विनोद धौलागिरि/गौरीगञ्ज, झापा : सबैको घर अगाडि एउटा काठको मचान, त्यसमाथि एउटा टिनमा पानी । त्यसबाट तल झर्ने पानी जम्मा गर्नका लागि अर्को एउटा भाँडो । टिनको मुख पनि खुल्लै, पानी थाप्ने भाँडोको मुख पनि खुल्लै । त्यही खुल्ला भाँडोमा रहेको पानीले तिर्खा मेट्नु झापाको गौरीगञ्ज गाउँपालिका, वडा नं. २ का बासिन्दाको तीतो सत्य हो ।
झापा जिल्लाले राष्ट्रको नेतृत्व गर्ने प्रधानमन्त्री पाएको छ, विकासका योजना बनाउने अर्थमन्त्री पाएको छ । राज्यका विभिन्न निकायमात्र होइन, सरकारलाई नै कानुनी सल्लाह दिने र मानवअधिकारप्रति प्रतिवद्ध कानुनी राज्य स्थापनामा सहयोग गर्ने हस्ती महान्यायाधिवक्ता समेत गौरीगञ्जकै छिमेकी पालिकाले पाएको छ । पाएको छैन त केवल, तीन चौथाइ हिस्साले सुरक्षित प्रणालीको पिउने पानी ।
नेपालकै होचो भूभाग कचनकवलमा चिनारी झल्काउने स्तम्भ बनिरहँदा त्यहाँका बासिन्दाको आगनमा धारा बन्न सकेको छैन । सिंहदरबार प्रविधिमैत्री बनाउने प्रयास भैरहँदा झापाका गाउँगाउँमा रहेका कार्यालय, निकाय र विद्यालयहरुमा पानी छान्ने गतिलो फिल्टरको व्यवस्था हुन सकेको छैन ।

सफा घरलाई फिल्टर उपहार
जिल्ला सदरमुकामदेखि सबैभन्दा टाढा रहेको गौरीगञ्ज गाउँपालिकामा अहिले पूर्ण सरसफाइको रौनक छ । घरधुरीहरुले बिग्रिए भत्किएका चर्पी मर्मत सम्भार गरिरहेका छन् । घरायसी चर्पीको स्तरोन्नति गरिरहेका छन् भने माथिल्लो संरचना समेत पक्की प्रयोगकर्तामैत्री बनाइरहेका छन् ।
पूर्ण सरसफाइ अभियानअन्तर्गत गाउँपालिकाको वडा नं. १ देखि ४ सम्म आफू सरसफाइमा अब्बल देखिनका लागि टोलहरुबीच होडवाजी चलेको छ । कुनै टोलले स्थानीय सामग्री प्रयोग गरेर फोहर जम्मा गर्ने टोकरी बनाएका छन् भने कुनैले सफा र स्वच्छ घरका सूचक पूरा गर्नका लागि लकडाउनको समेत पर्वाह नगरी खटेका छन् ।
गौरीगञ्ज गाउँपालिका, वडा नं. २ का प्रकाशपुर, कोरोबारी टोल, भाकुरमारी, तुलाचन बस्ती लगायतका टोलहरुमा कोभन्दा को कम छन् ।
यसैबीच सफा सफा घरलाई हौसला दिनका लागि वडा कार्यालयले सरसफाइका निश्चित सूचक पूरा गरेका घरहरुलाई बायो स्याण्ड फिल्टर उपहार दियो, त्यो पनि लकडाउनको बीचमा ।
आफ्नो घर सफा राखेको, एक खाल्डे चर्पीलाई दुई खाल्डे बनाएको, हात धुने निश्चित स्थान बनाएको र घरायसी ठोस फोहर वर्गीकरण र व्यवस्थापन गरेका ६५ घरधुरीलाई वडा कार्यालयले फिल्टर घरमै पुर्याइदिंदा उनीहरुको खुशीको सीमा रहेन । “पहिले पहिले चर्पी नबनाउनेलाई कारवाही गर्ने गरेको सुनेको र देखेको थिएँ”, भाकुरमारीका लालचन ताजपुरियाले अचम्मित हुँदै सुनाउनुभयो, “आफ्नो घर सफा राखेर पुरस्कार पाएको अहिलेसम्म थाहा थिएन, आज आफैले फिल्टर पुरस्कार पाइयो ।”
सोही ठाउँका तिरपितलाल राजवंशीले आफ्नो घरको एक खाल्डे चर्पीलाई दुई खाल्डे बनाई सुरक्षित बनाएवापत फिल्टर उपहार पाउनुभयो । भाकुरमारीकै माया राजवंशीलाई लकडाउनको समयमा माथिल्लो संरचना मर्मत गरेको चर्पीले नै पानी छान्ने फिल्टर उपहार दिलायो । “कलको पानी नछानीकन कपडा धुन समेत नमिल्ने धमिलो र रातो रंगको आउँछ”, मायाले भन्नुभयो, “एउटा टिनमा बालुवा राखेर पानी छान्दै काम चलाएकी थिएँ, अहिले फिल्टर पाएँ ।”
लकडाउनकै समयमा मोरङको रतुवामाई नगरपालिकाबाट बायोस्याण्ड फिल्टर खरिद गरी ‘सफा घर’लाई पुरस्कारस्वरुप प्रदान गरिएको गौरीगञ्ज गाउँपालिका, वडा नं. २ का वडाअध्यक्ष अघनुप्रसाद राजवंशीले बताउनुभयो । “वडामा रहेको पूर्ण सरसफाइको बजेटबाट यो फिल्टर पुरस्कारस्वरुप दिइएको हो”, वडाअध्यक्ष राजवंशीले भन्नुभयो, “अन्य घरधुरीले यस्तै फिल्टर आफैले किन्न चाहेमा वडाले सहजीकरण गर्छ ।”
अनुगमन प्रणालीले सघायो घर छनौट गर्न

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्र झापाले गौरीगञ्ज गाउँपालिकामा समेत पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहेको छ । पूर्ण सरसफाइ अभियानअन्तर्गत सफा र स्वच्छ घर बन्नका लागि पूरा गर्नुपर्ने सूचकहरुको बारेमा घरधुरीलाई अभिमुखीकरण गर्नेमात्र होइन, अनुगमन तालिका नै घरका भित्तामा झुण्ड्याइएको छ । यो तालिका हेर्दा घरधुरीले नै कुन सूचकमा कति अंक प्राप्त भयो भन्ने कुरा प्रष्टै देख्न सक्छन् ।
यिनै सूचकका आधारमा सात सदस्यीय अनुगमन टोलीले घरदैलो गरी अनुगमन गरेपश्चात् घरधुरीको छनौट गरिएको विराट सामुदायिक अध्ययन केन्द्रबाट पूर्ण सरसफाइ अभियानका गौरीगञ्ज गाउँपालिका संयोजक ज्ञानु राजवंशीले बताउनुभयो । “अनुगमन समितिले घरधुरीको पहिचान गरिसकेपछि त्यसलाई वडाको बैठकबाट अनुमोदन गरेरमात्र फिल्टर किन्ने निर्णय गरिएको हो”, वडाअध्यक्ष अघनु प्रसाद राजवंशीले भन्नुभयो, “सरसफाइ जीवनका लागि आधार र संस्कारको सूचक त हो नै, सफा रहे पुरस्कार समेत पाइन्छ र इज्जत बढ्छ भन्ने कुराको सन्देश दिनका लागि समेत अहिले सफा घरलाई पुरस्कृत गरिएको हो ।”
फिल्टर पाउँदा पनि युद्ध जितेजस्तो

गाउँपालिकाका सबै घरधुरीमा प्रणालीको सुरक्षित पिउने पानीको पहुँच पु¥याउने योजना सुन्न थालेको धेरै भैसकेको छ । खानेपानी आयोजनाहरुमा नापजाँच र वर्षेनी केही न केही काम भैरहेको हुन्छ । तर भाकुरमारीका बासिन्दाको नियती भने टिनको भाँडोबाट छानिएको पानी पिउनु नै थियो ।
प्रणालीको पिउने पानीमा कहिले पहुँच पुग्छ त यहाँका बासिन्दालाई जानकारी छैन । तर, पिउने पानी छान्ने फिल्टर पाउँदा समेत युद्ध जीतेजस्तै लागेको छ । “हामीले घरमै बनाएको फिल्टर छोपेर राख्न मिल्ने पूरा सुरक्षित पनि थिएन”, गोपी ताजपुरियाले भन्नुभयो, “कैयौं पटक हावाहुरी चल्दा छानेको पानी राख्ने भाँडोमा परेपछि कलको रातो पानी नछानीकनै पनि पिउनुपरेको थियो, अब भने सुख पाइएला ।”
यसैगरी हौसिनुभयो, किसनलाल ताजपुरिया । “टिनको भाँडोबाट पानी छान्दा पोखिने र हिलो हुने भएकोले बाहिर आँगनमा राखिएको थियो”, उहाँले भन्नुभयो, “आँगनमा राखिएको पिउने पानी सुरक्षित थिएन । यो फिल्टर त पिंढी र भान्छामा पनि राख्न मिल्छ, झन्झट पनि छैन ।”
लकडाउनको बेला टेलिफोनले ततायो
कोरोनाको संक्रमण देशभित्र समेत देखिने थालेपछि नेपालभर लागू हुनेगरी बन्दाबन्दी (लकडाउन) घोषणा गरियो । लकडाउनको समयमा पूर्ण सरसफाइ सहजकर्ताहरुले पूर्ण सरसफाइ अभियान जारी रहेका घरधुरीमा साताको दुई पटक टेलिफोन गरी कोरोनाबाट बच्ने उपाय, परिवारका कुनै सदस्यमा कोरोनासँग मिल्दोजुल्दो संकट भए नभएको, व्यक्तिगत एवम् घरायसी सरसफाइ, चर्पी समुचित प्रयोग, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने अभ्यासका साथै पानीको शुद्धीकरणमा विशेष जोड दिइएको पूर्ण सरसफाइ पालिका संयोजक ज्ञानु राजवंशीले बताउनुभयो । “यसअघि अभियानको क्रममा घरदैलो गरी पानी शुद्धीकरणका बारेमा बताउँदा उहाँहरुले त्यति महत्व दिनुहुँदैनथ्यो”, उहाँले भन्नुभयो, “वर्षौंदेखि चलेकै छ भन्नेहरुले पनि टेलिफोनबाट जानकारी दिन थालेपछि यसको महत्व अझै बढी बुझ्न पाउनुभयो ।”
सहजकर्ता र स्वयंसेवकहरुले घरधुरीमा टेलिफोन गरी पानी पिउनुभन्दा अघि अनिवार्य रुपमा शुद्धीकरण गर्नुपर्ने बताएपछि घरमा थन्क्याएर राखेका फिल्टर समेत निकालेर सफा गरी पानी छान्न थालेका बताउनुहुन्छ पूर्ण सरसफाइ सहजकर्ता दीलिप ताजपुरिया । “धाराको पानी खाएर पनि बाँचिएकै छ भन्नेहरुले पनि अहिले कलको पानी उमालेर वा फिल्टर गरेर पिउन थाल्नुभएको छ”, सहजकर्ता ताजपुरियाले भन्नुभयो, “हामीले आफूले सहजीकरण गर्ने वडाका घरधुरीहरुमा वडासँगको समन्वयमा पटक पटक अनुगमन समेत गरेका छौं । यस क्रममा थन्क्याएर राखेका फिल्टर समेत निकालेर प्रयोग गरेको देखियो ।”
कोरोनाबाट बच्नका लागि साबुन पानीले पटक पटक हात धोइरहनुपर्छ भन्ने सन्देश प्रत्येक घरधुरीमा पुग्यो । यस सन्देशसँगै कोरोना र यस्तै अन्य सरुवा रोगबाट बच्नका लागि पानी शुद्धीकरण गरेरमात्र पिउनुपर्छ भन्ने सन्देशले पानी शुद्धीकरणका लागि उत्प्रेरित गरेको अर्का सहजकर्ता मनिष कार्कीले बताउनुभयो ।
गत भदौ महिनादेखि गौरीगञ्ज गाउँपालिकामा पूर्ण सरसफाइ अभियान थालनी भएयता गाउँपालिकाका २ हजार ३ सय ४२ घरधुरीले पानी शुद्धीकरण गरेर पिउन थालेको तथ्यांकले देखाउँछ । “यी घरधुरीले पछिल्लो ९ महिनाको अवधिमा पिउने पानी शुद्धीकरण गर्न थाल्नुभएको छ”, पूर्ण सरसफाइ अभियान झापाका संयोजक सोमनाथ आचार्यको भनाइ छ, “यसमध्ये पनि आधाजसो त कोरोनाको त्रासपछि पानीको शुद्धीकरण गर्न थाल्नुभएको हो ।”
यू.एन. ह्याबिट्याटको सहयोगमा लकडाउनको समयमा गरिएको दूरसन्देश अभियानअन्तर्गत पहिलो चरणमा समेटिएका झापाको गौरीगञ्ज, कमल र विर्तामोडका ३ हजार घरधुरीमध्ये स्वास्थ्य, सरसफाइ र स्वच्छताको अवस्थामा सुधार गर्नुपर्ने घरधुरीमा दोहोर्याएर समेत टेलिफोन गरिएको थियो । यसमध्ये ७४ प्रतिशत घरधुरीले कोरोनाको सन्त्रासपछि पानी शुद्धीकरण गरेरमात्र पिउन थालिएका बताएका छन् । “२० प्रतिशत घरधुरीले शुद्धीकरणको दर नबढाएको बताएका छन् भने ६ प्रतिशतले अझै पनि पिउने पानी शुद्धीकरणको आवश्यकता महसुस गर्न सकेका छैनन्”, संयोजक आचार्यको भनाइ छ, “यी घरधुरी सरसफाइजन्य अन्य व्यवहारका हिसावले पनि जोखिममा छन् । यहाँ सरसफाइ, स्वास्थ्य र खानेपानीको विषयलाई सँगसँगै लिएर जानुपर्ने देखिन्छ ।”
तीन चौथाइ घरधुरी प्रणालीको पानीको पहुँच बाहिर
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रकाशन गरेको जिल्ला पूर्ण सरसफाइ मार्गदर्शन २०७६ अनुसार जिल्लामा रहेका १८२२१५ घरधुरीमध्ये ४९ हजार घरधुरीमा प्रणालीको पिउने पानीको पहुँच रहेको छ । जिल्लाका १ लाख २८ हजार घरधुरीले कलको पानी प्रयोग गरिरहेका छन् भने ७ हजार घरधुरीको पिउने पानीमा पहुँच छैन । उनीहरु सार्वजनिक धारा तथा सार्वजनिक कलको पानी प्रयोग गररहेका छन् ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ झापाका सचिव एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका सदस्य बाबुराम कार्कीका अनुसार झापा जिल्लाका कचनकवल, कनकाई, गौरीगञ्ज लगायतका क्षेत्रमा कलको पानीमा फलाम र अन्य लवणहरु आवश्यकताभन्दा बढी मिसिएको पाइएको छ ।
ती क्षेत्रका घरधुरीले घरेलु विधिको प्रयोग गरी पानी छानेर पिइरहेका छन् । “केही स्थानीय तहमा त बालुवाले पानी नछानीकन कपडा धुँदा कपडा नै रंगीन हुने भएकोले शुद्ध बनाउनभन्दा पनि कपडामा रंग लाग्नबाट बच्नका लागि परम्परागत रुपमा पानी फिल्टर गर्ने गरेको भेटिन्छ”, कार्की भन्नुहन्छ, “माटोका घैंटा र बजारबाट किनिएका टिनका भाँडाबाट छानिएको पानी पिउनयोग्य र जीवाणु विषाणुरहित छ कि छैन भन्ने जाँच समेत कहिल्यै भएको छैन ।”
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार जिल्लामा रहेका खानेपानी आयोजनामध्ये १५ वटामात्र पूर्ण रुपमा सुचारु अवस्थामा रहेका छन् भने ९९ आयोजनाहरु मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेका छन् । ६६ आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।
क्रमागत आयोजनाहरु प्रत्येक वर्ष केही न केही काम हुँदैगर्दा पूरा हुनका लागि ८/१० वर्षसम्म लाग्ने गरेको छ । अर्कोतर्फ, आयोजनहरु बन्न नपाउँदै बिग्रने गरेका कारण पनि तथ्यांकमा उल्लेख गरिएजति घरधुरी प्रणालीको सुरक्षित पानीको पहुँचमा रहन नसकेको देखिन्छ । “झापा जिल्लामा सञ्चालित १ सय ८० खानेपानी आयोजनामध्ये १५ वटामात्र पूर्ण रुपमा सञ्चालनमा छन् भने ६६ निर्माणाधीन अवस्थामा रहेका छन्”, कार्कीको भनाइ छ, “९९ वटा, अर्थात् कूल आयोजनाको आधाभन्दा बढी त मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेका छन् ।”
९४ प्रतिशत घरधुरीमा पिउने पानीको सुविधा पुर्याउने यस वर्षको राष्ट्रिय लक्ष्यका बाछिटा पानी शुद्धीकरण गर्नुपर्छ भन्ने जानकारी नै नभएका गौरीगञ्जका विकट बस्तीसम्म आइपुग्छन् या आउँदैनन्, त्यो भने हेर्न बाँकी नै छ । घरायसी तहमा उमालेको पानीमात्र पिउने गर्ने हो भने पनि सुविधा नपुगेका यस्ता विकट बस्तीका बासिन्दामा पानीजन्य रोगको प्रकोप कम हुन सक्छ ।


1849 पटक हेरिएको 

