
पोखरा : गोर्खा वेलफेयर ट्रष्ट (जि.डब्लू.टी.) नेपालले कोभिड–१९ सहायता कार्यक्रम अन्तर्गत ६ वटा प्रदेश र ३४ जिल्लाका ७० नगरपालिका तथा गाउँपालिकामा सहयोग पुर्याएको छ । ती गाउँपालिका तथा नगरपालिकाका २०४ स्थानमा पुर्याएको सहायताबाट ५० हजार भन्दा बढी व्यक्तिहरु प्रत्यक्ष लाभन्वित भएको गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम निर्देशक दिपक कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले ६१ अस्पताल तथा स्वास्थ्य सेवा केन्द्रहरु, ७६ स्थानीय तहका कार्यालयहरु र ५६ वटा आइशोलेसन तथा क्वारेण्टिन सेन्टरहरुमा सहायता गर्नुका साथै ग्रामीण समुदायमा ५ हजार भन्दा बढी स्वास्थ्य सन्देशमूलक पर्चाहरु पनि वितरण गरेको छ । जि.डब्लू.टी.ले नेपाल सरकारलाई यस प्रकारका सहायताहरु जारी नै राख्ने र अर्को बर्षको नयाँ कार्यक्रममा पनि कोभिड–१९ सहायता योजना समाबेश गर्ने उहाँले जानकारी दिनुभयो ।
गोर्खा वेलफेयर ट्रष्ट (नेपाल) ले विश्व हात धुने दिवस (१५ अक्टुवर सन् २०२०) तथा राष्ट्रिय हातधुने महाअभियानको अवसर पारी प्रदेश नं. १, २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको १६ जिल्लामा समुदाय स्तरमा साबुनपानीले हात धुने तरिका, हात धुनुपर्ने अवस्थाहरु तथा यसको महत्वको बारेमा सचेतनामुलक अभियान सञ्चालन गरिएको थियो । ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम निर्देशक श्रेष्ठका अनुसार आर्थिक बर्ष २०७७/७८ मा निर्माण गरिने ३० वटा खानेपानी आयोजनाहरु तथा आ.व. २०७८/७९ मा निर्माण गरिने ९ वटा खानेपानी आयोजनाहरु गरी ३९ वटा आयोजना क्षेत्रहरुमा सम्बन्धित खानेपानी उपभोक्ता समितिहरुसंग समन्वय गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

अभियानमा स्थानीय जनप्रतिनिधीहरुको उल्लेख्य समन्वयकारी भूमिका रहेको थियो भने अभियानमा प्रत्यक्ष रुपमा ४६५ जना महिला तथा ४९९ जना पुरुष गरी जम्मा ९६५ जनाले सहभागिता जनाएका थिए । अभियानमा सहभागीहरुलाई सरसफाइ सम्बन्धी सूचनामुलक पर्चाहरु समेत वितरण गरिएको थियो । उक्त महाअभियानबाट ३ हजार ५५ घरको करिब १७ हजार भन्दा बढी जनसमुदायमा साबुनपानीले हात धुनुपर्छ भन्ने सन्देश पुगेको आँकडा छ ।
गोर्खा वेलफेयर ट्रष्ट (नेपाल) ग्रामिण भेगमा बसोबास गर्ने समुदायको दैनिक जीवनमा सहजता दिलाउन सन् १९६९ देखि सामुदायिक विकास कार्यक्रममा सक्रिय हँुदै आएको संस्था हो । यस संस्थाले आफ्नो ग्रामिण खोनेपानी तथा सरसफाइ कार्यक्रम मार्फत नेपाल सरकारको विभिन्न निकाय तथा अन्य गैरसरकारी संघ–संस्थाहरुसँग समन्वय गर्दै खानेपानी तथा सरसफाई (WASH) क्षेत्रमा आफ्नो सहायतालाई केन्द्रित गर्दै आएको छ ।


1652 पटक हेरिएको 

