भूक्षयबाट बस्ती जोगाउन नाली निर्माण

प्रतिनिधी तस्बिर

प्यूठान : प्यूठानको नौवहिनी गाउँपालिकाले बस्ती संरक्षणका लागि नाली निर्माणको काम गरिरहेको छ । बाढी पहिरोबाट आउने जोखिम रोकथामका लागि नौवहिनी गाउँपालिका–५ गावैमा नाली निर्माण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीका अनुसार यो वर्ष २ सय ४० मिटर नाली निर्माणको काम सम्पन्न भएको छ । झन्डै ११ सय मिटर लामो नाली निर्माण गर्ने गाउँपालिकाको योजना छ । बाँकी काम आगामी वर्षको वजेटमा समेटेर निर्माण गरिने प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो । यो वर्ष जनश्रमदान सहित १० लाख रुपैयाँ बराबरको काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

वर्षातका कारण बस्ती तथा खेतीयोग्य जमिनमा पस्ने भल तर्काउने गरी पक्की नाली निर्माण गरिएको हो । झन्डै ४ सय घरधुरी रहेको यस क्षेत्र नाली निर्माणले वस्तीसँगै खेतीवाली संरक्षण हुने हुँदा खुसी भएका छन् । “आयोजना अझै पूरा भएको छैन, आगामी वर्ष बजेट विनियोजन भए बस्ती खस्ने जोखिम कम हुने थियो ।” नाली निर्माण समितिका अध्यक्ष मनबहादुर सुनारले भन्नुभयो । उहाँले नाली निर्माणको कामले बस्ती संरक्षण गर्न सहयोग पुग्ने बताउनुभयो ।

भिरालो जमिनका कारण वर्षादको समय यहाँको खेतीयोग्य जमिन र बस्ती समेत जोखिममा रहँदै आएको छ । वर्षादमा घरगोठ तथा खेतीयोग्य जमिन सहित खेतीवालीमा समेत क्षति हुँदै गएको अध्यक्ष सुनारको भनाइ छ । “एकातर्फ भिरालो जमिन । त्यसमा पनि यहाँको माटो कच्ची छ, ठूलो पानी पर्दा गाउँ नै बगाउने जोखिम बढ्छ ।” उहाँले भन्नुभयो । बस्तीसँगै खेतीवाली समेत जोगिदा स्थानीयलाई राहत पुग्ने उहाँको विश्वास छ । नाली निर्माणबाट बाढी पहिरोको जोखिम न्यूनीकरण हुने गाउँपालिकाका अध्यक्ष शिव रिजालले बताउनुभयो ।

यहाँका अधिंकाश स्थानीय कृषि र ज्याला मजदुर गरी जीविकोपार्जन गर्ने गर्छन् । वर्ष दिनको मेहनत भलपानी र पहिरोले बगाउँदा स्थानीय मारमा पर्दै आएको स्थानीय इन्द्र घर्तिले बताउनुभयो । “एक त पहिले जस्तो उब्जनी हुँदैन । त्यसमा पनि वर्षादको समयमा बाली कटान गर्ने समस्या छ,” उहाँले भन्नुभभयो। नाली निर्माणले हौँसीएका स्थानीयहरू जनश्रमदानमा समेत उल्लेख्य खटिएको उहाँले बताउनुभयो ।

१ लाख ६५ हजारको जनश्रमदान र बाँकी गाउँपालिकाको लगानीबाट नाली निर्माण गरिएको हो । पहाडी क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन स्थानीय तह सचेत रहनुपर्ने स्थानीय राम पहाडीले बताउनुभयो । नाली निर्माणको कामले पानीको उचित व्यवस्थापनसँगै वातावरण संरक्षणमा समेत सघाउने उहाँको भनाइ छ । बर्षातको समयमा पानी धेरै आउँदा बाढी पहिरोले ठलो धनजनको क्षति हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार