सरसफाइ नमूना जिल्ला चितवनदेखि खुला दिसामुक्त नेपालसम्म

♦ मदन कुमार मल्ल

नेपालमा सरसफाइ अभियानको व्यवस्थित थालनी गुरूयोजना तर्जुमा पश्चात भए तापनि त्यस अघि पनि सरसफाइ कार्यक्रमहरू सञ्चालित नभएका होइनन् । संगठित रूपमा सञ्चालन नभए पनि त्यतिखेर सञ्चालित सरसफाइ कार्यक्रमहरूबाट हासिल भएका अनुभव र सिकाईहरू भने नेपालको समग्र खुला दिसामुक्त अभियानका आधारस्तम्भ बन्न पुगे । गुरूयोजना लगायतका नीतिगत प्रावधानहरूको तर्जुमामा यी अनुभव र सिकाईहरू महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा उपयोग भएका छन् ।

विगतमा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले सञ्चालन गरेका सरसफाइ कार्यक्रमहरूमा अन्तर क्षेत्रगत समन्वय र सहकार्यको अभाव थियो । यसैबीच नेपालमा सरसफाइ प्रवर्धनमा संलग्न संघ संस्थाहरूले अब सञ्चालन गरिने सरसफाइ अभियान फाट्टफुट्ट नभएर निश्चित क्षेत्रमा सघन र ऐक्यबद्ध रूपले सञ्चालन गर्नुपर्ने धारणा अघि सारे । यही धारणा अनुरूप तत्कालीन राष्ट्रिय सरसफाइ कार्य सञ्चालन समिति तथा खानेपानी तथा ढल निकास विभागको अगुवाईमा सर्वप्रथम चितवन जिल्लालाई खुला दिसामुक्त बनाई ‘सरसफाइमा नमुना जिल्ला’ बनाउनका लागि काम गर्ने निश्चय गरियो, जुन त्यतिखेरको सन्दर्भमा निकै सिर्जनशील तर महत्वाकांक्षी कदम थियो ।

चितवन जिल्ला : सरसफाइको प्रयोगशाला

‘सन २००९, चितवन हेर्न जाऊँं’ भनेर खुला दिसामुक्त घोषणाको समयसीमा नै किटान गरेर शुरु गरिएको यो कदममा अपनाइएका विधिहरू, गरिएका सहकार्यले लिइएका नीतिगत निर्णयहरू वास्तवमा दूरगामी महत्वका बन्न पुगे । यहाँ प्राप्त भएका व्यावहारिक सिकाईहरूलाई अन्य जिल्लाहरूमा अवलम्बन गर्दै लगियो । प्रत्येक जिल्लामा
हासिल भएका अनुभव र सिकाईहरू समयक्रमसँगै परिमार्जित हुँदै गए । यो क्रम नेपालको ७७ औं जिल्ला खुला दिसामुक्त हुँदासम्म पनि कायमै रह्यो । यस अर्थमा चितवन जिल्ला नेपालको सरसफाइ आन्दोलनको अग्रदूत र खुला प्रयोगशालाका रूपमा चित्रित हुन पुग्यो । कमल अधिकारीद्वारा लिखित पुस्तक ‘नेपालको सरसफाइः विगत, वर्तमान र भविष्य (२०७२)’ मा लेखकले चितवन जिल्लालाई ‘सरसफाइको प्रयोगशाला’को दर्जा दिनु भएको छ । विविध कारणले यो जिल्ला पूर्व घोषित समय सीमा भन्दा करिव दुई वर्षपछि मात्र खुला दिसामुक्त हुन सक्यो । तर नेपालको सरसफाइ अभियानमा सिर्जनशीलता र गतिशीलता ल्याउन चितवन जिल्लाको मौलिक र विशिष्ट चिनारी रहेको छ ।


राष्ट्रिय सरसफाइ कार्य सञ्चालन समितिका तर्फबाट चितवन जिल्लामा सरसफाइ कार्यक्रमको संयोजकका रूपमा काम गर्ने अवसर मेरा लागि गौरवको विषय त थियो नै, तर यो काम निकै चुनौतीपूर्ण पनि थियो । किनभने त्यतिखेर नागरिकमा चेतनाको स्तर निकै न्यून थियो, सरसफाइ प्रति अहिलेको जस्तो सामाजिक ग्रहणशीलताको विकास भइसकेको थिएन, सञ्चार माध्यमले सरसफाइका मुद्दालाई महत्व दिएका थिएनन् । त्यतिखेर आम समुदायमा सरसफाइ प्रवर्धनको कार्य यस क्षेत्रमा जागीर खाने व्यक्तिहरूको मात्र जिम्मेवारी हो भन्ने गहिरो छाप परेको थियो । सतही रूपमा हेर्दा चितवन जिल्लालाई सुगम र शिक्षित मानिसको वाहुल्य भएको ठानिए तापनि माडी क्षेत्र र पहाडी क्षेत्रहरूको अवस्था मध्यभागको भन्दा नितान्त फरक थियो । करिब डेढ दशक अघि ती क्षेत्र बढी विकट र पिछडिएको अवस्थामा थिए । यो जटिल परिस्थितिमा सरसफाइ कार्यक्रमलाई त्यहाँ विद्यमान विकास निर्माणका अन्य कार्यक्रमहरूसँगै एकीकृत गरेर अघि बढ्ने निश्चय गरियो, जुन प्रयोग कालान्तरमा गएर अत्यन्त सफल र फलदायी साबित भयो ।

विद्यालय तथा समुदायको अगुवाईमा सञ्चालित पूर्ण सरसफाइ पद्धति, ‘इच वन टिच वन’ यातायात व्यवसायीहरूसँगको सहकार्यमा राजमार्ग तथा राजमार्ग आसपासका क्षेत्रमा चर्पी र सरसफाइको आवश्यकता सम्बन्धी चेतना जागरण कार्यक्रम, स्वास्थ्य संस्था (चौकी) हरूसँगको सहकर्यमा सञ्चालित व्यक्तिगत सरसफाइ र खासगरी साबुन पानीले हात धुने कार्यको व्यावहारिक अभ्यास, सरसफाइमा सहकारीले लगानी गर्ने, गाविसबाट सरसफाइ सम्बन्धी आचार संहिता जारी गर्ने, अशक्त घरधुरीलाई चर्पी निर्माणका लागि सामुदायिक वन उपभोक्ता समितिबाट काठपात प्रदान गर्ने, विवाहमा उपहार स्वरूप सरसफाइका सामग्री प्रदान गर्ने, इकोसान गाउँ निर्माण गर्ने जस्ता नवीन कुराको व्यवस्थित थालनी चितवन जिल्लाबाटै भएको थियो । यसका साथै विगतदेखि खुला रूपमा दिसा गर्ने गरिएका स्थललाई सफा गरी देवी देवताको मूर्ति स्थापना गरी खुला स्थानमा दिसा गर्ने प्रचलन लाई निरुत्साहित गर्ने, हेडमास्टरले खुला रूपमा गरिएको दिसा पुर्दै हिँड्ने र चर्पी नबनाउने आफ्ना अभिभावकहरूलाई दबाब दिनका लागि बालबालिकाले आफ्नै घरको भान्छामा दिसा गर्ने जस्ता क्रान्तिकारी कदमको समेत थालनी गरी देशको सरसफाइलाई तरङ्गित पारेको इतिहास पनि बोकेको छ चितवन जिल्लाले ।

खानेपानी तथा सरसफाइ प्रवर्धनका क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरूसँगको सहकार्यमा सञ्चारकर्मीहरूलाई सरसफाइ सम्बन्धी अभिमुखीकरण र सरसफाइ सम्बन्धी सामग्री उत्पादन तथा प्रकाशन÷प्रसारणमा प्रतियोगितात्मक अभियान सञ्चालनको श्रीगणेश पनि यही जिल्लाबाट भएको थियो । जसले गर्दा सरसफाइ र खुला दिसामुक्त कार्यक्रमले जनमानसमा परिचित हुने मौका पायो । यसरी खुला दिसामुक्त अभियानले शैशवकालमै अन्तर क्षेत्रगत सहकार्यको उत्कृष्टता हासिल ग¥यो । चितवन जिल्लाबाट अभियानकै प्रारम्भमा हासिल भएका सकारात्मक अनुभवहरूले कास्की, तनहुँ लगायतका अन्य जिल्लाहरूमा अझ बढी आत्मविश्वासका साथ कार्य गर्न सघाउ पु¥यायो ।

त्यतिखेरसम्म चितवनका कतिपय समुदायमा पूर्ण सरसफाइको अवधारणा अनुरूप काम गरिएको थियो । कतिपय घर, विद्यालय र समुदायहरूलाई सरसफाइमा नमूना स्थलका रूपमा विकास गरिएको थियो । जसमा खुला दिसामुक्त अवस्थाको प्राप्तिपछि व्यक्तिगत, घरायसी तथा वातावरणीय सरसफाइका पक्षहरूमा जोड दिइएको थियो । सबैभन्दा महत्वपूर्ण कुरा के छ भने गुरूयोजना तर्जुमाका लागि खटिएका विज्ञको टोलीद्वारा सर्वप्रथम चितवन जिल्लाबाटै स्थलगत अध्ययन थालनी गरी गुरूयोजनाको आधारभूत रणनीतिक सोच र दृष्टिकोण समेत विकास गरिएको थियो । त्यसैगरी कतिपय समयमा त चितवनमा कैयन विदेशी सरसफाइ प्रवर्धक र अनुसन्धानकर्ताको जमघट नै हुने गर्दथ्यो । स्मरणीय छ, चितवनलाई सरसफाइ नमूना जिल्लाको रूपमा विकास गर्न तत्कालीन राष्ट्रिय सरसफाइ कार्य सञ्चालन समिति र खानेपानी तथा ढल निकास विभागको नेतृत्वदायी भूमिका रहेको थियो भने युनिसेफ नेपाल, नेपाल स्वास्थ्यको लागि पानी (नेवा), ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति, विश्व स्वास्थ्य संगठन, यु.एन. ह्याबिट्याट, नेपाल रेडक्रस सोसाइटी, तत्कालीन जिल्ला विकास समिति र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, फ्रेन्डससीप क्लिनिक, लुमन्ती र जिल्लास्थित सरकारी निकाय, गाविस र नगरपालिका एवं विकास साझेदारको उल्लेखनीय योगदान रहेको थियो ।

तराईका जिल्लाहरूमा सरसफाइ अभियान : जहाँ हिलो त्यहीँ कमल

चितवनबाट शुरु भएको यात्राले कास्की, तनहुँ र म्याग्दी हुँदै कालीकोटतिरबाट धावा बोल्न थालेपछि बिस्तारै पहाडी जिल्लाहरूमा अभियान व्यापक बन्न थालेको थियो । तर सन् २०१३ सम्म पनि सरसफाइमा खासै प्रगति नदेखिएका मध्य तथा पूर्वी तराइका जिल्ला र केही पहाडी जिल्लाहरू लक्ष्य प्राप्तिमा तगारो बन्ने हुन कि भन्ने पूर्वानुमान गर्न थालिएको थियो । त्यसैले राज्य र विकास साझेदारहरूले विशेष रूपमा आक्रामक सरसफाइ अभियानका साथ यी क्षेत्रमा ध्यान केन्द्रित गर्न पुगे ।

खासगरी तराई क्षेत्रमा विद्यमान केही विशिष्ट अवस्थाले गर्दा यहाँ सरसफाइ अभियानलाई अघि बढाउन सजिलो थिएन । युगौंदेखि बस्ती वरपर प्रशस्त खुला ठाउँ भएको हुनाले यहाँ खुला ठाउँमा शौच गर्ने कार्यलाई यहाँ अस्वाभाविक मानिंदैनथ्यो । जेठाजु/ससुराले प्रयोग गरेको चर्पीमा बुहारी नजाने जस्ता कुप्रथा कायम रहेको थियो । विपन्न र भूमिहीनहरूको बढी बसोबास, बाढीले गर्दा बनेका संरचनाहरू बारम्बार भत्किने समस्या, भूमिगत पानीको सतह नजिकै भएकाले खाडल छिटो भरिने र दिसा नकुहिने जस्ता समस्याले गर्दा पनि यहाँ सरसफाइ अभियान बालुवामा पानी हाले झैं भइरहेको थियो । तराई क्षेत्रका इँटाभट्टा, चिया बगान (खासगरी झापा र मोरङ जिल्लामा अवस्थित) हरूमा मौसमी कामदारहरू आउने भएकाले उनीहरूका लागि व्यवस्थित चर्पीको अभाव हुँदो रहेछ । तराई क्षेत्रमा मुख्य राजमार्गको धेरै क्षेत्र पर्ने भएको र यात्रुहरूका लागि व्यवस्थित र पर्याप्त चर्पी नहुनाले गर्दा राजमार्ग छेउछाउलाई खुला दिसामुक्त क्षेत्र बनाउने कार्य पनि चुनौतीपूर्ण थियो । यसबाहेक भारततिरबाट आएर वर्षको तीन–चार महिना बस्ने घुमन्ते प्रवृत्तिको जमातका कारण पनि यस्तो क्षेत्रमा खुला दिसा गर्ने चलन रोक्न त्यत्ति सजिलो भने थिएन ।

सबैभन्दा ठूलो व्यवधान चाहिँ विगतमा सञ्चालित अनुदानमुखी सरसफाइ कार्यक्रमले मानिसहरूमा जगाएको आशे प्रवृत्तिबाट उब्जिएको थियो । मुलुकका सबै भागमा धेर थोर यसको असर थियो, यही आशे प्रवृत्तिले गर्दा मानिसहरू बुझ पचाएर बसेका थिए । विभिन्न गाउँमा गएर मानिसलाई चर्पी आफ्ना लागि हो र कुनै अनुदान बेगर नै चर्पी बनाउनु पर्छ भन्ने कुरा बुझाउन अभियन्ताहरूले धेरै नै मेहनत गर्नु पर्‍यो । तर सरकार, विकास साझेदार र नागरिक समाजहरूको हातेमालोले गर्दा असंभव जस्तै ठानिएका ठाउँहरूमा अत्यन्त सन्तोषजनक रूपमा काम हुन थाले ।

सञ्चार माध्यमको उल्लेखनीय सहयोग पाएकाले अभियान अघि बढाउन सजिलो भयो भने सम्बन्धित सरकारी निकायहरूले सरकारी सेवा सुविधा प्राप्त गर्न अनिवार्य रूपमा चर्पीको निर्माण र प्रयोग गर्नु पर्ने घोषणा गरेकाले चर्पी निर्माणमा तीव्रता आयो । सरसफाइ अभियानप्रति नकारात्मक भाव राख्ने समुदायका व्यक्ति, जो अरुलाई प्रभाव पार्न सक्ने खालका थिए, उनीहरूलाई खोजी खोजी तालिम दिएर सरसफाइ कार्यक्रमको अगुवा बनाइयो । यसले गर्दा अप्ठ्यारा मानिएका समुदायमा काम गर्न सजिलो भयो ।

यसैगरी, त्यतिखेर लिइएका अन्य नीतिगत निर्णयहरू सरसफाइ अभियानमा महत्वपूर्ण भए, जसका लागि तराई सरसफाइ सम्मेलन (टेकोसान) र अन्तरजिल्ला समन्वय समितको विस्तारित कार्यशालाको भूमिका अहम् बन्न पुग्यो । अभियानको शैली परिवर्तन गर्दै जिल्ला तहको समन्वय समितिका बैठकहरू जिल्ला सदरमुकामको साटो
चर्पी निर्माण नभएका समुदायमा नै गर्ने गरियो । बैठकका लागि जिल्लाबाट उच्च पदस्थ अधिकारी र सुरक्षा निकायका प्रतिनिधि लगायतका व्यक्तिहरू समुदायमा पुगेपछि त्यस्ता ठाउँमा रातारात परिवर्तन आयो । यसैगरी, सरसफाइ प्रवर्धनमा ठूलो कठिनाईको सामना गरिरहेका समुदायका घर घरमा अभियन्ताहरू डेरा सरेर सबै घरमा चर्पी बनेर प्रयोग हुन थालेपछि मात्र त्यहाँबाट निस्कने ‘डेराडण्डा’ को नीति लिइयो, जसले गर्दा चर्पी बन्नै नसक्ने भनिएका ठाउँहरूमा पनि चर्पी बने ।

शुरुमा केही सामाजिक दबाब र आचार संहिताको बलले काम गराइए पनि अभियन्ताहरूको अथक मेहेनतले मानिसहरूले चर्पी आफना लागि हो भन्ने बुझेकैले आज हामी खुला दिसामुक्त राष्ट्रको नागरिक बन्न पाएका छौं । यस सिलसिलामा एउटा रोचक प्रसङ्गको उल्लेख गर्नै पर्ने हुन्छ । हाम्रो देशको तराई क्षेत्रका सीमा पारीका समुदायमा राम्रो अनुदान पाएकाले राम्रा चर्पी बनेका देखिन्छन् । हाम्रातिर मानिसहरूले आफ्नो आर्थिक हैसियत अनुसारका बनाएको हुनाले चर्पी हेर्दा त्यत्ति आकर्षक लाग्दैनन् । तर हाम्रा तिरका चर्पी नियमित रूपमा प्रयोग भएका छन् । यही नै हो हाम्रो देशको अनुदान विहीन सरसफाइ सामाजिक अभियानको विशिष्टता ।

सरसफाइ : अन्य विकास निर्माणको उत्प्रेरक तत्व

नेपालमा सञ्चालित खुला दिसामुक्त कार्यक्रम सबैको साझा एजेण्डा बन्नु र ऐतिहासिक रूपमा सफल बन्नुका कैयन् कारणमध्ये एउटा महत्वपूर्ण पक्ष हो, चितवन जिल्लादेखि नै शुरु भएको विकासका अन्य क्रियाकलापहरूसँग गरेको सहकार्य गर्ने नीति । खुला दिसामुक्त अभियानमाकै प्रभाव स्वरूप रासायनिक मल मुक्त क्षेत्र, पूर्ण साक्षरतायुक्त क्षेत्र, पूर्ण खोपयुक्त क्षेत्र, प्लाष्टिक झोला मुक्त क्षेत्र, विषादी मुक्त क्षेत्र जस्ता अवधारणाहरूले जन्म लिए र सोही अनुरूप काम पनि भए । खुला दिसामुक्त कार्यक्रमलाई सबै ठाउँमा एकल कार्यक्रमका रूपमा मात्र अघि बढाइएको थियो भने यस्ता परिणामहरू हासिल हुने थिएनन् होला । कतिपय स्थानमा त हामीसँग हाम्रो गाउँलाई मदिरामुक्त क्षेत्र बनाइदिनु पर्‍यो भनेर समुदायका महिलाहरूले अनुरोध गरे, जुन खुला दिसामुक्त अभियानले विकासका अन्य आयामहरूमा सकारात्मक प्रभाव पारेको उदाहरण थियो । यसरी खुला दिसामुक्त अभियानरूपी विकासको एउटा अवसरले अरु अवसरहरूको ढोका खोलिदिन्छ भन्ने कुराको उत्कृष्ट उदाहरण बन्न पुग्यो ।

स्थानीय औजार : सफलताको आधार

चितवनसगैँ देशका पश्चिमका जिल्लाहरू अनि तराईका जिल्लाहरू हुँदै सोलुखुम्बु र अन्त्यमा समग्र नेपाल नै खुला दिसामुक्त अवस्था हासिल गर्ने कार्यमा स्थानीय औजारहरूको महत्वपूर्ण योगदान रह्यो । त्यसैले विकासका अन्य प्रयासहरू देशको पूर्वतिरबाट प्रारम्भ भए पनि खुला दिसामुक्त अभियानले भने पश्चिमतिरबाट गति लिएको सबैमा घाम जस्तै छर्लङ्ग छ । चितवन लगायत देशका विभिन्न जिल्लाहरूमा सिर्जित मौलिक औजार र उपायहरूको व्यापक प्रयोगका कारण विपन्न तथा भूमिहीनहरूले चर्पी बनाउन ढिला गर्छन् वा टेर्दैनन भन्ने पूर्वानुमान गलत साबित भयो ।

जब कि, विगतमा सरसफाइ अभियानमा तुलनात्मक रूपमा चेतनशील समुदायमा नै अपेक्षाकृत तत्परताको कमी रहेको अवस्थामा थियो । यसका साथै भौगोलिक विकटता र विपन्नता जस्ता कुराहरू बाधक बन्न सकेनन् र तराईमा सरसफाइ गर्न गाह्रो छ भन्ने युगौं देखिको सोच पनि मिथ्या साबित हुन पुग्यो ।

सबै सरोकारवालाहरू सघन रूपमा जुटी सहकार्य गर्दा उनीहरूको सीप, स्रोत, साधन र शक्तिको समुचित रूपमा संयोजन हुन पुगी ठूलो क्षेत्रमा पनि छोटो समयावधिमा ह्वात्तै खुला दिसामुक्त अवस्था हासिल गर्न सकिन्छ भन्ने चितवन जिल्लाको मौलिक सिकाईलाई गुरूयोजनाले पनि आफ्नो मूल रणनीतिको रूपमा अंगिकार गरेको इतिहास पनि हामीले बिर्सनु हुँदैन । त्यसैले सरसफाइमा नमूना जिल्ला बन्दै अघि बढेको चितवन देशको सरसफाइको प्रयोगशाला पनि बन्न पुग्यो र देशका अन्य जिल्लाहरू पनि सरसफाइका सफल प्रयोग स्थल बन्दै आफ्नै मौलिक सोच र सिर्जनाहरूका साथ विश्व सामु नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषित गर्न उल्लेखनीय उपलब्धि हासिल भयो ।

खुला दिसामुक्त नेपाल : यात्रा वृत्तान्तबाट साभार गरिएको ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार