मानव मलमूत्रमा अवसरै अवसर : बिक्रेट देखि ग्याससम्म, मलदेखि रोजगारीसम्म

काठमाडौ : सरसफाइ क्षेत्रका विज्ञहरुले मानव मूत्रमा अवसर तथा ठूलो सम्भावना रहेको औल्याएका छन् । उनीहरुले मानव मलमूत्रको सही व्यवस्थापन गर्न सकेमा ढल मार्फत बगिरहेको दिसाबाट उर्जा उत्पादन गरी यसबाट रोजगारीको अवसर सिर्जना गर्न सकिने बताएका हुन् ।

विभिन्न क्षेत्रमा कार्यरत सरकारी तथा गैर सरकारी लगायत शिक्षण संस्थाका विज्ञहरुको सहभागितामा एरोशान सस्टेनवल स्यानिटेसन, वैकल्पिक उर्जा केन्द्र,ग्लोवल ग्रीन ग्रोथ इन्स्टिट्यूट (जिजिआई) र नेपाल नगरपालिका संघले आयोजना गरेको कार्यक्रममा दिसाजन्य लेदोको अवसर, सम्भावना र चुनौतीबारे व्यापक छलफल गरिएको हो । कार्यक्रममा पूर्व वातावरणमन्त्री गणेश शाहले सरसफाइलाई स्थानीय तहमा प्रदेश सरकार र नगरपालिकाहरुको सक्रिय सहभागितामा सरसफाइका नीति तथा कार्यक्रमहरु ढिलो नगरी लागु गर्नुपर्ने बताउनुभयो । उहाँले मानव मलमुत्र राष्ट्रको सम्पति रहेको र यसको सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो । ‘सरसफाइ व्यवस्थापनमा नगरपालिकाले जनशक्ति उत्पादन गर्न शिक्षण संस्थासँग साँझेदारी गरी दक्ष पेशागत शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्छ यो सम्भव छ ।’ उहाँले भन्नुभयो ।

केन्द्र सरकारले कानुन नबनाउँदा अन्यौल : अध्यक्ष व्यञ्जु

धुलिखेल नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार व्यन्जुले केन्द्र सरकारले आवश्यक कानुन नबनाउँदा र बजेट उपलब्ध नगराउँदा अन्यौलता छाएको बताउनुभयो । नेपालको संविधानले सरसफाइको जिम्मेवारी स्थानीय तहलाई दिए पनि केन्द्र सरकारले कानुन निर्माण तथा बजेट विनियोजनमा प्राथमिकता नदिएको बताउनुभयो । मेयर व्यन्जुले सरसफाइलाई राष्ट्रिय अभियानको रुपमा लग्नुपर्ने र संघीय सरकारले जिम्मा दिएको खण्डमा अन्तराष्ट्रिय सरसफाइ सम्मेलन गरी नेपालमा सरसफाइ व्यवस्थापनका लागि आवश्यक प्रविधि, सीप र आर्थिक लगानी भित्रयाउन सकिने दाबी गर्नुभयो ।

पाइलोट परियोजना सञ्चालन गर्न बजेट : कार्यकारी अधिकृत अधिकारी

दिसाजन्य फोहोरबाट उर्जा उत्पादनको सम्भावना अत्यधिक रहेको र कुनै प्रस्तावना आएमा अर्को वर्षको बजेट मार्फत पाइलोट परियोजना सञ्चालन गर्न बैकल्पिक उर्जाले बजेट विनियोजन गर्ने बैकल्पिक उर्जाका कार्यकारी अधिकृत मधुसुदन अधिकारीले बताउनुभयो । ‘मानव दिसाजन्य फोहोरको व्यवस्थापन गरी घर समाजलाई सफा राख्न सकिन्छ । बैकल्पिक उर्जा र विश्व बैंकको आर्थिक सहयोगमा विभिन्न नगरपालिकामा गोबर ग्याँसबाट उर्जा उत्पादन गर्न पाइलोट परियोजना सुरु गरि सकिएको छ । अर्को कुनै प्रस्तावना आएमा अर्को वर्ष बजेट विनियोजन गर्नेछौं’ उहाँले भन्नुभयो । उहाँले गाईबस्तुको फोहोरबाट विक्रेट बनाए झै मानव मलमूत्रबाट विक्रेट बनाउँदा कस्तो प्रतिकृया आउन सक्छ भन्ने अध्ययन र अनुसन्धान हुन जरुरी रहेको बताउनुभयो ।

यस्तै बैकल्पिक उर्जाका वरिष्ठ जैविक विशेषज्ञ सुसिम अमात्यका अनुसार उर्जा सरकारको नीति नियम र दक्ष विषेशज्ञ अभावका कारण काठमाडौमा मात्र दैनिक १०५० वटा एलपिजि ग्याँस निकाल्न सकिने दिसा ढल मार्फत खोलामा खेर गैरहेकोछ । ‘नेपालमा खाना पकाउनका लागि मुख्य गरी एलपिजि ग्याँसको प्रयोग भैरहेको छ भने खाना पकाउनका लागि सौर्य उर्जाको प्रयोग गर्न निक्कै गाह्रो छ । तसर्थ शौचालयबाट निस्कने दिसाजन्य पदार्थ मार्फत वयोग्याँस उत्पादन गरी एलपिजि ग्याँसलाई विस्थापित गर्न सकिन्छ भने फोहोर पानीलाई प्रशोधन गरी पुनःप्रयोगमा ल्याउन सकिन्छ ।’ उहाँले बताउनुभयो ।

ग्लोवल ग्रीन ग्रोथ इन्स्टिट्यूट (जिजिआई) का वरिष्ठ कार्यक्रम अधिकारी अनन्ता पाण्डेले भन्नुभयो  ‘सरसफाइ क्षेत्रमा परिपत्र अर्थ व्यवस्थापन प्रणाली अपनाउन सकेमा फोहोरबाट फाईदा लिन सकिन्छ । शौचालयबाट निस्कने दिसाजन्य फोहोरलाई प्रत्यक्ष खोलामा मिसाउँदा विभिन्न पानीजन्य रोगहरु देखिने र ग्रिनहाउस ग्याँस उत्पादन भई वातावरणमा असर गर्ने भएकोले यसको सही सदुपयोग गर्न सके वातावरण स्वच्छ हुनुका साथै रोजगारीको अवसर सिर्जन हुन सक्छ।’

यस्तै एरोसान सस्टेनेवल स्यानिटेसनका कार्यकारी प्रमुख प्रकाश अमात्यले सार्वजनिक शौचालयहरु अव्यवस्थित र दुर्गन्धित भएकोले जनमानसमा शौचालय प्रयोग गर्न हिच्किचाउने गरेको बताउनुभयो । प्रत्येक ३०० मिटरको दुरीमा एउटा सार्वजनिक शौचालय भएको हुनुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा भएपनि शौचालयको प्रयोगमा समस्या रहेको बताउनुभयो । ‘३ जना पुरुषले सार्वजनिक शौचालय प्रयोग गर्दा १ जना महिलाले मात्र सार्वजनिक शौचालयको प्रयोग गर्ने गरेको अध्ययनले देखाउँछ तसर्थ एरोसानले लैगिकमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री सार्वजनिक शौचालय निर्माणका लागि नमुना तयार पारेको छ । सार्वजनिक शौचालयका प्रयोगकर्ताबाट उठाएको रकम शौचालय संचालनका लागि पर्याप्त नहुने र यसका लागि शौचालय सञ्चालन र व्यवस्थापन मापदण्ड तथा निर्देशिका लागु गर्न अत्यन्त जरूरी रहेको छ ।’ उहाँले भन्नुभयो ।

‘‘दिसाजन्य प्रशोधन केन्द्रको निर्माण गरेर मात्र पुग्दैन यसका लागि चाहिने पर्याप्त मानव मलमुत्र संकलन हुने स्थानको पहिचान गरी सोही स्थानमा प्रशोधन केन्द्र निर्माण हुन आवश्यक छ ।’’ इको कन्सर्नका कृष्णरामयन्दोले भन्नुभयो । वायोग्याँस उत्पादन गर्दा खाद्य फोहोर र दिसाजन्य पदार्थलाई १ः२ को रेसियोमा मिश्रण गर्दा धेरै वायोग्याँस उत्पादन हुन्छ’उहाँले भन्नु भयो ।

२०११ देखि २०१५ सम्म चितवन र लमजुङ क्षेत्रको घर घरमा गरिएको वायोग्याँस उत्पादन सम्बन्धी अनुसन्धानमा कृषि फोहोर र मानव मलमुत्रको प्रयोग गर्दा ५० देखि १५० प्रतिशत सम्म ग्याँसको उत्पादन भएको पाईएको डा. शान्ती सुवेदीले बताउनुभयो ।

दिसाजन्य प्रदार्थलाई प्रशोधन र पुनःप्रयोग गर्न आवश्यक रहेको बताउँदै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लम्जुङका प्रमुख देवेन्द्र झाले भन्नुभयो ‘तराईमा ५०० घर धुरीले सिङ्गल पिट शौचालय प्रयोग गर्दा ७.५ लाखको मल उत्पादन हुन्छ भने डबल पिट, शौचालय प्रयोग गर्दा १५ लाखको मल उत्पादन गर्न सकिन्छ तसर्थ तराईमा सिङ्गल पिट शौचालयलाई डबल पिट शौचालयमा परिणत गर्नु आवश्यक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार