
कैलाली : कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेट मध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार तीन सय विनियोजन गरेको छ ।
नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि रु ५० लाख बजेट विनियोजन गरेको छ । सातौंँ नगरसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसियु सेवा सञ्चालनका लागि रु ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि रु दुई लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
एक वडा एक गौरवको सडक योजना अन्तर्गत सडक कालोपत्रेका लागि रु सात करोड २० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै बालविकास शिक्षिकालाई थप प्रोत्साहनका लागि रु १६ लाख ३२ हजार, सेनेटरी प्याड खरीदका लागि रु ५२ लाख सहित शिक्षा क्षेत्रमा रु २२ करोड ३९ लाख ५२ हजार सात विनियोजन गरिएको छ ।
पर्यटन प्रबर्द्वन गर्न रु २१ लाख ५० हजार रकम विनियोजन गरेको छ । नगरसभाले दुई विधेयक पनि पारित गरेको छ । उपप्रमुख विष्टले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक २०७७ र विनियोजन विधेयक २०७७ मा बहुमत देखिएपछि सभाध्यक्ष तपेन्द्रबहादुर रावलले पारित भएको घोषणा गर्नुभयो ।


881 पटक हेरिएको 

