♦ रामकली थारु
केटाकेटीले दुई चार रूपैयाँ गर्दै खुत्रुकेमा जम्मा गरेको पैसा केमा खर्च गर्लान ? धेरैको जवाफ हुनसक्छ – मेला घुम्न जान, खेलौना किन्न, मिठाइ किनेर खान आदि । तर उक्त पैसाले घरको चर्पी बनाएको कुरा सुन्दा जो कोहीलाई पनि अनौठो लाग्न सक्छ । हो, यस्तै भएको छ गुलरिया नगरपालिकाको रामनगर गाउँमा ।
गाउँका ८७ घरधुरीहरू जस्तै स्थानीय वासिन्दा रामनरेश यादवको घरमा पनि चर्पी थिएन । ४५ वर्षीय रामनरेश र उहाँको परिवारका ६ जना नै खुला ठाउँमा दिसापिसाब गर्नु हुन्थ्यो । गाउँका सबैले खुल्ला ठाउँमा दिसापिसाब गर्ने, बाटो छेउछाउ चौपाया बाँध्ने, घरको फोहोरमैला जथाभावी बाटोमा फाल्ने गर्दथे, जसले गर्दा गाउँमा टाइफाइड, झाडापखाला जस्ता रोगहरू लाग्नु सामान्य थियो । देशका अन्य जिल्लालाई जस्तै बर्दिया जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने रणनीति बनेपछि गुलरिया नगरपालिका तथा ’सफा र स्वस्थ गुलरिया परियोजना’ को सहकार्यमा चर्पी निर्माणका लागि जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुन थाले ।
यस्ता चेतनामूलक कार्यक्रमहरूको प्रभाव बिस्तारै जनमानसमा पर्दै गयो । राम नरेशको परिवारले पनि चर्पीको फाइदाबारे बुझ्न थाल्यो र घरमा चर्पी त चाहिन्छ भन्ने लाग्यो । तर आर्थिक अभावको कारण चर्पी बनाउन नसक्दा परिवारलाई निकै चिन्तित बनायो । कतैबाट पैसाको बन्दोबस्त नभएपछि राम नरेशका दुई साना छोराहरूले खुत्रुकेमा जम्मा गरेको पैसा खर्च गर्ने निधो गरे र खुत्रुके फुटाए ।
केटाकेटीले खुत्रुकेमा जम्मा गरेको पैसाले चर्पी निर्माणका लागि चाहिने सामग्रीहरू किन्न पुग्ने भयो र घरमा पक्की चर्पी बन्यो । रामनरेश यादव भन्नुहुन्छ “छोराहरूले बचत गरेको रकमबाट घरमा चर्पी बनाउन पाएँ, छोराहरू साना भए पनि यिनीहरूको बुद्धि कति ठूलो हेर्नुस त ?” पिताको कृतज्ञतायुक्त भनाईले हौसिएका छोराहरू पनि हो मा हो मिलाउँदै भन्दै थिए “खुत्रुके फुटाउनु परेकोमा कुनै पछुतो छैन ।”


1218 पटक हेरिएको 

