‘हेल्लो चर्पी’ ले हल्लायो अटेरी मनहरूलाई

♦ राजु श्रेष्ठ

सल्यान जिल्लामा सञ्चालित सरसफाइ अभियानले सन् २०१५ मै सरसफाइको कभरेजलाई ५० प्रतिशतबाट ८० प्रतिशत पुर्‍याएको थियो । तर यसपछि भने अपेक्षाकृत रूपमा अभियान अघि बढ्न सकेको थिएन । सरसफाइमा शत प्रतिशत लक्ष्य हासिल गर्ने काम निकै नै चुनौतीपूर्ण बनेको थियो । चर्पी बनाउन बाँकी कतिपय परिवारहरूलाई कुनै पनि ट्रिगरिङले असर पारेको थिएन, कतिपय त चर्पीका लागि अनुदानकै अपेक्षा गरेर बसिरहेका थिए । जसले गर्दा साबिकको राप्ती अञ्चलमा सल्यान जिल्ला मात्र खुला दिसामुक्त हुन बाँकी थियो ।

चारैतिर खुला दिसामुक्त अभियानले गति लिइरहेको बेला सल्यानको सरसफाइ अभियानलाई यत्तिकै सेलाउन दिनु हुँदैन भन्ने उद्देश्यले एसएनभि र साझेदार संस्था पास नेपालले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयसँग छलफल गरी जिल्लालाई खुला दिसामुक्त बनाउने प्रभावकारी उपायको खोजी शुरु गर्‍यो । यही क्रममा सञ्चार माध्यमको प्रभावकारी उपयोगले लगभग रोकिएको सरसफाइ अभियानलाई लक्ष्यसम्म पुर्‍याउन अन्तिम धक्का दिन सक्छ भन्ने निचोडमा पुगियो । यस क्रममा स्थानीय एफएम रेडियो स्टेशनका प्रतिनिधिहरूसँगको छलफलमा ‘हेल्लो चर्पी’ नामको रेडियो कार्यक्रम सञ्चालन गर्ने विचारले जन्म लियो । यसका लागि पास नेपालले चर्पी नबनाउने सम्पूर्ण घरहरूको विवरण संकलन गर्‍यो ।


हेल्लो चर्पी रेडियो कार्यक्रम निकै नै रोचक थियो । यस कार्यक्रमका सञ्चालकले चर्पी नबनाउने घरका घरमुलीलाई फोन गरेर रोचक शैलीमा विनम्रतापूर्वक कुराकानी गर्दै छरछिमेकीहरूले आफ्नो स्वास्थ्य, इज्जत र प्रतिष्ठाका लागि चर्पी बनाएर प्रयोग गरिसक्दा तपाइँले चाहिँ हालसम्म किन चर्पी नबनाउनुभएको हो भन्ने प्रश्न सोध्ने गर्दथे । कार्यक्रम सञ्चालकले सस्तो र राम्रो गरी बनाउन सकिने चर्पीका विभिन्न प्रकारहरूका बारेमा पनि कुरा गर्थे । यो कुराकानीका क्रममा घरमुलीले ‘फलानो मितिसम्ममा चर्पी बनाउँछु’ भन्ने प्रतिबद्धता व्यक्त नगरी सुखै थिएन । पास नेपालका कर्मचारीहरू उक्त प्रतिबद्धता पूरा भएको सुनिश्चित गर्नका लागि बारम्बार सम्बन्धित घर घरमा जान थाले । प्रत्यक्ष प्रसारण हुने यस कार्यक्रमबाट सार्वजनिक रूपमा गरिएको यो प्रतिबद्धता नै रोकिएको सरसफाइ अभियान अघि बढाउने कारण बन्यो ।

हप्तामा तीन पटक प्रसारण हुने ’हेलो चर्पी’ रेडियो कार्यक्रमको ४५ मिनेट अवधिमा तीन देखि चार जना घरमुलीहरूसँगको अन्तर्वार्ता प्रसारित हुने गर्दथ्यो । यस कार्यक्रममा कुल २४० घरमुलीहरू सहभागी भए । ठूलो संख्यामा श्रोताहरूको ध्यान तान्न सफल भएको यस कार्यक्रको प्रभावले गर्दा साबिकका आठ वटा गाविसका १२ सय घरपरिवारले चार महिनाभित्र चर्पी निर्माण गरी प्रयोग गर्न थाले । सन् २०१६ को मध्यमा सल्यान जिल्लावासीहरू खुला दिसामुक्त जिल्लाको वासिन्दा भएको कुरामा गर्व गर्न सक्षम भए । खुला दिसामुक्त नेपाल : यात्रा वृत्तान्तबाट साभार गरिएको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार