
खुला दिसामुक्तको उपलब्धीलाई दिगो बनाउदै, सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको उन्मूलन गरी मानव, पृथ्वी र समृद्धिको लागि एक समान, न्यायपूर्ण र सुरक्षित विश्व निर्माण गर्ने परिकल्पना गरिएको दिगो विकास लक्ष्य हासिल गर्न सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता विना सम्भव छैन । तसर्थ, दिगो विकासका १७ वटा लक्ष्यहरु मध्य छैटौं लक्ष्यमा उल्लेखित स्वच्छ खानेपानी र सरसफाइको एजेण्डालाई पूरा गर्नु हामी सबैको कर्तव्य एवं जिम्मेवारी हो ।
हाल सम्पूर्ण विश्व नै कोरोना भाइसर महामारी अर्थात् कोभिड–१९ बाट आक्रान्त छ, यसबाट नेपाल पनि अछुतो छैन । यो रोगका विरूद्धमा हालसम्म कुनै खोप र प्रभावकारी उपचार पद्धति पत्ता नलागि सकेको हुँदा यसको सङ्क्रमणबाट बच्न विश्व स्वास्थ्य संगठन र नेपाल सरकारद्वारा जारी सतर्कताका उपायहरू अनिवार्य रूपले अवलम्बन गर्न आवश्यक छ ।

साबुनपानीले २० मिनेटसम्म मिचीमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने अध्ययनहरुले देखाएका छन् । हाल विश्वव्यापी स्वास्थ्य समस्याका रुपमा रहेको कोरोना भाइसरलाई निस्क्रिय बनाई यसको संक्रमणमा कमी ल्याउने तीन महत्वपूर्ण औजार मध्ये हातको स्वच्छता पनि एक हो ।
कोरोना भाइसरको बिस्तार र सङ्क्रमण रोक्न हातको स्वच्छता हुनुपर्दछ भन्ने सन्देश समुदायसम्म पुर्याउनु अपरिहार्य छ । विगत लामो समय देखि अभियानको रुपमा मनाइदै आएको हात धुने अभ्यासलाई अक्टोबर १५ तारिखमा विश्वभरि विशेष प्राथमिकताका साथ मनाईएको छ । कोरोना भाइसरको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी विश्वव्यापी रुपमा हातधुने दिवस मनाईयो । यही अवसरमा नेपाल सरकारको सक्रियतामा असोज १३ देखि कात्तिक १४ गतेसम्म हात धुने अभियान सञ्चालन भईरहेको छ । तीनै तहका सरकार र सरोकारवालाहरुको साझेदारीमा हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधै साथ साथ भन्ने संकल्पका साथ देशैभरि सबैका लागि हातको स्वच्छता अभियान सञ्चालन भइरहेको हो ।

विगत साढे दुई दशकदेखि खानेपानी र सरसफाइ क्षेत्रमा कार्य गर्दै आइरहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय तह र समुदायहरुको मागलाई समेत मध्यनजर गरी विभिन्न स्थानमा अटोमेटिक हातधुने स्टेशन स्थापना गरेको छ । कोष विकास समितिले काभ्रेको बेथानचोक गाउँपालिका, वडा नं. ८, ढुंखर्क, काभ्रेकै धुलिखेल नगरपालिका, वडा नं. ८, वडा लगाउँ तथा नमोबुद्ध नगरपालिका, वडा नं. ७, खनालचोक लगायतको स्थानमा अटोमेटिक हात धुने स्टेशन स्थापना गरिसकेको छ ।

यसका साथै हातको स्वच्छताबारे हरेक नागरिकलाई अझ बढी सचेत बनाउन समुदाय तहमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धित पालिकाका प्रमुखहरुले प्रतिबद्धता व्यक्त गर्नुभयो । अटोमेटिक हातधुने स्टेशनको उद्घाटन गर्दै स्थानीय सरकार प्रमुखहरुले कोरोना भाइरसकोे सङ्क्रमणबाट बच्न साबुनपानीले हातधुने अभ्यासलाई आगामी दिनमा अझ व्यापक रुपमा सञ्चालन गर्न सहकार्य गरी अघि बढ्न सदैव तत्पर रहेको दृढता समेत व्यक्त गर्नुभयो ।
सञ्जय देवकोटा/कार्यक्रम विकास अधिकृत
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति


1783 पटक हेरिएको 

