
काठमाडौ : वाइन टु वाटर नेपालले सञ्चालन गरेको हात स्वच्छता अभियानबाट ४ हजार जना लाभान्वित भएका छन् । हात स्वच्छता अभियान अन्तर्गत वाइन टु वाटरले सञ्चालन गरेको सामुदायिक संलग्नता, स्वास्थ्य संस्थाहरुलाई सहयोग, स्कूल हात स्वच्छता कार्यक्रम र रेडियो जनचेतना कार्यक्रम मार्फत यत्ति धेरैले लाभ लिएका हुन् । वाइन टु वाटरले नेपाल सरकारको पहललाई समर्थन गर्न असोज १३ देखि कार्तिक १५ सम्म विभिन्न हात स्वच्छता अभियानहरु सञ्चालन गरेको थियो ।
यी हुन् वाइन टु वाटरले सञ्चालन गरेका कार्यक्रमहरु
सामुदायिक संलग्नता कार्यक्रम

यस कार्यक्रम अन्तर्गत वाइन टु वाटर नेपालले काठमाडौंको दक्षिणकाली नगरपालिकामा स्थानीय संस्था शिखरापुर सामुदायिक शिक्षा केन्द्रसँग मिलेर महिला समूह, सीमान्तकृत समुदाय, युवा समूह र बाल समूहहरूमा हात स्वच्छता कार्यक्रमहरू आयोजना गरिएको थियो । हात स्वच्छतालाई प्रबर्द्वन गर्ने र समुदायमा हात स्वच्छता र व्यक्तिगत सरसफाइको महत्वबारे सचेत गराउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा व्यक्तिगत सरसफाइको महत्व, हात धुने चरणहरु र सामाजिक दुरी तथा मास्क प्रयोगको सही तरिकाबारे जानकारी गराईएको थियो ।
कार्यक्रमको अन्तिममा व्यक्तिगत सरसफाइका लागि चाहिने (WASH Kit) सामग्री पनि वितरण गरिएको थियो । कार्यक्रम पछि १० जना मानिसहरुलाई सही तरिकाले हातधुने चरण सिकाउन प्रण लिन लगाइएको थियो । कार्यक्रममा युवाहरुलाई स्थानीय सामाग्रीको प्रयोग गरेर आफ्नै गाउँघरमा हात धुने धारा बनाउन पनि लगाईएको थियो ।
यसै अभियानको क्रममा स्थानीय संस्था माहुली सामुदायिक विकास केन्द्र (MCDC) को समर्थनमा सप्तरीको अग्निसैकृष्णसव्रन नगरपालिका र शम्भुनाथ नगरपालिकामा ३५० जना सहभागीहरुलाई हात स्वच्छताको महत्वबारे सहजीकरण गराईएको थियो ।
स्वास्थ्य संस्थाहरुलाई सहयोग कार्यक्रम

यस कार्यक्रम अन्तर्गत शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका सरसफाइ सम्बन्धी २५ जना कर्मचारीहरुलाई हात स्वच्छता बारे १ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको थियो । सरसफाइ सम्बन्धी कर्मचारीहरुले आधिकारिक तालिमहरु नलिएको र धेरै नै जोखिमपूर्ण अवस्थामा काम गरिरहेको अवस्थामा कोभिड १९ महामारीको समयमा सरसफाइ सहयोगी र फोहोर प्रबन्धकहरुलाई हात स्वच्छताको बिषयमा तालिम दिईएको हो । कार्यक्रममा वाइन टु वाटर नेपालकी राष्ट्रिय निर्देशक रोशनी कार्की सापकोटा र अस्पतालकी IPC इन्चार्ज ज्ञानी महर्जनद्वार हात स्वच्छता, chain of transmission, मास्कको उचित प्रयोग तथा ब्यवस्थापनबारे तालिम प्रदान गर्नुका साथै सहभागीहरुलाई व्यवहारिक रुपमा हात धुने सही चरणबारे जानकारी गराईएको थियो । कार्यक्रमको अन्त्यमा अस्पताललाई झोल साबुन र सहभागीहरुलाई Hygiene kit पनि वितरण गरियो । साथै किर्तिपुर आँखा अस्पतालमा पनि झोल साबुन, पोस्टर र IEC सामग्री वितरण गरियो ।
यसै कार्यक्रम अन्तर्गत युनिसेफ नेपालसँगको समन्वयमा भक्तपुर अस्पतालमा ५ वटा हात धुने स्टेशनहरू जडान गरेर अस्पतालको हात स्वच्छतामा सहयोग गरियो । यो अस्पतालमा प्रतिदिन २५० व्यक्तिहरुको आवगमन हुने गरेको छ ।
स्कूल हात स्वच्छता कार्यक्रम

यस कार्यक्रम अन्तर्गत बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकामा रहेका १५ वटा विद्यालयलाई ३० थान हात धुने स्टेशन, ९० थान साबुन र हात स्वच्छताका पोस्टरहरु प्रदान गरियो । विद्यालय खुल्ला भएपछि विद्यार्थीहरुलाई हात स्वच्छता कायम राख्न सहज वातावरण बनेको विद्यालयले जनाएको छ । विद्यालयहरुमा लगभग १२०० जना विद्यार्थी अध्ययन गर्दै आएका छन् ।
रेडियो जनचेतना कार्यक्रम
यस अभियानमा यी कार्यक्रम बाहेक विभिन्न जिल्लाहरु चितवन, काठमाडौं, सप्तरी र बाग्लुङमा रेडियो मार्फत विभिन्न जनचेतनामूलक सन्देशहरु प्रसारण गर्दै आएको छ । रेडियो जनचेतना कार्यक्रमद्वारा १ लाख श्रोतासम्म हात स्वच्छताका सन्देशहरु पुर्याउने लक्ष्य लिएको वाइन टु वाटरले जनाएको छ ।
कोरोना भाइरसको जोखिम नेपालमा बढ्दै गरेको अवस्थामा हात स्वच्छतालाई प्राथमिकता दिन आवश्यक रहेको वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक रोशनी कार्की सापकोटाले बताउनुभयो । ‘भाइरसको फैलावट रोक्नको लागि सही चरणहरु नियमित रूपमा पालना गरेर हात धुन अत्यन्तै महत्त्वपूर्ण छ । संक्रामक रोगका कीटाणुहरु फैलनमा असुरक्षित हातको मुख्य भूमिका रहन्छ । त्यसकारण कीटाणुको फैलावट र त्यसबाट हुनसक्ने संक्रमण रोक्नका लागि हात स्वच्छतालाई प्राथमिकता दिन अत्यन्तै आवश्यक छ ।’ उहाँले भन्नुभयो ।



1771 पटक हेरिएको 

