मोरङमा स्वच्छ सफा घरलाई हरियो स्टिकरको औपचारिक थालनी

अनु निरौला, बेलबारी (मोरङ) : पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुरुप सफा र स्वच्छ घरधुरीलाई प्रमाणीकरण गरी हरियो स्टिकर प्रदान गर्ने कार्यको मोरङमा औपचारिक थालनी गरिएको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख नरेश प्रसाद पोखरेलले बेलबारी नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक ढाका कुमारी पराजुलीलाई सफा स्वच्छ क्षेत्रको प्रतीक हरियो स्टिकर हस्तान्तरण गरी बेलबारी नगरपालिकामा प्रमाणीकरणको थालनी गर्नुभयो ।

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङको जिल्ला पूर्ण सरसफाइ मार्गदर्शन २०७७ मा सफा र स्वच्छ क्षेत्रका सूचक पूरा गरेका घरधुरीलाई प्रमाणीकरण अनुगमन पश्चात् हरियो स्टिकर प्रदान गर्नुपर्ने प्रावधान छ ।

सरसफाइलाई संस्थागत गर्ने प्रयास

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङले कुनै पनि घरधुरीलाई सफा र स्वच्छ क्षेत्र प्रमाणीकरण गर्नका लागि सो घरधुरीले सबै सूचकमा गरी १०० अंक प्राप्त गर्नुपर्ने व्यवस्था जिल्ला सरसफाइ मार्गदर्शनको अनुगमन खण्डमा उल्लेख गरेको छ । सरसफाइका सूचकहरुलाई ६ खण्डमा वर्गीकरण गरी तिनका प्रत्येक उपसूचकहरुलाई समेत अंकभार दिइएको छ, जसका आधारमा सम्बन्धित टोल विकास संस्था वा टोल पूर्ण सरसफाइ व्यवस्थापन समितिले स्वअनुगमन गरी अनुगमन तालिकामा अंक दिंदै जानुपर्ने प्रावधान छ । प्रत्येक अनुगमनका क्रममा अंक दिंदै जाँदा तीन पटकको अनुगमनमा सतप्रतिशत अंक प्राप्त गर्ने घरधुरीले हरियो स्टिकर प्राप्त गर्दछन् ।


“सरसफाइ अभियानका क्रममा हासिल भएका उपलब्धीलाई संस्थागत गर्नुका साथै सरसफाइ प्रत्येक व्यक्तिको सरोकारको रुपमा स्थापित गर्नका लागि यस अनुगमन प्रणालीको थालनी गरिएको हो”, बेलबारी नगरपालिका, वडा नं. ११, मिलनटोलमा आयोजना गरिएको हरियो स्टिकर प्रदान गर्ने औपचारिक कार्यक्रममा अध्यक्ष पोखरेलले भन्नुभयो, “यो घोषणाको विषय नभै समुदायको सरसफाइ तथा स्वच्छतासम्बन्धी वानी व्यवहार परिवर्तनको विषय र समुदाय तथा स्थानीय सरकारको गहन सरोकारको विषय हो ।”

बेलबारी नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक ढाकाकुमारी पराजुलीले पाँच वर्षभित्र जिल्लालाई नै सफा र स्वच्छ क्षेत्रको अवस्थामा पु¥याउने जिल्लाको लक्ष्य कठिन र महत्वाकांक्षी जस्तो देखिए पनि सबै स्थानीय तह, वडा, टोल र घरधुरीले अभियान सञ्चालन गरेर यसलाई सफल पार्नुपर्नेमा जोड दिनुभयो । “सफा र स्वच्छ वातावरणमा बाँच्न पाउनुलाई नेपालको संविधानले व्यक्तिको मौलिक हकको रुपमा स्थापित गरेको छ”, उपप्रमुख पराजुलीको भनाइ छ, “यस संवैधानिक हकको सम्मान र रक्षा गर्नुका साथै सरसफाइ र स्वच्छताको माध्यमबाट समृद्धिका लागि पूर्ण सरसफाइ अभियानलाई व्यवस्थित रुपमा अघि बढाउनुपर्छ ।”

टोलहरु सोचेभन्दा बढी सफा

औपचारिक कार्यक्रमअघि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका पदाधिकारीहरु, सञ्चारकर्मीहरु, बेलबारी नगरपालिकाका नगर उपप्रमुख, विकास साझेदार र सहजीकरण गर्ने संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु लगायतको टोलीले बेलबारीका विभिन्न टोलहरुको स्थलगत अवलोक गरेको थियो । सो क्रममा टोल विकास संस्था एवम् टोल सरसफाइ व्यवस्थापन समितिका सदस्यहरु र टोल तहका अनुगमन समितिका सदस्यहरुले अनुगमन प्रक्रिया, पूर्ण सरसफाइ प्रवद्र्धनका लागि अपनाइएका प्रयासहरु, टोलहरुको पूर्ण सरसफाइ लक्ष्य एवम् योजना, सहजीकरण गर्ने निकायहरुको भूमिका लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।
“टोलहरु मैले सोचेभन्दा बढी सफा पाएँ”, अनुगमनपश्चात् बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले भन्नुभयो, “अनुगमन प्रणाली समेत व्यवस्थित बनेको छ, यसलाई पूर्ण रुपमा लागू गर्न सकेमा सरसफाइको क्षेत्रमा हासिल भएको उपलब्धी दिगो हुन सक्छ ।”

मोरङ जिल्लामा पूर्ण सरसफाइ अभियानको विकास साझेदार यू.एन. ह्याबिट्याटका जिल्ला संयोजक विनोद शर्माले पूर्ण सरसफाइको दिगोपनका लागि घरायसी तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधाहरुको स्तरोन्नति र समुचित प्रयोग, सरसफाइ प्रवद्र्धनमा स्थानीय सरकारको प्रतिवद्धता र साधन श्रोतको व्यवस्थापन, पूर्ण सरसफाइ प्रवद्र्धनका लागि आवश्यक नीतिगत व्यवस्था, अनुगमन प्रणालीको चुस्त व्यवस्थापन र साझेदारहरुको क्षमता अभिवृद्धिमा जोड दिनुभयो ।


जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष नरेश प्रसाद पोखरेलले टोलहरुको अनुगमनपश्चात् सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिंदै टोलहरु सोचेभन्दा बढी सफा भएको बताउनुभयो । “टोलहरु सफा छन्, जिल्लाले स्थापित गर्न खोजेको अनुमगन प्रणालीलाई यहाँ टोल तहमा समेत कार्यान्वयनमा ल्याएको पाइयो”, उहाँले भन्नुभयो, “संयुक्त अनुगमन गरी गुणस्तर कायम भएपछिमात्र अंक दिने र सरसफाइमा आएको सुधारको आधारमा मात्र अंक दिने परिपाटीलाई अझै मजबूत बनाउँदै लैजानुपर्छ ।”

प्रदेशमै नमूना बन्ने सरसफाइ व्यवस्थापन समितिहरुको प्रतिवद्धता

टोल तहमा पूर्ण सरसफाइ प्रवद्र्धनका लागि गठन भएका पूर्ण सरसफाइ टोल व्यवस्थाापन समितिका पदाधिकारीहरुले आफ्नो टोल, वडाहरु, बेलबारी नगरपालिका र मोरङ जिल्लालाई नै पूर्ण सरसफाइ प्रवद्र्धनमा नमूना बनाउने प्रतिवद्धता जनाउनुभएको छ ।

बेलबारी नगरपालिका, वडा नं. ८ मा रहेको आदर्श टोल राइझारका सरसफाइ नमूना टोल व्यवस्थापन समिति अध्यक्ष रत्ना खवास पूर्ण सरसफाइ अभियामा समेत ‘दोस्रो नहुने’ प्रतिवद्धता गर्नुहुन्छ । “हामी जिल्ला र प्रदेशकै लागि सरसफाइ प्रवद्र्धनमा नमूना बन्न चाहन्छौं”, उहाँको भनाइ छ, “नगरपालिकामा हाम्रो टोललाई पहिलो बनाउछौं, जिल्लाभरमा नगरपालिकालाई पहिलो सफा र स्वच्छ क्षेत्र बनाउनका लागि हामीले नगरपालिकालाई सहयोग गर्न कुनै कसर बाँकी राख्दैनौं ।”


यस्तै प्रतिवद्धता छ, सोही टोलमा रहेको महिनावारी स्वच्छता व्यवस्थापन सरोकार समूहका अध्यक्ष रोजिना खवासको । “महिनावारी सरसफाइलाई नजरअन्दाज गरेर पूर्ण सरसफाइ हुन सक्तैन”, उहाँको भनाइ छ, “त्यसैले, महिनावारीमैत्री टोल बनाउँदै पूर्ण सरसफाइ उन्मुख सफा र स्वच्छ टोल बनाउन क्रियाशील रहेका छौं ।”

बेलबारी नगरपालिका, वडा नं. १० मा रहेको पुष्पाञ्जली टोल विकास संस्था एवम् नमूना टोल व्यवस्थापन समितिका अध्यक्ष अमिर मगर सरसफाइ प्रवद्र्धनको माध्यमबाट जीविकोपार्जनमा सुधार ल्याउने दीर्घकालीन योजना बनाइरहेको बताउनुहुन्छ । “सरसफाइ प्रवद्र्धनको माध्यमबाट आर्थिक सामाजिक समृद्धि नै हाम्रो चाहना हो”, मगरले भन्नुभयो, “टोलसँगै रहेको बुद्ध पार्कलाई समेत समावेश गरी टोलको दीर्घकालीन योजना बनाइरहेका छौं, र टोललाई सफा स्वच्छ घोषणा गर्ने दिनमा नै दीर्घकालीन योजना समेत सार्वजनि गर्छौं ।”

वडा नं. ११ मा रहेको मिलन टोल सरसफाइ व्यवस्थापन समितिका कोषाध्यक्ष कल्पना क्षेत्री बेलबारीकै नयाँ बस्तीको रुपमा रहेको मिलन टोललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना सुनाउनुहुन्छ । “राजमार्गसँगै रहेको यस बस्ती बेलबारीकै नयाँ बस्ती हो । राजमार्ग र वन क्षेत्रसँगै रहेको यस बस्तीलाई सरसफाइ नमूना बस्तीसँगै आन्तरिक पर्यटकलाई केन्द्रित गरेर मनोरञ्जन पार्क बनाउने योजना रहेको छ”, उहाँको भनाइ छ, “यसलाई वडाले समेत वार्षिक योजनामा समावेश गरेको छ, वडाअध्यक्षले समेत प्रतिवद्धता जनाउनुभएको छ ।”

घोषणाभन्दा पनि दिगोपनमा जोड

जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङले तयार गरेको अनुगमन निर्देशिका र अनुगमन तालिका थालनीमा कठिन लागे पनि यसले पूर्ण सरसफाइ अभियानमा गुणस्तर कायम राख्नका लागि सघाएको बताउनुहुन्छ यू.एन. ह्याबिट्याटको सहयोगमा पूर्ण सरसफाइ अभियान सहजीकरण गरिरहेको संस्था नारी विकास संघका बेलबारी पालिका संयोजक रीता कोइराला । “खुल्ला दिसामुक्त अभियानका क्रममा यस किसिमका अनुगमन तालिका र अंक दिने अभ्यास नभएकोले सुरुमा निकै कठिन भएको थियो, यी सूचक कहिल्यै पूरा गर्न सकिदैन कि जस्तो लागेको थियो”, कोइरालाले भन्नुभयो, “यी सूचकहरुले पूर्ण सरसफाइमा पानीको शुद्धीकरणदेखि खोरगोठ व्यवस्थापन, बालबालिकामैत्री सरसफाइ सुविधा र महिनावारीमैत्री संरचना निर्माण एवम् महिनावारी स्वच्छता व्यवस्थापन सम्मलाई उत्तिकै महत्वका साथ समेटेकोले दिगोपनमा जोड दिएको हामीले पाएका छौं ।”

यही रायमा सही थप्नुहुन्छ बेलबारी नगरपालिकाका उपप्रमुख एवम् अनुगमन समिति संयोजक ढाका कुमारी पराजुली । “अबको यात्रा नै दिगो सरसफाइको हो”, उहाँले निस्कर्ष सुनाउनुभयो, “त्यसैले समुदायले आफै अघि बढाउन सक्ने सहज र कहिल्यै पनि पछाडि नफर्किने दिगो सरसफाइ अभियान आवश्यक छ ।”

आधार रेखा सर्वेक्षण अनुसार खुल्ला दिसामुक्त घोषणा भएका जिल्लाका केही स्थानीय तहका वडाहरुमा १० प्रतिशतसम्म चर्पी नभएका र १८ प्रतिशतसम्म प्रयोग नभएको समेत देखिएको छ । “पूर्ण सरसफाइ अभियानको क्रममा जे जति उपलब्धी हासिल हुन्छन्, ती सबै दिगो होऊन् भन्ने हाम्रो अभिप्राय हो”, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष नरेश प्रसाद पोखरेलको भनाइ छ, “त्यसैले, अनुगमन प्रणालीलाई सम्पूर्ण स्थानीय तहमा एकरुपता दिने प्रयास गरिएको छ ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार