सोलुखुम्बु : जब ओगानेम महिला समूहका दिदीबहिनीहरु जुरुक्क उठे, थुलुङ दुधकोशी गाउँपालिका आसपासको क्षेत्रको बाटोघाटो तथा घरआँगन क्षणभरमै सफासुग्घर देखिए । ओगानेम महिला समूहका दिदीबहिनीहरुले गाउँपालिका कार्यालय आसपास, लक्ष्मी बैंक ,वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्ली, वडा कार्यालय, स्वस्थ्य चौकी र सडक तथा चौतारोको सरसफाइ गरिएको हो । आमा समूहले ती क्षेत्रमा १५ वटा भन्दा बढी ठाउँमा बाँसको टोकरी समेत गरिएको ओगानेम आमा समूहकी सहसचिव धनरुपा राईले जानकारी दिनुभयो ।
‘हामीले बाटोघाटोको झार, काँडा पन्छाउने, कागज प्लास्टिक टिप्ने, गोरेटोबाटो मर्मत गर्ने, पानीको भल काट्ने लगायतको काम गरेका छौं । अहिले साबिक मुक्ली गाविस ६ आसपासको क्षेत्र सफा सुग्घर भएको छ ।’ आमा समूहकी सहसचिव राईले भन्नुभयो । ओगानेम महिला समूहले विगत २ बर्षदेखि गाउँपालिका कार्यालय आसपासको क्षेत्रमा सरसफाइ तथा गोरेटोबाटो मर्मत गर्दै आएको छ ।
आमा समूहले सरसफाइका अलावा होटेल पसल गर्नेहरुलाई प्लास्टिक, कागज र सिसाको बोतल नियन्त्रण गर्न सल्लाह पनि दिने गरेको उहाँले बताउनुभयो । ‘फोहोर व्यवस्थापन गर्ने तरिका थाहा नभए फोहोर टिपेर मात्र नियन्त्रण नहुने रहेछ, त्यसैले हामीले सरसफाइ सँगै होटल, पसल गर्नेलाई फोहोरलाई कसरी व्यवस्थित गर्ने र सिसाको बोतल तथा अन्य फोहोरमैलालाई कसरी नियन्त्रण गर्ने भनेर पनि सल्लाह दिएका छौं ।’ सहसचिव राईले भन्नुभयो । दशैंको अवसर पारी जिल्लाका अन्य ठाउँमा पनि बाटोघाटो, चौतारो सरसफाइको काम हुना थालेका छन् ।