वैचारिक धरातल

विश्व स्तरमा युगौंदेखि नै व्यापक रूपमा ‘दिमाग प्रधान’ सोचबाट सरसफाइ क्षेत्रको विकास निर्देशित हुँदै आएको देखिन्छ । जुन सोच अन्तर्गत सरसफाइको ज्ञानात्मक पक्षमा बढी जोड दिइन्छ । साथै मौजुदा सिद्धान्तहरूको सहारा लिई सघन रूपमा कारण र परिणामको खोजी गरिन्छ । यसका अतिरिक्त चुनौती सम्बोधनका लागि प्रायःजसो बाह्य विज्ञ तथा परामर्शदाताहरूले सिर्जना गरेको सैद्धान्तिक ढाँचा र दृष्टिकोणलाई जस्ताको तस्तै अपनाइन्छ । फलस्वरूप सरसफाइ प्रवर्धनमा जुटेका निकायहरूद्वारा श्रम र स्रोतको ठूलो हिस्सालाई ‘परीक्षण (पाइलटिङ)’ मै खर्चिएका हुन्छन तर सोचे जति सेवा र सुविधाको ‘विस्तार (स्केलिङ)’ भने हुन सकिरहेको हुँदैन । यी विश्व स्तरमा व्याप्त परीक्षणहरू बीच सरसफाइ प्रवर्धनका स्थानीय स्तरका मौलिक प्रयासहरू भने सुषुप्त अवस्थामा रहेका हुन्छन् ।
सरसफाइको विकासको रङ्गमञ्चमा दिमाग प्रधान सोचले गहिरोसँग जरा गाडिरहेकै बेला सोको ‘विनिर्माण (डिकन्स्ट्रक्सन)’ स्वरूप ‘दिल प्रधान’ सोचको आगमन हुन पुग्दछ । दिल प्रधान सोचले ‘तयारी ढाँचा (रेडिमेड मोडेल)’ को साटो स्थान विशेषको मौलिकतामा अडिएको ‘नापानुकूलित ढाँचा (टेलरमेड मोडेल)’ मा जोड दिन्छ । यस प्रकारको सोचको शक्ति हृदयको केन्द्रमा घनीभूत भएको हुन्छ । दिल प्रधान सोच कुनै मौजुदा सिद्धान्तमा अडेको हुँदैन । बरु दिल प्रधान सोचमा पोषित खास स्थानहरूले सरसफाइको विकासका लागि नयाँ नयाँ सिद्धान्तहरू भने जन्माइरहेका हुन्छन् । यस आलेखको सन्दर्भमा विनिर्माण भन्नाले युगौंदेखि स्थापित मान्यता र विधिलाई विस्थापित गर्दै अनुभव र प्रमाणमा आधारित भई फरक शैलीमा कार्य गरी तोकिएको नतिजा हासिल गर्ने भनेर बुझ्नु पर्ने हुन्छ । जस मार्फत नयाँ युगको थालनी हुन्छ । अर्थात यो यथास्थितिको निरन्तरताको अन्त्य हो र अग्रगमन तर्फको छलाङ्ग हो ।
समुदायको अगुवाईमा पूर्ण सरफाइ पद्धतिलाई सरसफाइ प्रवर्धनका लागि युगौंदेखि स्थापित सोच र शैलीको विनिर्माण स्वरूप देखा परेको एक आविष्कारकै दर्जा दिन सकिन्छ । समुदायको अगुवाईमा पूर्ण सरसफाइ विधिमा ‘प्रज्ज्वलन’ (‘इग्निसन’ वा ‘ट्रिगरिङ)’ का औजारहरूलाई सरसफाइको इञ्जिनलाई चलायमान बनाउने इन्धन वा कारक तत्वको रूपमा मान्यता दिइन्छ । यस विधि अन्तर्गत प्रायः जसो खुला दिसा ब्याप्त हुने स–साना समुदायलाई लक्षित गरी समुदाय तहको प्रज्ज्वलन वा सामुदायिक प्रज्ज्वलन (कम्युनिटि ट्रिगरिङ) का औजारहरूको प्रयोग गरी समग्र समुदालाई इग्नाइट वा ट्रिगर गर्ने गरिन्छ । जस मार्फत लक्षित समुदायमा बाह्य अनुदान बिना नै घृणा, लाज र शरमको सोच जागृत गरी चर्पी प्रवर्धन गरी खुला दिसा अन्त्य गर्नेतर्फ समुदायलाई सशक्तिकरण गरिन्छ । समुदायको अगुवाईमा पूर्ण सरसफाइ मूलतः दिल प्रधान विधि नै हो । त्यसैले सरसफाइ प्रवर्धनको ‘अनुदान रहितको’ यो विधिलाई विश्वव्यापी रूपमा स्थापित ‘अनुदान सहितको’ विधिको विनिर्माणको रूपमा बुझ्न सकिन्छ ।
नेपालको मौलिक सिर्जना
नेपालको सरसफाइ क्षेत्रमा ट्रिगरिङको समानार्थी रूपमा नेपाली शव्द ‘प्रज्ज्वलन’ को प्रयोग हुने गरेको छ । ‘क्षेत्रगत तहको प्रज्ज्वलन वा क्षेत्रगत प्रज्ज्वलन (सेक्टोरल ट्रिगरिङ)’ नेपालको सरसफाइ क्षेत्रमा प्रयोग भएको मौलिक र लोकप्रिय अवधारणा हो । यसलाई देशमा आम रूपमा अंग्रेजी शब्द ‘सेक्टर ट्रिगरिङ’ भनेर बुझ्ने गरिन्छ । क्षेत्रगत प्रज्ज्वलनको प्रयोगले समुदाय सहित सरसफाइसँग सम्बन्धित सबै क्षेत्रगत सरोकारवालाहरूलाई सामूहिक रूपमा प्रज्ज्वलन गरिन्छ । पङ्क्तिकारद्वारा सन् २०११ मा विकसित क्षेत्रगत प्रज्ज्वलनको अवधारणालाई देशको सरसफाइ प्रवर्धनमा व्यापक रूपमा प्रयोग गरिएको छ । क्षेत्रगत प्रज्ज्वलनले समुदायको अगुवाईमा पूर्ण सरसफाइ पद्धतिको प्रज्ज्वलनको सैद्धान्तिक आधारका अतिरिक्त देशका विभिन्न स्थानहरूमा प्रयोगमा ल्याइएका अन्य मौलिक क्षेत्रगत सिकाईहरूलाई समेत आत्मसात गरेको छ ।
नेपालको सरसफाइ क्षेत्रको विकासमा समाजशास्त्रीय र मानवशास्त्रीय दृष्टिकोण अवलम्बन पश्चात क्रमशः दिल प्रधान सोच विस्तार हुन पुगेको छ । क्षेत्रगत प्रज्ज्वलनमा दिल प्रधान सोच एवं मानवीय संवेदनाको धेरै प्रभाव रहेको हुन्छ । क्षेत्रगत प्रज्ज्वलन नेपालको मौलिक सिर्जना हो । क्षेत्रगत प्रज्ज्वलन भन्नाले विभिन्न क्षेत्रगत सरोकारवालाहरूको प्रज्ज्वलन भन्ने बुझिन्छ । देशब्यापी रूपमा सञ्चालित खुला दिसामुक्त अभियानलाई उर्जा प्रदान गर्न देशमा क्षेत्रगत प्रज्ज्वलनका विधि र औजारको व्यापक प्रयोग गरिएको छ । जसको सफल प्रयोग मार्फत सरसफाइ प्रवर्धन एक ‘सामाजिक अभियान’ बन्न पुगेको छ र छोटै समयमा सरसफाइको सुविधा (कभरेज) ह्वात्तै बढ्न पुगेको छ ।
सरसफाइ प्रवर्धनका लागि गुरूयोजनाले सिर्जना गरेको अनुकूल वातावरणमा क्षेत्रगत प्रज्ज्वलनको अवधारणाको अभ्युदय र विस्तार हुन पुगेको छ । गुरूयोजनाले विभिन्न तहहरूमा बहु–क्षेत्रगत सरोकारवालाहरूको समन्वय संरचना संस्थागत गरी छरिएर रहेका सरोकारवालाहरूको ‘शक्ति (इनर्जी)’ लाई ‘थप शक्ति (सिनर्जी)’ मा रूपान्तरण गरेको छ भने सरसफाइ प्रवर्धनका लागि ‘आयोजना ढाँचा’ बाट अघि बढेर ‘अभियान ढाँचा’ स्थापित गरेको छ ।
यस अर्थमा गुरूयोजना नेपालको मौलिक सिर्जना हो भने अभियान ढाँचा र क्षेत्रगत प्रज्ज्वलन क्रमशः ‘परम्परागत शिक्षण विधि’ र ‘सामुदायिक प्रज्ज्वलन’ को विनिर्माणको रूपमा नेपालमा सिर्जित मौलिक अवधारणाहरू हुन् । उदाहरणका रूपमा सरसफाइ सम्मेलनमा क्षेत्रगत प्रज्ज्वलन मार्फत सरोकारवालाहरूलाई व्यापक रूपमा आन्दोलित गरी द्रूततर रूपमा खुला दिसामुक्त अवस्था हासिल गर्नका लागि उनीहरूको छरिएर रहेको प्रचुर उर्जा संचित र प्रवाह गर्दै सामुहिक प्रतिबद्धता हासिल गरिन्छ ।
स्मरणीय छ, देशको सरसफाइको समग्र कभरेज केवल दुई प्रतिशत मात्र भएको बेला अर्थात सन् १९८० देखि नेपालमा व्यवस्थित रूपमा सरसफाइ प्रवर्धन भए पनि गुरूयोजना कार्यान्वयनको थालनी वर्ष सन् २०११ सम्मको तीन दशक भन्दा बढीको लामो अवधिमा पनि देशको सरसफाइको कभरेज करीव ४३ प्रतिशतको हाराहारीमा मात्र रहेको पाइन्छ । तर गुरूयोजना कार्यान्वयन पछिको सात वर्षको छोटो अवधि मै पनि राष्ट्रिय स्तरमा करीव ५७ प्रतिशत सरसफाइको सुविधा थपिएको पाइन्छ । हाल देश खुला दिसामुक्त क्षेत्र घोषित भइसकेको छ । गुरूयोजनाको सफल कार्यान्वयन, शून्य अनुदानको नीतिको अवलम्बन, विभिन्न क्षेत्रगत सरोकारवालाहरूको सहकार्य एवम क्षेत्रगत प्रज्ज्वलन विधिको प्रयोगले सरसफाइमा यो अभूतपूर्व सफलता हासिल हुन सकेको हो ।
नेपालमा क्षेत्रगत प्रज्ज्वलनको प्रयोग
क्षेत्रगत प्रज्ज्वलन मार्फत व्यापक गठबन्धन निर्माण, फराकिलो क्षेत्रगत सम्बन्ध विस्तार, बृहत्तर रूपमा योजना तर्जुमा, प्रभावकारी सामुदायिक परिचालन, स्रोत साधनको व्यापक संकलन र व्यापक राजनीतिक परिचालन गरिन्छ । क्षेत्रगत प्रज्ज्वलनमा खानेपानी र सरसफाइका अतिरिक्त शिक्षा, स्वास्थ्य, स्थानीय विकास, महिला तथा बालबाालिका, वातावरण, सार्वजनिक प्रशासन, सुरक्षा, आमसञ्चार, धार्मिक, सांस्कृतिक लगायत अन्य सम्बन्धित क्षेत्रगत निकायहरूसँग सम्वद्ध सरोकारवालाहरू समेटिएका हुन्छन् । जस मार्फत उनीहरूको संस्थागत पहिचान, सामथ्र्य र योगदान उजागर गरी उनीहरूलाई सामूहिक रूपमा समुदायको सरसफाइमा लागि पर्न उर्जाशील, बेगवान र तम्तयार पारिन्छ ।
जसरी युद्धभूमिमा सैनिकहरू दुश्मन विरुद्ध सशक्त रूपले प्रस्तुत भई विजय हासिल गर्दछन्, त्यसैगरी क्षेत्रगत प्रज्ज्वलनको प्रभावले क्षेत्रगत सरोकारवालाहरू पनि व्यापक रूपमा सङ्गठित र परिचालित भई आ–आफ्नो संस्थागत सामथ्र्यको भरपूर प्रयोग गरी खुला दिसा उन्मूलन गर्ने उत्प्रेरणामूलक र आक्रामक अभियानका साथ व्यक्ति, घर र सामुदायमा पुगेर प्रत्येक व्यक्तिलाई जागृत गर्न पुग्दछन् । यस्तै, जसरी विभिन्न स्रोतहरूमा छरिएको पानीलाई पोखरीमा जम्मा गरी पाइपबाट खसालिएको पानीको शक्तिबाट टर्बाइन घुमाएर बिजुली निकालिन्छ, ठीक त्यसैगरी यत्रतत्र छरिएका विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई गुरूयोजनामा व्यवस्था भएअनुरूपका विभिन्न तहका समन्वय संयन्त्रहरू मार्फत एकै थलोमा ल्याई क्षेत्रगत प्रज्ज्वलन मार्फत उनीहरूलाई उर्जाशील र गतिशील बनाई समुदायलाई व्यापक रूपमा अभिप्रेरित गरी तीव्रतर र देशव्यापी रूपमा खुला दिसामुक्त अवस्था हासिल गर्न सकिएको छ । गुरूयोजनाको भावना अनुरूप खुला दिसामुक्त अवस्था हासिलन गर्नका लागि क्षेत्रगत प्रज्ज्वलनको प्रयोग एक शर्त बनेको छ ।
त्यसैले सामुदायिक प्रज्ज्वलनमा जस्तो स–साना समुदायमा खुला दिसामुक्त अवस्था हासिल गर्ने जस्तो साँघुरो दायरामा मात्र सीमित नभई नेपालको माटोमा मौलिक रूपमा सिर्जना र प्रयोग भएको क्षेत्रगत प्रज्ज्वलन मार्फत पालिकालाई द्रूततर गतिमा खुला दिसामुक्त बनाउँदै तीव्रतर रूपले समग्र जिल्ला अनि अन्त्यमा देशलाई नै खुला दिसामुक्त बनाउन उल्लेख्य सफलता मिलेको छ ।
उदाहरणका लागि सन् २०१२ मा अछाम जिल्लामा नेपालको पहिलो बृहत सरसफाइ सम्मेलन आयोजना गरिएको थियो । त्यस सम्मेलनमा सशक्त रूपमा प्रयोग भएको क्षेत्रगत प्रज्ज्वलन मार्फत व्यापक रूपमा समुदाय र राजनीतिकर्मीहरूको क्रियाशीलता विस्तार हुन गई आठ महिनाको अवधिमै जिल्लाका तत्कालीन ११ वटा गाविस खुला दिसामुक्त घोषित भए । त्यसैले अछाम जिल्ला सरसफाइमा सिकाईको केन्द्र बन्न पुगी देशको पश्चिम भागमा सरसफाइ अभियानलाई सशक्त रूपमा उत्प्रेरित गर्न सफल भयो । त्यसरी नै पछिल्ला दिनहरूमा पहाड र तराईका जिल्लाहरूमा आयोजित यस्ता सरसफाइ सम्मेलनहरूमा सरोकारवालाहरूलाई अभिप्रेरित गर्न क्षेत्रगत प्रज्ज्वलनको सशक्त र व्यापक रूपमा प्रयोग भई उल्लेखनीय उपलब्धि हासिल भयो ।
उदाहरणका लागि प्रथम तराई सरसफाइ सम्मेलन, जिल्ला सरसफाइ सम्मेलनहरू र समुदाय तहका मौलिक औजार हरूको प्रभावले गर्दा उच्च जनसंख्या भएका तर सन् २०१० सम्म औसत २० प्रतिशत भन्दा कम घरधुरीमा मात्र चर्पीको पहुँच रहेका तराईका आठ जिल्लाहरू (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) मा सन् २०१४ पछि मात्र सघन रूपमा सरसफाइ अभियान शुरु भए तापनि ठूलो संख्यामा घरधुरीमा चर्पी निर्माण र प्रयोग गरी सन् २०१९ सम्म ती सबै जिल्लाहरू खुला दिसामुक्त घोषित भए ।
देशमा क्षेत्रगत प्रज्ज्वलनको अतिरिक्त प्रज्ज्वलनका अन्य कैयन नवीन विधिहरूको अवलम्वन भएको छ । व्यापक रूपमा सञ्चालित आम सञ्चारको सृजनशील (क्रिएटिभ) र आक्रामक (एग्रेसिभ) दुवै शैलीको अहम भूमिका रहेको छ । फलस्वरूप सरसफाइ सम्वन्धी सफलताको निरन्तर र सृजनशील प्रचार प्रसार र असफलताको निरन्तर र आक्रामक निगरानी भएको छ । त्यसैले चर्पी निर्माण र प्रयोगका लागि समुदायमा व्यापक मनोवैज्ञानिक उत्प्रेरणाका साथै भारी सामाजिक दबाब सिर्जना हुन पुगेको छ । सञ्चार क्षेत्रबाट सञ्चालित ‘नराम्रो काम औंल्याउने र राम्रो काम फैलाउने’ अभियानमा जिल्ला समन्वय समितिका प्रमुख र पदाधिकारी, खानेपानी, सरसफाइ र स्वच्छता समन्वय समितिका सदस्य, गाउँपालिका र नगरपालिका प्रमुख एवं पदाधिकारी, राजनीतिकर्मी, प्रशासक एवं सुरक्षाकर्मी, उपभोक्ता समितिका पदाधिकारी, शिक्षक र विद्यार्थी, निजी उद्यमी, स्वास्थ्यकर्मी, युवा समूह, नागरिक समाजका प्रतिनिधि, महिला समूहका पदाधिकारी, धार्मिक र संस्कृतिक समूहमा आबद्ध व्यक्ति र विकास साझेदार संघ संस्थाका सहजकर्ता एवं समाजका अगुवाहरूको अटुट साथ र सहकार्य रहेको छ ।
उदाहरणका लागि आम सञ्चारका माध्यमद्वारा ‘प्रधानमन्त्रीको जिल्ला पनि खुला दिसामुक्त हुन नसकेको’, ‘खुला दिसाका कारण पवित्र खोला नाला ढलमा परिणत हुन पुगेको’ र ‘सरसफाइ अभियन्ताद्वारा कच्ची चर्पी भत्काउने अभियानको थालनी गरिएको’ जस्ता सनसनीपूर्ण समाचारको सम्प्रेषण गर्दा सरोकारवालाहरू मन भित्रैबाट जागृत हुन पुगी झापा जिल्लामा सरसफाइ अभियानको थालनी भएको करीव एक वर्षको छोटो अवधिमै हजारौं घरधुरीमा चर्पी निर्माण र प्रयोग हुन पुगी जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा हुन पुगेको हो । यस जिल्लाले सरसफाइका स्थानीय अभियन्ताहरू परिचालन मार्फत धमाधम कच्ची चर्पीहरू भत्काई स्थानीय सरकारको सहयोग र समर्थनमा ‘अशक्त व्यक्तिलाई लाई सहयोग गर्ने’ र ‘सक्षम व्यक्तिलाई मनोवैज्ञानिक उत्प्रेरणा र दवाव दिने’ रणनीति अवलम्वन गरी घरधुरीमा पक्की चर्पी सहितको खुला दिसामुक्त झापाको चिनारी स्थापित गर्न सक्यो । विगतको मान्यता अनुरूप समुदायलाई कच्ची चर्पीको प्रयोगमा बानी बसाल्न सकेको खण्डमा क्रमशः चर्पी प्रयोग गर्ने अभ्यास विकास हुन पुगी समय अन्तरालमा समुदायका हरेक व्यक्ति स्वतःस्फूर्त रूपमा पक्की चर्पीको निर्माण र प्रयोग गर्न पुग्दछन भन्ने हो, जसलाई नेपालको अनुभवले मिथ्या साबित गरेका छन् । यी आफैंमा देशको सरसफाइ प्रवर्धनका मौजुदा पद्धतिको विनिर्माण सम्बन्धी केही प्रतिनिधिमूलक उदाहारणहरू हुन् ।
