लाको धुनिबेँसी नगर क्षेत्रको फोहोर पनि ल्यान्डफिल साइटमा आउने गरेको छ । अहिलेसम्म फोहोर सिसडोल ल्यान्डफिल साइटमा व्यवस्थापन भइरहेको छ । साइटको क्षमता सकिएर ‘पोष्ट क्लोजर’ गर्नुपर्ने अवस्थामा पुगेको छ । अनलाइन खबरबाट साभार गरिएको ।