बिराटनगर, मोरङ : प्रदेश नं. १ को राजधानी मोरङमा साबुनपानीले हातधुने राष्ट्रिय महाअभियानको थालनी गरिएको छ । राष्ट्र खुल्ला दिसामुक्त घोषणाको एक वर्ष पूरा गरेको र विश्व हातधुने दिवसलाई विशेष रुपमा मनाउनका लागि राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्लस्टर र राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको अनुरोध बमोजिम हातधुने महाअभियानको मोरङमा थालनी गरिएको यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक एवम् प्रदेश वास क्लस्टरका सह संयोजक विनोद शर्माले जानकारी दिनुभयो ।
मंगलबार मोरङको बेलबारीबाट सो महाअभियानको थालनी गरिएको छ । अभियान अन्तर्गत अक्टुबर १५ सम्म संस्थागत एवम् घरायसी तहमा साबुनपानीले हातधुने विशेष अभियान सञ्चालन गरिने छ । यसैगरी सो अवधिमा पूर्ण सरसफाइ अभियान थालनी गरिएका स्थानीय तहहरुमा घरायसी तहमा साबुनपानीले हातधुने निश्चित स्थान र हातधुने सामग्री व्यवस्था गर्नका लागि समेत अभियान चलाइने पूर्ण सरसफाइ अभियान सहजीकरण गर्ने संस्था नारी विकास संघ मोरङका कार्यक्रम संयोजक सन्ध्या पौडेलले बताउनुभयो । “अझै पनि करिब ४७ प्रतिशत घरधुरीमा साबुनपानीले हातधुने निश्चित स्थान छैन”, पौडेलको भनाइ छ, “कम्तिमा पनि पूर्ण सरसफाइ अभियान थालनी भएका स्थानमा यस अवधिमा शतप्रतिशत घरधुरीमा साबुनपानीले हातधुने सुविधाको सुनिश्चितता गर्ने लक्ष्य छ ।”
मोरङको बेलबारीबाट अभियानको थालनी
मंगलबार मोरङ जिल्लाको बेलबारी नगरपालिकाबाट हातधुने महाअभियानको थालनी गरिएको छ । वडा नं. ८ राइझार आदर्श टोल र वडा नं. १० को पुष्पाञ्जली टोलबाट महाअभियानको थालनी गरिएको हो । वडा नं. ८ मा वडा अध्यक्ष धनपति गौतम र आदर्श टोल राइझार पूर्ण सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष रत्ना खवासले अभियानको थालनी गर्नुभयो । सो अवसरमा ८ जना बालबालिकाले साबुन पानीले हात धोएका थिए ।
औपचारिक शुभारम्भ पश्चात् टोलका सबै घरधुरीले आफ्नो घर अगाडि साबुनपानीको व्यवस्था गरी एकै साथ हात धोएका थिए । यसैगरी बेलबारी नगरपालिका, वडा नं. १० पुष्पाञ्जली टोलमा समेत पाँचकन्या, वडा अध्यक्ष गंगा बहादुर याखार टोल विकास संस्थाका अध्यक्ष अमिर मगरले साबुनपानीले हात धोएर महाअभियानको थालनी गर्नुभयो ।
यस महाअभियानलाई पहिलो चरणमा बेलबारी नगरपालिकाका बाँकी वडा, जहदा गाउँपालिका, रंगेली नगरपालिका र रतुवामाई नगरपालिकामा विस्तार गरिने छ । त्यसपछिको चरणमा बाँकी स्थानीय तह सँग समन्वय गरी अघि बढाउने पन्ध्र दिनभित्र कम्तिमा पनि एक लाख घरधुरीमा साबुनपानीले हातधुने अभ्यास गराउनुका साथै घरधुरीको अनुगमन गरी साबुनपानीले हातधुने निश्चित स्थान र सामग्रीको व्यवस्था भएका घरधुरीलाई ‘साबुनपानीले हातधुने घर’ स्टिकर प्रदान गरिने समेत कार्यक्रम संयोजक पौडेलले जानकारी दिनुभयो ।
४७ प्रतिशत घरधुरीमा हातधुने निश्चित स्थान छैन
कोरोना संक्रमणका कारण गरिएको बन्दाबन्दी पहिलो चरणमा खुकुलो भएपछि मोरङ जिल्ला पूर्ण सरसफाइ अभियान अन्तर्गत चार स्थानीय तहमा गरिएको पूर्ण सरसफाइ आधार रेखा सर्वेक्षण अनुसार ५३ प्रतिशत घरधुरीमा जोखिमपूर्ण अवस्थामा साबुनपानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्था छ भने ४७ प्रतिशत घरधुरीमा साबुनपानीले हातधुने निश्चित स्थान समेत छैन । ती घरधुरीमा बाल्टी या असुरक्षित कलबाट नै हात धुने गरिन्छ ।
बेलबारी, जहदा, रंगेली र रतुवामाईका करिब २३ हजार घरधुरीमा गरिएको सर्वेक्षण अनुसार पूर्ण सरसफाइको अवस्थामा बेलबारी नगरपालिकामा सबैभन्दा राम्रो देखिएको छ भने जहदामा सबैभन्दा कमजोर देखिन्छ । बेलबारीमा ७३ प्रतिशत घरधुरीमा हातधुने निश्चित स्थानको व्यवस्था गरिएको छ । यस्तै रतुवामाई नगरपालिकामा ६५ प्रतिशत, रंगेलीमा ३४ प्रतिशत र जहदामा ३० प्रतिशत घरधुरीमा मात्र साबुनपानीले हातधुने निश्चित स्थानको व्यवस्था छ ।
“बन्दाबन्दीको समयमा समेत पूर्ण सरसफाइ प्रवद्र्धनका लागि कार्यक्षेत्रका घरधुरीको मोबाइलमा फोन गरी पूर्ण सरसफाइ प्रवद्र्धन र कोरोनाबाट बच्ने उपायको बारेमा निरन्तर जानकारी दिएका थियौं”, नारी विकास संघका पूर्ण सरसफाइ अभियान टिम लिडर हिमांशु यादवले भन्नुभयो, “त्यसपछि गरिएको घरधुरी सर्वेक्षणमा औसत ४७ प्रतिशत घरधुरीमा साबुन पानीले हातधुने निश्चित स्थान नभएको देखिएको हो ।”
साबुनपानीले हातधुने निश्चित स्थान भएका घरधुरी मध्ये पनि ३ प्रतिशत घरधुरीमा सर्वेक्षणको क्रममा साबुन वा हातधुने जेल नभेएिको तथ्यांकले देखाउँछ ।
हातधुने स्थान बनाउन बाँकी घरधुरीमध्ये हातधुने महाअभियानको क्रममा कम्तिमा ५० प्रतिशत घरधुरीमा निश्चित स्थान बनाउन लगाउन सकेमा पनि हातको स्वच्छता प्रवद्र्धनमा ठूलो फड्को हुने टिम लिडर यादवले जनाउनुभयो ।
वडा केन्द्रित अभियान
हातधुने महाअभियानमा वडाभित्रका सम्पूर्ण घरधुरीमा एक साथ साबुनपानीले हातधुने विशेष अभियान सञ्चालन गर्न जोड दिइएको छ । अभियानको थप प्रभाकारिताका लागि वडाका सबै घरधुरीलाई समेट्न व्यापक प्रचारप्रसार र तयारीमा जोड दिइएको नारी विकास संघका कार्यक्रम अधिकृत शर्मिला चौधरीले जानकारी दिनुभयो । “वडा र टोलबाट सम्पूर्ण घरधुरीमा लिखित सूचना समेत पु¥याउने तयारी गरिरहेको छौं”, उहाँको भनाइ छ, “सामाजिक निगरानी समेत बढाउनका लागि यस पटक सबैले आफ्नो घर अगाडि सडक छेउमा आएर एकसाथ साबुनपानीले हातधुने तयारी भैरहेको छ ।”
बेलबारी नगरपालिका, वडा नं. ८ मा अक्टुबर महिनाको ८ तारिखमा विहान ८ बजेर ८ मिनेट जाँदा सबै घरधुरीले आफ्नो घर अगाडिको सडक छेउमा आएर साबुनपानीले हातधुने योजना बनाइएको छ भने वडा नं. ११ मा ११ तारिखमा विहान ११ बजेर ११ मिनेट जाँदा । “सबै वडामा एक साथ कार्यक्रम गर्दा तयारी नपुग्न सक्ने भएकोले हात धुनका लागि फरक फरक समय तोकिएको हो”, टिम लिडर हिमांशु यादवले भन्नुभयो, “अभियान अन्तर्गतका सबै क्रियाकलापको तयारी वडाको निर्णय अनुसार भैरहेको छ, सहजीकरण गर्ने संस्था निकायहरुले आवश्यक प्राविधिक, प्रक्रियागत सहयोग, सहजीकरण र कार्यक्रम व्यवस्थापनमा समेत सहयोग गरिरहेका छन् ।”
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको बैठकले यस अघि नै समुदायमा साबुनपानीले हातधुने अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।