मोरङ जिल्लामा पनि यस्तै विनिर्माणको प्रयोग भएको छ । जहाँ स्थानीय पालिकाद्वारा खुला दिसा गर्ने व्यक्तिलाई आदरपूर्वक चिया नास्ता गराउने र उनीहरूलाई फूलमाला लगाई सार्वजनिक रूपले सम्मान गरी चर्पीको निर्माण र प्रयोगका लागि मनोवैज्ञानिक तवरले उत्प्रेरित गर्ने कार्यको थालनी भएको छ । साथै कपिलवस्तु जिल्लामा पनि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिद्वारा चर्पी नबनाउने घरधुरीलाई चर्पी निर्माणका लागि आग्रह सहितको अनुरोध पत्र प्रेषित गरी सरसफाइ प्रवर्धनमा नवीन प्रयोग भएको छ । त्यसैगरी बर्दिया जिल्लामा विद्यार्थीहरूले आफ्ना अविभावकहरूसँग सार्वजनिक कार्यक्रममा चर्पीको भिख मागेको कार्यले पनि समुदायमा सरसफाइ प्रवर्धनमा सकारात्मक प्रभाव पारेको छ ।
त्यस्तै, तराई मधेशका जिल्लाहरूमा मनाइने छठ जस्तो महान् सांस्कृतिक पर्वलाई पनि सरसफाइ प्रवर्धनको प्रभावकारी अवसरको रूपमा प्रयोग गरिएको छ । तसर्थ ‘दण्ड’ को साटो ‘प्रशंसा’ को प्रयोग भई नेपालको परम्परागत तवरले चर्पी प्रवर्धन गर्ने विधिमा क्रमिक रूपमा विनिर्माण हुँदै गएको छ, जो दिल प्रधान सोचमा पोषित छ भने नेपालको सरसफाइ क्षेत्रमा देखा परेको विनिर्माणको यो प्रक्रिया क्षेत्रगत प्रज्ज्वलनले सिर्जना गरेको अनुकुल वातावरण बीच फस्टाउन सकेको देखिन्छ ।
सिकाई र सन्देश
क्षेत्रगत प्रज्ज्वलन र दिल प्रधान विधिले सिर्जना गरेको सरसफाइको उत्साहप्रद रङ्गमञ्चमा समुदाय लगायत सम्बन्धित क्षेत्रगत सरोकारवालाहरू ‘म’ को साटो ‘हामी’ भन्ने अनुभूतिका साथ प्रज्ज्वलित भएका छन् । फलस्वरूप सरसफाइका लागि उनीहरूमा निहित ख्याति, स्रोत, सीप, सामथ्र्य र नेतृत्वको उच्चतम र सामुहिक रूपमा परिचालन भएको छ भने परिवर्तनका लागि थप शक्ति हासिल भएको छ । सरसफाइको क्षेत्रमा फरक रूपले प्रस्तुत सचेतीकरण र सशक्तिकरणका यी तमाम मौलिक प्रयोगहरू मार्फत विभिन्न सरोकारवालाहरू बीच आपसी सदभाव, सहयोग र सहकार्य विकसित हुँदै नेपालको सामाजिक–सांस्कृतिक एकीकरण, विकास र रूपान्तरणमा नयाँ युगको थालनी हुन पुगी नेपाल दिगो विकास लक्ष्यको मर्म अनुरूप पूर्ण सरसफाइमा अघि बढेको छ ।
खुला दिसामुक्त नेपाल :यात्रा वृत्तान्तबाट साभार गरिएको ।


1441 पटक हेरिएको 

