बाजुराका घरघरमा राता, हरिया र पहे‌ँला झण्डा

बाजुरा :अहिले यस क्षेत्रका घरहरूमा तीनथरी झण्डा देख्न सकिन्छ । जसको घरमा चर्पी प्रयोग भएको छैन, त्यो घरमा पहेँलो झण्डा, जसकोमा चर्पी प्रयोग भएको छ तर जुठ्यान र भाँडा सुकाउने चाङ बनेको छैन, त्यस्तो घरमा रातो झण्डा राखिन्छ । त्यस्तै, जसको घरमा पूर्ण सरसफाइका सबै सूचक पूरा गरिएको छ, त्यो घरमा हरियो झण्डा राख्ने गरिएको छ ।

गौमुल गाउँपालिका–४ का गणेशबहादुर रोकाया भन्छन्, ‘तीन थरी झण्डा राख्ने नियम बनाएर गाउँलाई सफा राखेका छौँ । हरियो झण्डा भएको घरले पहेँलो र रातोलाई दबाब दिने र पहेँलोले रातोलाई दबाब दिन्छन् । आफ्नो घरमा पहेँलो झण्डा हटाएर हरियो झण्डा राख्ने होडबाजी नै चल्यो, जसले गाउँलाई सफा राख्न मद्दत पुर्‍यायो ।’

सरसफाइ गर मात्र भन्दा कसैले नगर्ने तर यसरी अभियानकै रूपमा कार्यक्रम चलाएपछि भने गाउँ सफा भएको गौमुल गाउँपालिका–४ का वीरेन्द्र रोकायाले बताए । गाउँले अपनाएको यो पद्धति सबैका लागि नयाँ र नौलो बनेको उनको भनाइ छ ।

गाउँ सफा बनाउन के गरियो ?

जिल्लामा सरसफाइ अभियान सञ्चालन गर्न विभिन्न संघसंस्थाले अभियान संचालन गरे । कार्यक्रम चलुन्जेल गाउँ सफा भए पनि कार्यक्रम सकिएपछि भने यो टिकेन । जब नेपाल सरसकारले त्यसलाई आफ्नो सरकारी कार्यक्रमका रूपमा अगाडि बढायो, तब जनता यसमा परिवर्तत भएका हुन् ।

‘पहिलेपहिले सरसफाइका कार्यक्रम सञ्चालन गर्दा हामीलाई नै कठिन भयो तर पछि गएर त्यसलाई सहज बनाउन पाइयो । राति पाले बसेरै खोलामा दिसा गर्न गएकाहरूलाई लखेट्नेदेखि दिसा आफैँ उठाएर पुर्नेसम्म गर्न लगायौँ । त्यसले गर्दा अहिले गाउँमा फोहोर छैन । विद्यालयमा पनि चर्पी बनेका छन् । खानेपानीको पर्याप्तता छ,’ फेडवासन नेपालका केन्द्रीय सदस्य शेरबहादुर शाहीले बताए ।

गैरसरकारी संस्था महासंघ बाजुराका अध्यक्ष अग्नि शाहीका अनुसार गाउँमा बनेका योजनाहरू स्थानीयहरूलाई आफ्नै हो भन्ने चेतना जगाउन नै कठिन थियो । योजना योजनाका लागि मात्र बन्ने र पछि बिगारेर भग्नावशेषमा परिणत गराएर छोड्थे । अहिले उनीहरूले नै सुरक्षा गर्ने गरेका छन् ।

अहिले उनीहरूले संरक्षण कोष बनाएर पानी बनाउँछन् । समुदायमा सरसफाइका क्रियाकलाप पनि तीव्र गतिमा छन् । पहिले साबुन किनेर दिइयो भने त्यही साबुन हुन्जेसम्म मात्र प्रयोग गर्थे, अहिले आफैँले किनेर प्रयोग गर्ने गरेका छन् ।

पानीजन्य रोगी घटे

बाजुरा जिल्लाका ग्रामीण बस्तीहरूमा मौसम परिवर्तन भएको समय र गर्मीमा हैजा र झाडापखालाजस्ता प्रकोप बढ्ने र त्यसलाई नियन्त्रण गर्न हम्मेहम्मे हुन्थ्यो । तर, अहिले गाउँ सफा रहन थालेपछि त्यस्तो प्रकोपको समस्या हटेको छ ।

विश्व स्वास्थ्य संगठनको ८० प्रतिशतभन्दा बढी रोगहरू दूषित पानी पिउनाले लाग्ने र संसारभरका विकासोन्मुख देशहरूमा एकतिहाइ मानिसको मृत्यु दूषित पानीकै कारणबाट हुने तथ्यांक सन् २०१४ मा सार्वजनिक गरेको थियो । त्यस्तै सोही तथ्यांकमा एक व्यक्तिको उत्पादनशील समयको दशौँ भाग पानीसँग सम्बन्धित रोगहरूमा नै व्यतित हुन्छ भन्ने उल्लेख छ । जलस्रोतविज्ञहरूका अनुसार मानव शरीरमा लगभग ६० प्रतिशत तौल पानी हुन्छ र रगतमा ९० प्रतिशत पानी हुन्छ । त्यसैले पानी मात्र पिएर हुँदैन, स्वच्छ पानीको पहुँच र प्रयोग गर्न अति आवश्यक छ ।

पानीलाई पनि स्वच्छ बनाउने हाम्रा हात भएको हुँदा हात सफा हुन जरुरी देखिन्छ । खाना खानु र बच्चालाई खुवाउनुअघि, खाना पकाउनुअघि वा पस्किनुअघि, सुचि गरसिकेपछि र फोहोर छोइसकेपछि साबुनपानीले २० सेकेन्डसम्म हात मिचीमिची धुने बानी बसाल्ने र कोभिड– १९ को महामारीबाट बच्न र बचाउन सकियोस् भन्ने हेतुले राष्ट्रिय अभियान १३ असोजबाट निरन्तर अगाडि बढिरहेको छ ।

‘गाउँमा पहिलेजस्तो झाडापखालाका बिरामी भेटिँदैनन्, गाउँमा सरसफाइमा ध्यान दिएका कारण पनि हुन सक्छ । पहिले यस समयमा धेरै बिरामी झाडापखालाका हुने गरेका थिए । अवस्था थामिनसक्नु थियो । अहिले त्यस्तो छैन । हामीले पहिले साबुनपानीले हात धुनुपर्छ भनेर गाउँमा चेतना दिन जाँदा मान्छेहरू हाँस्थे,’ स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य संयोजक पारस शाहीले बताए । निमेश शाहीद्वारा लिखित यो स्टोरी शिलापत्र डट कमबाट साभार गरिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार