काठमाडौं उपत्यकाको फोहोरलाई स्रोतमै बर्गीकरण गर्न नेफेजको माग

काठमाडौ : नेपाल वातावरण पत्रकार समूहले (नेफेज) ले काठमाडौ उपत्यकाको फोहोरलाई स्रोतमै वर्गीकरण गर्न माग गरेको छ । नेफेजले फोहोरको दिगो व्यवस्थापन र फोहोरलाई स्रोतको रुपमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा विज्ञहरुको सहभागितामा गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै फोहोर व्यवस्थापनको सुरुवात स्रोतबाटै गर्न माग गरेको हो । फोहोर व्यवस्थापन भनेको यसको संकलन गर्ने र कतै लगेर बिसर्जन गर्ने भन्ने मात्र बुझाई रहेको नेफेजको दाबी छ ।

नेफेजले अध्ययनको क्रममा फोहरमैला व्यवस्थापनमा काठमाडौ उपत्यका तथा अन्य स्थानीय निकायहरुले झेल्दै आएको समस्याहरु केलाउने प्रयास गरिएको जनाएको छ । फोहोर व्यवस्थापनका वास्तविक पाटाहरुलाई सार्वजनिक वहसमा ल्याउन समूहले यो पहल गरेको हो । प्रतिवेदनमा स्थलगत अध्ययनबाट आएका तथ्यहरुलाई केलाइएको छ भने समस्या र समाधानका उपायहरु समेत प्रस्तुत गरिएको छ ।

नेफेजद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘काठमाडौँ उपत्यका लगायत अन्य धेरै नगरपालिकाहरुमा अझै पनि फोहर व्यवस्थापन प्र्रणाली स्थापित भइसकेको छैन । फोहोर व्यवस्थापन भनेको यसको संकलन गर्ने र कतै लगेर बिसर्जन गर्ने भन्ने मात्र बुझिन्छ । यसले गर्दा फोहोरको दिगो व्यवस्थापन र सदुपयोग हुन सकेको छैन ।’ फोहोरले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर गर्ने भएकोले यो स्थानीय निकायको अधिकार भित्र पर्दछ ।

फोहोर व्यवस्थापनको क्षेत्रमा असल अभ्यास गर्दै आएका नगरपालिकाहरु : 

१. वालिङ्ग नगरपालिका, स्याङ्जा

– विगत पाँच वर्षदेखि वालिङ्ग नगरपालिकाले स्रोतमै फोहर वर्गीकरण गर्न नगरवासीलाई प्रोत्साहन गरिरहेको छ । कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै गाडीमा संकलन गर्दै आएको छ । नगरवासीललाई फोहोर बाटो, नदीनाला तथा सावर्जनिक ठाउँमा फोहोर फाल्ने बाध्यता छैन ।

– फोहोरमैला व्यवस्थापनमा सोचको परिवर्तन गर्ने क्रममा यसलाई यो नगरले सरसफाइ व्यवस्थापनको उपमा दिएको छ । फोहरमैला राखिएको ठाउँलाई यही सोच परिवर्तनको उद्देश्यले सरसफाइ केन्द्र नाम दिएको छ । स्रोतमै वर्गीकरणका लागि नगरपालिकाले समुदायमा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । नगरपालिकाले सामुदायिक विद्यालयको जग्गा भाडामा लिएर नगरको संकलति फोहर वर्गीकरण गर्ने, वर्गीकृत गरिएको पुनः प्रयोगजन्य वस्तु(कच्चा पदार्थ)को रुपमा बिक्री फोहरलाई आम्दानीको स्रोतको रुपमा उपयोग गरेको छ ।

– वालिङ्ग नगरपालिकाले काम नलाग्ने र बिक्री गर्न नमिल्ने प्लाष्टिकहरुको व्यवस्थापनको लागि, प्लाष्टिक टुक्रा पार्ने मेसिन खरीद गरिसकेको छ र छिट्टै नै प्लाष्टिकहरु टुक्रापारी त्यसलाई उपयोग गर्नेे योजना गरिरहेको छ । काम नलाग्ने प्लाष्टिक र शिशाका केही अंश बटुवा हिड्नको लागि बाटोमा बिछ्याउन मिल्ने सिमेन्ट मिसाएको ब्लक बनाई प्रयोग गर्ने योजना नगरपालिकाको छ । फोहर व्यवस्थापन गरेबापतको शुल्क र पुनः प्रयोग गर्न मिल्ने वस्तुहरु बिक्री गरी नगरपालिकाले बर्षेनी करिव ८० लाख रुपियाँ आम्दानी गर्दै आएको छ । जैविक फोहरबाट कम्पोष्ट मल उत्पादन गर्ने स्थलको स्थापना यो नगरमा भएको पाइयो ।

२. भिरकोट नगरपालिका

– वालिङ्ग नगरपालिको अनुभवलाई भिरकोट नगरपालिकाले पनि प्रयोग गर्न थालेको छ । यस नगरपालिकाले स्रोत व्यवस्थापन केन्द्रको स्थापना गरिसकेको छ भने पुनः प्रयोग गर्न मिल्ने वस्तुहरु बिक्रि गर्न थालेकोे छ ।

– सुख्खा फोहर जस्तैः कागज, प्लाष्टिक, फलाम, शिशा, रबर आदि वस्तुहरु घर–घरमा वर्गीकरण गरिराख्न नगरवासीलाई प्रोत्साहन गर्नुका साथै यी फोहर वस्तुहरुको मूल्य तोकेर नै उनीहरुबाट किन्ने नयाँ सुरुवात गरेको छ ।

– नगरपालिकाले शिशाजन्य वस्तुहरु स्रोतमै संकलन गर्न प्रोत्साहन गरेको र ती वस्तुहरु नगरपालिका आफैले खरीद गरि सिधै पुनः प्रशोधन केन्द्र वा पुनः प्रयोग गर्ने स्थल सम्म ढुवानीको व्यवस्था गरेको पाइयो ।

– नगरमा साना उद्योगहरु जस्तै पुरानो कपडा पेलेर कपास बनाउने र प्लाष्टिक पुनः प्रशोधन गरि पोलिथिन पाइप बनाउने कारखाना पनि सञ्चालित छ । नगरपालिकाले संकलन गरेको प्लाष्टिकहरु त्यहीँ बिक्री गरिन्छ ।

– नगरको आम्दानी हिसाव–किताब भने बराबर रहेको र नगरपालिकाले अग्रिम रुपमा भुक्तनी गर्ने भएकोले नगरवासीहरु पैसा पाउने भएर स्रोतमै फोहोर छुट्याउने गर्छन्, बाहिर यत्रतत्र फाल्दैनन् ।

३. पोखरा महानगरपालिका

– पर्यटकीय नगरी पोखरा महानगरपालिकाका फोहर बोक्ने सबै गाडीहरुले खुल्ला रुपमा देखिने गरी फोहर बोक्दैनन् तिनलाई फोहर राखेर बन्द गरी ढुवानी गरिन्छ । यसले गर्दा बाटोमा गुड्दा पनि गाडीमा फोहर देखिने र यत्रतत्र खस्ने समस्या छैन । सबै फोहर ओसारपसार गर्ने गाडीहरुलाई हरियो रङ्गले पोतिएको छ र महानगरपालिकाको नाम देखिने गरि लेखिएका छन् । फोहर बोक्ने भएपनि बाटामा गुड्दा गाडी सफा देखिन्छन् ।

– महानगरपालिकाले केही निजी संस्थाहरुलाई फोहर संकलनका लागि अल्पकालीन (धेरैलाई २ बर्षको) सम्झौता गरेको छ । नगरवासीबाट फोहर संकलनको शुल्क लिन उनीहरुलाई महानगरपालिकाको रसिद प्रयोग गर्न दिइएको छ । उठेको पैसा महानगरपालिकाको खातामा जम्मा गर्ने र सम्झौता अनुसार २० प्रतिशत महानगरपालिकाको आम्दानीमा बस्ने, बाँकी सम्बन्धित निजी संस्थालाई दिने व्यवस्था गरिएको छ ।

– निजी संस्थाले निश्चित वडा तथा स्थानहरुबाट नियमित रुपमा फोहर संकलन गरी ल्याण्डफील साइटसम्म ढुवानी गर्ने तर पुनः प्रयोग गर्न मिल्ने वस्तुहरु छुट्याई उनीहरुले राख्न नपाउने, ल्याण्डफील साईटमा अर्को निजी संस्थाले पुनः प्रयोग गर्न मिल्ने वस्तुहरु छान्ने र बिक्री गर्ने र त्यस संस्थाले नियमित रुपमा मासिक रुपमा महानगरपालिकालाई राजश्व बुझाउनु पर्ने व्यवस्था छ ।

– नगरको अस्पतालजन्य फोहर संकलनको लागि निजी क्षेत्रसँग सहकार्य गरी ल्याण्डफिल साइटको छेउमा प्रशोधन केन्द्र स्थापना गरि सञ्चालन गरिरहेको छ । निजी क्षेत्रले पनि मासिक रुपमा नगरलाई राजश्व बुझाउने गर्छ । अस्पतालको फोहर निर्मलीकरणको लागि दुईवटा अटोक्लेभ मेसिन र काट्ने स्रेदरको व्यवस्था गरिएको छ ।

– ल्याण्डफिल साइट व्यवस्थित तरिकाले निर्माण भएतापनि फोहर पानी प्रशोधन केन्द्र सञ्चालनमा छैन । यो ठाउँ अन्तर्राष्ट्रिय विमानस्थलको रुटमा पर्ने भएकोले विमानस्थल सञ्चालनमा आएपपछि यसलाई बन्द गर्नुपर्ने अवस्था छ ।

यसरी अनुसरण गर्न सक्छन् असल अभ्यास

– फोहर उत्पादनको स्रोतमै वर्गीकरण र वातावरणमैत्री प्रविधि प्रयोग गरि पुनः प्रशोधन र पुनः चक्रीय प्रयोग गर्ने जस्ता महत्वपूर्ण कार्यहरुको लागि स्थानीय निकायहरुले अविलम्ब सुरुवात गर्नुपर्ने देखिन्छ र फोहरलाई स्रोतको रुपमा हेरी त्यसको उचित व्यवस्थापनमा अविलम्ब कदम उठाउन समूह माग गर्दछ ।

– विद्यमान फोहरमैला व्यवस्थापन ऐन–२०६८ र फोहरमैला व्यवस्थापन नियमावली–२०७० ले प्रष्टरुपमा फोहरमैला व्यवस्थापनको जिम्मेवारी सम्बन्धित स्थानीय तहलाई नै तोकेको छ । फोहर सकेसम्म उत्पादन नै नगर्ने र उत्पादन भए कसरी कम गर्न सकिन्छ त्यस्ता विधिहरु अपनाउने, उत्पादन भएमा स्रोतमै फोहरको वर्गीकरण गर्ने, वर्गीकृत फोहरलाई छुट्टै संकलन गर्ने, संकलित फोहरलाई वातावरण मैत्री प्रविधि अपनाइ पुनः वर्गीकरण तथा प्रशोधन गर्ने आदि कुराहरुलाई यो ऐनले किटान नै गरेको ाई यो ऐनले किटान नै गरेको । स्थानीय निकायले यसरी व्यवस्थापन गर्दा आफै वा अरु कसैलाई स्थानीय क्षेत्रभित्र उत्पादन हुने नियमित फोहर उचित तरिकाले संकलन, ढुवानी र दिगो व्यवस्थापन प्रणाली अपनाई गर्नुपर्ने वा गराउनुपर्ने हुन्छ । काठमाडौं भित्रका सबै स्थानीय तहले यो ऐनको उलंघन गरिरहेका पाइयो ।

– काठमाडौँ महानगरपालिकामा फोहर संकलन हुने क्षेत्रको निश्चित तथ्याङ्क समेत छैन तर सहरमा उत्पादन हुने फोहरको ३० देखि ४० प्रतिशत महानगरपालिका आफैले नै संकलन गर्ने गरेको छ । बाँकी ६० देखि ७० प्रतिशत स्वस्फूर्त रुपमा निजी क्षेत्रद्धारा अनौपचारिक तरिकाले (कुनै औपचारिक सम्झौता बिना)े संकलन गर्दै आएका छन् । यसले गर्दा महानगरपालिकालाई केही राहत त पक्कै छ तर पनि आवश्यकता अनुसारको वातावरणमैत्री फोहर व्यवस्थापनको समस्या र चुनौति जहाँको तहीँ छ । उपत्यकाका प्रमुख अधिकार प्राप्त अधिकारीहरुको जिम्मेवारी सहरबाट निस्कने फोहरलाई स्रोतमा वर्गीकरण गरी संकलन गर्ने र जैविक फोहरबाट मल उत्पादनको व्यवस्था गरी बाँकी रहेको फोहर मात्रै स्यानेटरी ल्यान्डफिल साइटमा सुरक्षित बिर्सजन गर्ने हो ।

– झण्डै दुई दशक भन्दा लामो समयदेखि उपत्यकामा निजी क्षेत्रले फोहर संकलन गरे वापतको शुल्क यहाँका घरधनीले भुक्तान गर्दै आइरहेका छन् । निजी क्षेत्रले व्यवसायिक रुपमा काठमाडौंको फोहर संकलनको काम गर्ने तर महानगरपालिका फोहर संकलन गर्ने जिम्मेवारीबाट हट्दै गएको छ । विकसित देशले धेरै फोहर उत्पादन गर्नेले धेरै शुल्क तिर्नुपर्ने र कम उत्पादन गर्नेले कम शुल्क तिरे पुग्ने न्यायोचित विधि लागु गरेको छन् । जुन नियम यहाँ लागु गर्न सकिने अवस्था छ ।

– अधिक रुपमा फोहर संकलन क्षेत्र बढाउनका लागि काठमाडौंमा धेरै चुनौतिहरु छन् । जसमध्ये फोहर संकलन गर्ने ट्रकको क्षमता अनुसार काठमाडौंका साँघुरा गल्लीहरु र भित्री क्षेत्रहरुमा संकलन कठिन हुन्छ । यस सँगैं महानगरवासीको जागरुकता र उनीहरुको जिम्मेवारी वहन पनि यसमा पर्दछन् ।

– फोहर संकलन पश्चात आएका पुनः प्रयोग गर्न मिल्ने वस्तुहरुलाई वालिङ्ग नगरपालिकाले जस्तो सरसफाइ केन्द्र, भिरकोट नगरपालिकाको जस्तो स्रोत व्यवस्थापन केन्द्रको स्थापना गरि अधिकतम मात्रामा फोहर वस्तुहरुबाट काम लाग्ने, पुनः प्रशोधन गर्न मिल्ने वस्तुहरु निकाल्ने र बिक्री वितरण गर्ने गराउने काम तर्फ काठमाडौ महानगरपालिका अग्रसर भएको देखिदैन ।

– पोखरा महानगरपालिकाले आफनो ल्याण्डफिल साइटमा मात्रै भएपनि नियमित रुपमा पुनः प्रयोग गर्ने वस्तुहरु छान्नको लागि औपचारिक साझेदारीमा पुन प्रयोग, प्रसोधन गर्न सकिने फोहोर छुट्याई बिक्री गर्दै आएको छ । यसरी रिसाइक्लिङ खरीद केन्द्रहरु रिसाइक्लिङ वर्कशपहरु र प्रशोधन गर्ने कम्पनीहरुलाई कानूनी रुपमा पुनः प्रयोगजन्य वस्तुहरुमा काम गर्न इजाजत दिने र नगरपालिकाले यस्ता रिसाइक्लिङ्ग र अपसाइक्लिङ्गका पहलकदमी गर्ने संस्थाहरुलाई प्रर्वद्धन गर्ने, त्यसको सञ्चालनको निरन्तरताका लागि अनुदान र सुविधा उपलब्ध गराउने, फोहर संकलन गर्न सहरमा गुडने गाडीहरुलाई बन्द गर्ने वा कम्प्याक्टर गाडीहरु प्रयोग गर्ने तर्फ महानगरपालिकाले आवश्यक ध्यान दिन ढिलो भैसकेको छ ।

– घर घरमा नै फोहर वर्गीकरण गर्न लगाई कम्पोष्ट मल उत्पादनको लागि आवश्यक प्रशिक्षण दिने, सामग्रीहरु उपलब्ध गराउने गर्नाले लगभग ६० देखि ६५ प्रतिशत नियमित रुपमा निश्कासन हुने फोहर श्रोतमै कम गर्न सकिन्छ ।

– विकेन्द्रीकृत रुपमा निजी क्षेत्र तथा नगरपालिका आफैले छुट्टाछुट्टै संकलन गरि जैविक वस्तुहरुको लागि जनावर तथा हाँस कुखुरालाई खान दिने, बायो ग्यास उत्पादन गरि बिक्री गर्ने, कम्पोष्ट मल उत्पादन गर्नेे र कृषिमा व्यापक प्रयोग गर्दा कुहिने जैविक वस्तुहरु तुरुन्तै व्यवस्थापन गर्न सकिन्छ र बारम्बार दोहोरिने ल्याण्डफिल साइटको समस्या पनि समाधान हुने देखिन्छ ।

– साना उद्यमीहरु वा सामुदायिक सहभागीतामा विकेन्द्रीत रुपमा फोहोर संकलन गर्ने स्थानहरु व्यवस्थापन गर्ने,वा बैंकको रुपमा विकास गर्ने गराउने, जहाँबाट धेरै मात्रामा पुनः प्रयोग गर्ने वस्तुहरु संकलित गरि प्रशोधन केन्द्रमा पठाउन मद्दत मिल्छ ।

– तत्कालकै फोहर स्रोतमै वर्गीकरण नगरिएको स्थान तथा समुदायहरुमा नछुट्टाइएको मिश्रित फोहर आउने भएकोले, त्यसका लागि पनि पुनः प्रशोधन केन्द्रको स्थापना गर्ने वा गराई औपचारिक अनौपचारिक रुपमा काम गरिरहेका निजी संस्था मार्फत विकेन्द्रीत फोहर संकलन गर्ने प्रावधानहरु अवलम्बन गर्न सकिन्छ । यस्का लागि निश्चित आकारको मेटेरिएल रिकभरी स्थल (ःच्ँ) को स्थापना गर्ने र त्यस मार्फत भिरकोट नगरपालिकामा जस्तो पुनः वर्गीकरण गरि बिक्री वितरण गर्न सकिन्छ ।

– फोहर संकलन र ओसारपोसारका लागि यातायात व्यवस्थामा आवश्यक स्विकृति तथा उचित तरिकाले नियमित रुपमा अनुगमन गनुपर्ने देखिन्छ ।

– काम नलाग्ने तथा बिक्री गर्न नमिल्ने प्लाष्टिकहरुलाई स्रेदर मेसिन लगाई टुक्र्याएर प्लाष्टिक मिसाई प्रयोग गर्न सकिने सम्भावना तर्फ अध्ययन गर्न सकिन्छ । अन्य काम नलाग्ने प्लाष्टिक तथा शिशाका टुक्राहरुलाई पनि बटुवा हिड्ने बाटोमा बिछ्याउन मिल्ने खाल्को सिमेन्ट मिसाएको ब्लक बनाई प्रयोग गर्न सकिन्छ । यी प्रयोगहरु नेपालमा सफल रुपमा परीक्षण गरिसकिएको छ ।

नेफेजको थप सुझाव

१. फोहर उत्पादन गर्ने र संकलन गर्ने, ढुवानी गर्ने, पुनः वर्गीकरण गर्ने, भण्डारण गर्ने, बिक्री गर्ने, प्रशोधन गर्ने आदि गतिविधिहरुलाई नियमित रुपमा अभिलेखिकरण गर्न आधुनिक तरिकाले कम्प्युटर सफ्टवेयर निर्माण गरि तथ्याङ्क राख्न सकिन्छ । यसको नियमित निरीक्षण गरि मूल्याङ्कन गर्ने र तथ्याङ्कहरुको आधारमा कार्यप्रणालीको हेरफेर गर्ने जस्ता काममा प्रयोग गर्ने ।

२. फोहर व्यवस्थापनमा काम गर्ने कामदारहरुको स्वास्थ्य उपचारको उचित व्यवस्था मिलाउने, र काम गर्दा नियमित रुपमा उपयुक्त सुरक्षित सामग्रीको प्रयोग अनिवार्य गर्ने ।

अतः उल्लेखित अध्ययनको आधारमा काठमाडौं उपत्यकाका महानगरपालिका र नगरपालिकाहरुलाई तुरुन्तै फोहरलाई स्रोतमा बर्गीकरण गरेर यथोचित व्यवस्थापनको बन्दोबस्त मिलाई नागरिककोे सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने संविधान प्रदत्त मौलिक हक तथा विद्यमान फोहरमैला व्यवस्थापन ऐनको सम्मान गर्न नेपाल वातावरण पत्रकार समूह जिम्मेवार निकाय समक्ष जोडदार माग गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार