हातले छुन नपर्ने धारा समुदायका लागि प्रभावकारी

🔗
35
Shares

सुनसरी : मेरो नाम मञ्जु दाहाल हो । म विगत २४ वर्षदेखि स्वास्थ्य क्षेत्रमा निरन्तर सेवा गर्दै आइरहेकी छु । म अहिले सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको वडा नं.३ स्थित नागेश्वर कान्ति हेल्थपोष्टमा इन्चार्जको रुपमा कार्यरत छु ।

कोभिड–१९ को महामारीले सारा विश्वलाई प्रभावित पारिरहेको अवस्था छ । यस महामारीबाट बच्न विश्वका सबै देशहरु आ(आफनै तरिकाबाट प्रयासरत छन् । नेपालमा पनि यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न पहल भइरहेका छन् । महामारीबाट समुदायका सबै मानिसहरु त्रसित छन् भने स्वास्थ्यकर्मीहरुले जोखिमका साथ काम गरिरहनुपरेको छ । यो अवस्था देखेर मेरो मनमा पनि डर–त्रास थियो । हामी स्वास्थ्यकर्मीले लकडाउन तथा निषेधाज्ञाको समयमा समेत निरन्तर सेवामा आइरहनुपर्दथ्यो । यस अवस्थामा हामीलाई समेत रोगको संक्रमण हुन्छ कि भन्ने डर तथा शंका लाग्नु स्वाभाविक हो । किनभने हामी धेरै मानिसहरुको सम्पर्कमाआउने भएकाले जोखिमको सम्भावना बढी थियो नै परिवारका सदस्यहरु खास गरी बृद्ध सासु ससुरा तथा श्रीमान् र छोराछोरीहरुलाई संक्रमणबाट कसरी जोगाउने भन्ने चिन्ता बढी नै थियो ।

कोरोनाको संक्रमण भयो भने कहाँ बस्ने भन्ने समस्याले सताएको थियो । यो रोगको संक्रमणबाट बच्नु भनेको यसको औषधि वा भ्याक्सिन नआउञ्जेलसम्म उच्च सर्तकता अपनाउनु नै हो । बेला बेलामा पानीले हात धुनु र भौतिक दुरी कायम गर्नु सबैभन्दा महत्वपूर्ण छ । म काम गर्ने हेल्थपोष्टमा एउटा मात्र धारा थियो । यस हेल्थपोष्टमा सेवा लिन आउने व्यक्ति र हामीले त्यही धारा प्रयोग गर्नुपर्दथ्यो । त्यो धारामा नियमित रुपमा पानी नआउने समस्या थियो । यसले गर्दा सरसफाइका लागि उचित व्यवस्था गर्न सकिएको थिएन ।

यसै क्रममा प्लान इन्टरनेशनल नेपालको सहयोगमा CSDC द्धारा सञ्चालित वास एसडीजी परियोजना अन्तर्गत हाम्रो स्वास्थ्य चौकीमा पानी ट्यांकी सहित हातले नचलाई प्रयोग गर्न सकिने धारा, स्थापना गरिएको छ । यसले हामीलाई स्वास्थ्य चौकीमा रहँदा नियमित रुपमा हातधुन र सरसफाइ गर्न ठूलो सहयोग मिल्यो । अहिले हाम्रो स्वास्थ्य चौकीमा सेवा लिन आउने सेवाग्राहीहरुलाई हात धोएर मात्र आउन प्रेरित गर्ने गरेका छौं । यो सहयोगले हामीले २० सेकेण्ड सम्म हात मिचीमिचि धुन सिकाउने अभियानलाई समेत सहयोग पुर्याएको छ । सेवाग्राहीहरुले हात मिचिमिची धुने र कोरोनाको संक्रमणबाट जोगिने उपायबारे आफनो परिवारमा सिकाइरहनुभएको छ ।

यो सुविधाबाट बालबालिकाहरु, वृद्धवृद्धा तथा अपांगता भएको व्यक्तिहरुलाई हातधुन झनै सजिलो भएको छ । यसबाट दैनिक ३० देखि ४० जनाले सेवा लिइरहनु भएको छ ।  महामारीको बेलामा संक्रमण न्युनीकरणका लागि संस्थाबाट गर्नु भएको सहयोगका लागि म मेरो व्यक्तिगत तथा संस्थाको तर्फबाट धन्यवाद दिन चाहन्छु । यो सहयोग सामाग्री एकदमै उपयोगी र प्रभावकारी बनेको छ ।

एलिना खतिवडा

फिल्ड सुपरभाइजर

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार