आज विश्व शौचालय दिवस, अढाई करोड मानिस अझै बाहिरै शौच गर्न बाध्य

काठमाडौ : आज विश्व शौचालय दिवस Sustainable sanitation and climate change भन्ने नाराका साथ संसारभर मनाईदैछ । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाइन्छ । सन् २०१३ देखि नै विश्‍व शौचालय दिवस मनाउन सुरु गरिएको हो । यसबर्ष कोभिड -१९ का कारण औपचारिक कार्यक्रमहरु नभएपनि नेपालमा पनि भर्चुअल माध्यमबाट वहस तथा विचार आदानप्रदान जस्ता कार्यक्रमहरु गरी यो दिवस मनाईदैछ । शौचालय र यसको महत्त्व सबैसामु फैलाउने उद्देश्यले शौचालय दिवस मनाउने गरिन्छ । नेपाललाई १३ असोज २०७६ मा खुला दिसामुक्त देश घोषणा गरिए पनि कतिपय जिल्लामा अझै व्यवस्थित शौचालयको अभाव छ । फोहोरपानी र दिसाजन्य फोहोरको प्रशोधन सहितको शौचालय सबैको पहुँचमा पुर्‍याउन सके मात्र खुला दिसामुक्त अवस्थाको दिगोपना हुने सरसफाइ अभियन्ताहरु बताउँछन् ।

तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ। काठमाडौं उपत्यका लगायत, अन्य शहर तथा राजमार्गमा सार्वजनिक शौचालयको अभाव छ भने भएका शौचालयमा समेत आवश्यक सुविधाको अभाव छ । गुथी संस्थाका प्राविधिक सल्लाहकार प्रकाश अमात्य सार्वजनिक शौचालय सुधारका चारवटा पक्ष नितान्त आवश्यक रहेको बताउनुहुन्छ । उहाँका अनुसार सार्वजनिक शौचालयका लागि नभई नहुने पहिलो पक्ष हो, भौतिक संरचना । दोस्रो सरसफाइ र स्वच्छता आवश्यकता पर्दछ भने तेस्रो सञ्चालकहरुको सीप, दक्षता अभिवृद्धि पारिश्रमिक र रोजगारी एवं चौथो प्रयोगकर्ताहरुको स्वास्थ्य र सेवाको सन्तुष्टि हो । पेट्रोल पम्प, अस्पताल, सरकारी कार्यालयहरुमा रहेका शौचालय, मठमन्दिर तथा सपिङ मलहरुमा भएका शौचालयहरुलाई समेत सुधार गरेर स्वच्छ र सफा बनाउने हो भने काठमाडौ उपत्यकाले झेलिरहेको सार्वजनिक शौचालय अभावको समस्या केही हदसम्म कम गर्न सकिन्छ ।

अझैपनि संसारभरि लगभग अढाई करोड मान्छेहरुले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ । करिव १० जना मध्ये एक जना संसारको मान्छेले अझैपनि शौचलयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य संगठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ । सन् २०३० सम्मको दिगो विकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाइको स्रोत र सुविधाका साथ फालिने पानीलाई पुनः प्रयोग गर्ने स्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।

Photo :https://www.unwater.org/


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार