सरसफाइ अभियानका बहुआयामिक प्रभावहरू

 322 पटक हेरिएको

नेपालमा सञ्चालित सरसफाइ अभियान चर्पी निर्माण र प्रयोगको सीमित परिधिमा मात्र सीमित रहेन। यस अभियानले समाजमा बहुआयामिक प्रभावहरू पार्‍यो । यस अभियानले देशको जनस्वास्थ्य र वातावरणीय सरसफाइ प्रवर्धन एवं सामाजिक–आर्थिक समुन्नतिमा टेवा पुर्‍याउने प्रभावहरू निम्नलिखित छन् :

क. एकीकृत विकास प्रक्रियाको अवलम्बन

विगतका दिनमा खानेपानी आयोजनाको एक सामान्य अङ्गका रूपमा हेरिएको सरसफाइ हाल आएर एक व्यापक सामाजिक अभियानका रूपमा विस्तार भएको छ । विभिन्न क्षेत्रगत सरोकारवालाहरूले सरसफाइलाई आ–आफ्नो विकास निर्माणमा सकारात्मक योगदान दिने महत्वपूर्ण आधारका रूपमा स्थान दिएका छन् । सरसफाइ अभियानको सिकाइबाट अन्य विकास निर्माणका कार्यमा समेत एकीकृत रूपमा कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने प्रक्रिया संस्थागत भएको छ । यसका साथै सरोकारवालाहरूका छरिएर रहेका तमाम प्रयासहरूलाई एकीकृत गरी स्रोत साधनको अभाव परिपूर्ति गर्न समेत मद्दत पुगेको छ ।

ख. गुणस्तरीय शिक्षामा टेवा

समुदाय र विद्यालयलाई केन्द्रित गरी सञ्चालन भएका तमाम ज्ञानमूलक, सचेतनामूलक र सीपमूलक क्रियाकलापहरू मार्फत चर्पीमा दिसा गर्ने, संवेदनशील घडीमा साबुन पानीले मिची मिची हात धुने, खानेपानी शुद्धिकरण गरेर प्रयोग गर्ने र घर आँगन तथा गाउँ टोलको सरसफाइ कायम गर्ने कार्यमा उल्लेख्य सुधार भएको छ । विद्यालयमा लैंगिकमैत्री शौचालय र महिनावारी स्वच्छता व्यवस्थापनमा क्रमिक सुधार हुँदै जाँदा उमेर पुगेका छात्राहरूले विद्यालय छोड्ने प्रवृत्तिमा उल्लेखनीय रूपमा कमी हुँदै गएको छ । यसबाट शिक्षाको गुणस्तरमा सुधार आउने निश्चित छ ।

ग. बाल मृत्युदरमा उल्लेख्य कमी

पानी र सरसफाइजन्य रोगव्याधिका कारण सन् २००० तिर देशमा वार्षिक रूपमा पाँच वर्ष मुनिका करिब ७ हजार बालबालिकाको मृत्यु हुने गरेकोमा जनस्वास्थ्यमा सुधार गर्ने ठोस उद्देश्य सहित शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, स्वच्छता, पोषण र खोपसँग सम्बन्धित विभिन्न क्रियाकलापहरू एकीकृत रूपमा प्रवर्धन भएकाले हाल आएर उक्त मृत्युदर करीव १ हजारको हाराहारीमा सीमित भएको छ । बाल मृत्युदरमा कमी र सरसफाइमा भएको सुधारका कारण बालबालिकामा हुने पुड्कोपन नियन्त्रण गर्न समेत बलियो आधार तयार भएको छ । खुला दिसामुक्त अभियानद्वारा सृजित व्यापक जनचेतनाका कारणले गर्दा सन् २०१५ को विनाशकारी भूकम्प र वर्षेनी बाढीबाट प्रभावित समुदायहरूमा समेत झाडापखालाजन्य घटनाहरू देखा पर्न सकेनन् । सन् २००९ मा जाजरकोट र रूकुम लगायत वरपरका अन्य जिल्लाहरूमा देखा परेको हैजा र झाडापखालाजन्य महामारीका घटना पश्चात सरसफाइ प्रवर्धनप्रति राज्य थप संवेदनशील बन्न पुगेको छ । सरसफाइमा ध्यान दिएकै कारण यस्ता महामारीका घटनाहरू क्रमिक रूपमा इतिहासमा सीमित हुन पुगेका छन् ।

घ. विकास निर्माणमा स्वस्थ प्रतिस्पर्धाको थालनी

विगत एक दशकमा भौगोलिक, सामाजिक, सांस्कृतिक र आर्थिक विविधताका बीचमा प्रत्येक जिल्लामा खुला दिसामुक्त अभियानको साझा माहौल व्याप्त रह्यो । ढिलोचाँडो, सबै जिल्लाले आ–आफ्नो जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने समयसीमा तोकेर काम गरे र अन्ततः सफल पनि भए । खुला दिसामुक्त अवस्था हासिल  गर्ने पहल देशव्यापी रूपमा ‘अघोषित तर स्वस्थ प्रतिस्पर्धा’ जस्तै बन्यो, जो देशमा सरसफाइ अभियानको अत्यन्त सुन्दर पक्षका रूपमा चित्रित हुन पुग्यो । अभियानको शैशवकालमा कालीकोट र अछाम जस्ता दुर्गम र पिछडिएका जिल्लाहरूले अथक मेहेनत गरेर आपूmलाई पहिलो दश खुला दिसामुक्त जिल्लाको स्थानमा उभ्याउन सफल भए । यस अर्थमा यो अभियान समुदायको तत्परता जाँच्ने कसी जस्तै बन्यो । नागरिकमा इच्छाशक्ति भएमा भौगोलिक कठिनाई, यातायातको असुविधा, गरीबी, प्रतिकूल मौसम जस्ता कुराहरू अभियानको बाधक बन्दैनन् भन्ने कुरा साबित हुन पुग्यो ।

ङ. पूर्वाग्रहरहित र स्वावलम्बी विकास प्रक्रियाको सुदृढीकरण

देशका सबै जिल्लाहरूमा तत्कालीन गाविस, नगरपालिका तथा जिल्ला स्तरका समन्वय समितिहरू गठन भई क्रियाशील भए । फलस्वरूप यी समन्वय समितिहरूले लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि विहीन अवस्थाको रिक्ततालाई समेत केही हदसम्म भए पनि पूरा गरे । राजनैतिक स्वार्थभन्दा माथिको एजेण्डा बन्नु खुला दिसामुक्त अभियानको अर्को सकारात्मक पाटो हो । खुला दिसामुक्त अभियानमा सबै राजनीतिक दलहरूले ऐक्यबद्धता जनाउँदै सहकार्यको उत्कृष्ट नमूना प्रस्तुत गरेका छन् ।

सम्पूर्ण नेपालीको अपार सहभागिता र पूर्ण अपनत्वका साथ सञ्चालित खुला दिसामुक्त अभियानको माध्यमबाट नेपालको सामाजिक–सांस्कृतिक एकीकरण, विकास र रूपान्तरणमा उल्लेखनीय योगदान पुगेको छ । सरसफाइ अभियान मार्फत विभिन्न क्षेत्रगत सरोकारवालाहरूबीच सहकार्यको संस्कृति मौलाउँदै गएको छ । चुनौतीलाई सबै सरोकारवालाहरूसँग बाँडेर कमजोर बनाउने तर उनीहरूको शक्तिलाई एकै ठाउँमा संचय गरी चुनौतीको सम्बोधन गर्दै अघि बढ्ने सृजनशील सोच र कार्यशैलीको विस्तार भएको छ । चर्पी निर्माणका लागि युगौंदेखि बाह्य अनुदानको आश गरी परनिर्भर बन्न पुगेका घरधुरीले समेत आफ्नै प्रयासमा चर्पी निर्माण र प्रयोग गरी सगर्व खुला दिसामुक्त क्षेत्रका बासिन्दाको चिनारी दिन सफल भएका छन् । सुधारिएको सरसफाइ समुदायको जीवन पद्धति बन्न पुगेको छ । सरसफाइ अभियानले समुदायको नेतृत्व विकासमा ठोस योगदान दिएको छ ।

च. विकासका अन्य आयामहरूमा सकारात्मक प्रभाव

नेपालको सरसफाइ अभियान अन्य विकास निर्माणको भर्‍याङ (डेभलपमेन्ट ल्याडर) समेत बन्न पुगेको छ । देशमा अवलम्बन गरिएका ‘खुला दिसामुक्त’ र ‘पूर्ण सरसफाइ युक्त’ जस्ता सरसफाइका मोडेलहरूबाट अन्य विकास निर्माणका प्रयासहरू उल्लेखनीय र सकारात्मक रूपमा प्रभावित भएका छन् । उदाहरणका लागि छाउपडीमुक्त समुदाय, पूर्ण साक्षरता र खोपयुक्त पालिका, सुरक्षित पानीयुक्त समुदाय र अँध्यारोमुक्त समुदाय, धुवाँमुक्त समुदाय, प्लाष्टिकको झोलामुक्त समुदाय आदि घोषणा गर्ने लगायतका विकास निर्माणका कार्य लोकप्रिय र देशव्यापी बन्दै गएका छन् । यस अर्थमा नेपालको सरसफाइको अभियानलाई विशिष्ट मौलिक अभियानको दर्जा दिन सकिन्छ, जसले विकासका अन्य पहलहरूलाई पनि झक्झक्याएको छ ।

छ. नागरिक हकको प्रत्याभूति

नेपालको सरसफाइ अभियानले सृजना गरेको व्यापक उत्प्रेरणा, जन जागरण र सफलताका कारण राज्यद्वारा नेपालको संविधानमा खानेपानी र सरसफाइलाई नागरिकको मौलिक अधिकारका रूपमा संस्थागत गरिएको छ । स्थानीय शासन सञ्चालन ऐन २०७४ ले खुला दिसामुक्त र सरसफाइका अन्य क्रियाकलाप प्रवर्धन गर्नका लागि  स्थानीय सरकारलाई मुख्य रूपमा जिम्मेवारी लिन बाध्य बनाएको छ । त्यसैले तीनै तहका सरकारहरू सरसफाइका मुद्दाहरू सम्बोधन गर्न अझ बढी जिम्मेवार र उत्तरदायी बन्न पुगेका छन् ।

खुला दिसामुक्त राष्ट्रको घोषणाले सरसफाइको सुविधा प्राप्तिलाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरेको नेपालको संविधानको मर्मलाई सम्बोधन गरेको छ । खुला दिसामुक्त राष्ट्र घोषित भएको दिनदेखि नेपाल ‘सबैलाई आधारभूत सरसफाइ पुर्‍याउने’ राष्ट्रिय लक्ष एवं ‘आधारभूत सरसफाइ सुविधाको पहुँचबाट कोही नछुटुन्’ भन्ने दिगो विकास लक्ष्यको उद्देश्य प्राप्त गरी सरसफाइमा थप एक सिंढी उक्लिएको छ । यो उपलब्धि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पनालाई साकार बनाउने यात्राको एक महत्वपूर्ण कोसे ढुंगा पनि बन्न पुगेको छ ।

ज. वातावरणीय स्वच्छता र पर्यटन प्रवर्धनमा टेवा

धार्मिक, सांस्कृतिक र वातावरणीय दृष्टिले महत्वपूर्ण नदी, ताल तलैया र मठ मन्दिरको सरसफाइ गर्ने कार्यमा घनीभूत रूपमा राज्य र सरोकारवालाहरू क्रियाशील रहेको अवस्था छ । साथै सरसफाइको क्षेत्रमा ‘सरसफाइ पर्यटन’ को अवधारणाको समेत प्रवेश भएको छ । बृहत रूपमा सञ्चालन भएको वाग्मती सरसफाइ र जनकपुरधामस्थित सरोवरहरूको सफाइ यसका उदाहरण हुन् । कतिपय समुदायका वासिन्दाहरूले आफ्नो समुदाय खुला दिसामुक्त घोषणा भएपछि घरघरमा होमस्टे सञ्चालन गरेका छन् । वातावरण, पर्यटन र जीविका प्रवर्धन सम्बन्धी विभिन्न पक्षहरूको बारेमा यस पुस्तिकामा प्रकाश पारिएको छ ।

खुला दिसामुक्त नेपालः यात्रा वृत्तान्तबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार