स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकाले फोहोर बिक्रीबाट चालु आर्थिक वर्षमा १ लाख ४३ हजार ८ सय ३५ रुपियाँ कमाएको छ भने २ लाख ५० हजारको फोहोर बिक्री गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । भीरकोट नगरपालिकाले गत सालको मंसिर ३० गते सरसफाइकेन्द्र समुदघाटन तथा फोहोरमैला खरिद कार्यक्रमको सुरुवात गरेको थियो ।
नगरपालिकाले अब फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी फोहोरमैला व्यवस्थापन गर्ने भएको छ । फोहोरमैला व्यवस्थापनका लागि हालै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रशासकीय भवनको शिलान्यास गर्नुभयो । भवनको शिलान्यास गर्दै मन्त्री लम्सालले तिनै तहको सरकार बीच समन्वय भए मात्रै समृद्ध नेपाल सुखी नेपाली सम्भव हुने बताउनुभयो । मन्त्री लम्सालले केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर समृद्धि हासिल गर्न सकिने भन्दै पर्यटनका माध्यमबाट समृद्धि र विकास सम्भव भएको बताउनुभयो ।
सरसफाइ पर्यटनको मुख्य आधार भएकाले जिल्लाको मध्यभागमा रहेको भीरकोटमा भएका धार्मिक तथा ऐतिहासिक पर्यटनको विकास गर्नुअघि सरसफाइमा ध्यान दिएको उहाँको भनाइ छ । प्रशासकीय भवन निर्माणका लागि १ करोड ९९ लाख ५५ हजार १ सय ३० रुपियाँको बोलपत्र आह्वान भएको छ । प्रशासकीय भवन सँगै पानीपोखरी, शौचालय, कल्भर्ड, ल्यान्डफिल साइडको भित्री बाटो ग्राभेल हुनेछ । २४ रोपनी ९ आना एक पैसाको जग्गा नगरपालिकाले ५१ लाख १५ हजार ६ सय रुपियाँमा खरिद गरेको थियो ।