असुर्पा हुँदै काठमाडौंसम्म

रमेश सुवेदी

देश खुला दिसामुक्त घोषणा भएको एक बर्ष पार भईसकेको छ । तर विगतमा सरसफाइ सरकारी र जनस्तर दुवैको प्राथमिकतामा नपरेको विषय थियो । यसैले देशमा सरसफाइ शुरु हुँदाको समयमा यस क्षेत्रमा काम गर्ने अभियन्ताहरूले अनेकन् चुनौतीको सामना गर्नु पर्दथ्यो । त्यतिखेर कस्ता चुनौतीहरू थिए र तिनको समाधान कसरी गरिएको थियो भन्ने प्रसङ्गलाई यहाँ उजागर गर्न खोजिएको छ ।

वर्तमान समयमा जस्तो औपचारिक रूपले खुला दिसामुक्त गाउँ घोषणा नगरिएको भए तापनि सो गाउँमा सन् १९९८ तिरै जिल्ला खानेपानी कार्यालय डडेलधुराको सहजीकरणमा एक समारोह बीच सबै १२५ घरमा शौचालय भएको घोषणा भने गरिएको थियो ।

प्रसङ्ग डडेलधुरा जिल्लाको तत्कालीन कोटेली गाविसको हो । तत्कालीन जिल्ला खानेपानी कार्यालय डडेलधुराले कोटेली गाविसको असुर्पा गाउँबाट सरसफाइ अभियान शुरु गर्ने सोच बनायो । यस क्रममा उक्त समुदायका सम्पूर्ण वासिन्दालाई जम्मा गरी सार्वजनिक सरसफाइको श्रीगणेश गरियो । कार्यालयबाट खटिएर गएका खानेपानी सरसफाइ प्राविधिकद्धय उद्धवबहादुर देउवा र श्यामराज जोशी लगायतका हामी कर्मचारीहरू आफैंले विद्यालय वरपर तथा बाटाघाटाका दिसाका थुप्राहरू सोहोर्न थालेपछि अन्ततः सबै गाउँलेको जमात फोहोर सोहोर्न खनियो । एकै क्षणमा असुर्पा गाउँमा सरसफाइ गर्दा उडेको धुलोले कुइरीमण्डल हुनपुग्यो र हेर्दाहेर्दै गाउँको मुहार नै फेरियो । यस अभियानमा पुरुषहरू मात्र नभई महिलाहरूको सहभागिता पनि उल्लेख्य थियो । तर यो त सरसफाइ अभियानको शुरुआत मात्र थियो ।

हाम्रो टोली प्रत्येक दिन अनुगमन तथा उत्प्रेरणाका लागि फिल्डमै खट्ने गर्दथ्यो । टोल टोलको प्रतिनिधित्व गर्ने गरी छानिएका महिला स्वयंसेविका तथा उत्प्रेरिकाहरूको तालिममा सहभागी महिलाहरू प्रत्येक दिन अघिल्लो दिन भएको पूरै छलफलको विषय गीत बनाएर ल्याउँथे । लेख्न सक्नेले आफै तथा नसक्नेले आफ्ना छोराछोरीहरूलाई समेत आफूले भनेर लेख्न लगाएका दर्जनौ सरसफाइका मार्मिक गीतहरू मैले सङ्कलन गरेको थिएँ । यी गीतहरू साहित्यकार तेजेश्वर बाबु ग्वंगले अङग्रेजीमा उल्था गरेर नेपाली र अङग्रेजी दुवै भाषामा छापेपछि पुस्तिका बनाएर वितरण गरिएको थियो । यस अभियानलाई शुरुमा जिल्ला इन्जिनियर कृष्णमणि लामिछाने र पछि चन्द्रबहादुर के.सी. ले निरन्तरता दिनुभयो । त्यो गाउँमा महिलाहरूको सक्रियता यति बढ्यो कि सबै घरमा शौचालय निर्माण हुन बेर नै लागेन । शौचालय जाने बाटाघाटा समेत सफा गरिएका र पोतिएका हुन्थे । त्यो बेला बाटो पोतेको पछयाउँदै जाने हो भने शौचालय भेटिन्थ्यो । शौचालयमा स्थानीय सामग्रीहरूको प्रयोगबाट नौला र सृजनात्मक संरचनाहरूको निर्माण गरिएका थिए । उदाहरणका लागि बाँसको चोयाबाट विभिन्न सामान बनाउन सीप भएकाहरूले चोयाको फोल्डिङ सटर र आरनमा काम गर्नेहरूले शौचालयमा भित्र भएको मानिसले आफू शौचालयमा भएको जनाउ दिन आफूद्वारा निर्मित घण्टी बज्ने सिस्टम राखेका आदि ।

देशमा खुला दिसामुक्त क्षेत्रको अवधारणा पछिका दिनहरूमा आएर लोकप्रिय भएको भए पनि व्यवहारमा भने समुदाय साँच्चिकै खुला दिसामुक्त त्यतिखेरै भएको तथ्यको इतिहास साक्षी छ । वर्तमान समयमा जस्तो औपचारिक रूपले खुला दिसामुक्त गाउँ घोषणा नगरिएको भए तापनि सो गाउँमा सन् १९९८ तिरै जिल्ला खानेपानी कार्यालय डडेलधुराको सहजीकरणमा एक समारोह बीच सबै १२५ घरमा शौचालय भएको घोषणा भने गरिएको थियो । यस कार्यमा एशियाली विकास बैंकको सहयोगमा सञ्चालित खानेपानी र सरसफाइ आयोजनाको योगदान रहेको थियो । साथै डा.विजया श्रेष्ठ सहितको सहयोगमा असुर्पा गाउँको सरसफाइ र खानेपानी आयोजनाका क्रियाकलापहरू समेटिएको वृत्तचित्र पनि निर्माण भएको थियो, जुन सन् २००० को मार्च महिनामा नेदरल्याण्डस्को हेगमा आयोजित दोस्रो वल्र्ड वाटर फोरममा प्रदर्शन गरिएको थियो । उक्त फोरममा पङ्क्तिकार लगायत सुमनप्रसाद शर्मा, रमादेवी बुढाऐर र शंकरी देवी बुढाऐरको पनि सहभागिता रहेको थियो । सो कार्यक्रममा हामीले नेपालले खानेपानी तथा
सरसफाइ प्रवर्धनका लागि गरेको प्रयासका बारेमा प्रकाश पारेका थियौं ।

दाङ जिल्लामा सरुवा भएर आइसकेपछि मैले दाङमा सरसफाइ प्रवर्धनको कार्य निकै चुनौतीपूर्ण रहेको पाएँ । विशेषतः चौथो राष्ट्रिय सरसफाइ सप्ताहबाट तरङ्गित भएको दाङमा सर्वप्रथम तत्कालीन ढिकपुर गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने महत्वाकांक्षी लक्ष्य राखियो र सफलता पनि हासिल भयो । शुरुमा सो लक्ष्य असम्भव ठान्ने र खिल्ली उडाई हतोत्साहित पार्नेहरूको कमी थिएन । जिम्मेवार व्यक्ति नै ’खुला दिसामुक्त गर्न के पोलिथिनको प्याकेट बाँड्छौ त ?’ भनेर खिल्ली उडाउँथे । पछि गएर त्यही जिल्लाबाट ’सरसफाइ कमान्डो’ र ’दानवीर’ परिचालन जस्ता सृजनशील कार्यको थालनीले देशको खुला दिसामुक्त अभियानमा समेत ठूलो तरङ्ग ल्याउन सफल भयो । पङ्क्तिकार दाङ पछि रोल्पा जिल्लामा कार्यरत हुँदाका बखत सम्ममा देशमा खुला दिसामुक्त अभियान तीव्र रूपमा अघि बढिसकेको थियो ।

असुर्पाबाट शुरु गरिएको सरसफाइको अभियान राष्ट्रिय लक्ष्य हासिल गर्ने गरी अहिले संघीय राजधानी काठमाडौ छिरेको छ । हर्ष र उमङ्गका साथ यही २०७६ असोज १३ गते राष्ट्र खुला दिसामुक्त घोषणा हुँदैछ । यसलाई अपूर्व संयोग नै मान्नु पर्छ कि असुर्पा गाउँका सबै घरधुरीमा चर्पीको प्रवर्धन गरी खुला दिसामुक्त घोषणा गर्ने कार्यको
जग हाल्ने अग्रज मध्येका एक चन्द्रबहादुर के.सीकै अगुवाईमा करिब साढे दुई दशकपछि राष्ट्र नै खुला दिसामुक्त घोषित हुँदैछ । असुर्पा हुँदै काठमाडौं सम्म आइपुगेको सरसफाइको गौरवशाली यात्राको एक यात्रु बन्न पाउँदा यो पङ्क्तिकार अत्यन्त गौरवान्वित बन्न पुगेको छ ।

खुला दिसामुक्त नेपाल : यात्रा वृत्तान्त पुस्तिकाबाट साभार ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार