जनकपुरधामको दूधमति नदी नालामा परिणत, सौन्दर्यीकरणका लागि मुख्यमन्त्री स्वच्छता अभियानको सक्रियता

जनकपुरधाम : जनकपुरधामको ऐतिहासिक दूधमति नदी नालामा परिणत भएको छ । नदीमै नाला मिसाउने तथा फोहोरमैला फालिएपछि ऐतिहासिक दुधमति नदी नालामा परिणत भएको हो । जनकपुरधाममा डम्पिङ साइट नभएपछि नगरक्षेत्रका फोहोर तथा ढल समेत विसर्जन हुँदा नदी प्रदुषित बनेको हो । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवामा उदगम स्थल रहेको दूधमती नदी जनकपुरधाम हुँदै महोत्तरीको मटिहानीसम्म बग्दछ । कुल ४६ किलोमिटर लम्बाइको दूधमति नदी मिथिलाञ्चलकै सबैभन्दा पुरानो नदीहरु मध्येको एक हो । यो नदीलाई हिन्दूधर्मावलम्बीहरुले पवित्र मान्दै स्नान गर्ने, देवकार्य, पितृकार्य गर्ने महत्वपूर्णस्थलका रूपमा लिइने गरिन्छ ।

संस्कृतिविद एवं समाजसेवी अमरचन्द्र अनिलले दूधमतीको रामायणकालिन इतिहास रहेको वताउनुभयो। डम्पिङ साइट तथा व्यक्तिको नाममा जग्गा दर्ता गर्ने भू–माफियाको गतिविधिले दूधमतीको अस्तित्व संकटमा पर्दै गएको छ । संरक्षण अभावमा नदीको पानीका साथै जलाधार क्षेत्रको गुणस्तर घट्दै गएको छ ।

नदीको संरक्षण गर्न प्रदेश सरकारको अग्रसरता

संरक्षण अभाव तथा जग्गा अतिक्रमणको चपेटामा परेपछि दुधमतिको संरक्षणका लागि प्रदेश २ सरकारले अग्रसरता देखाएको छ । नदीको सौन्दर्यीकरणका लागि प्रदेश २ सरकारले कार्य अगाडि बढाएको हो। मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत नदीको सौन्दर्यीकरण गरिने कार्य सुरु भएको मुख्यमन्त्री स्वच्छता अभियानका प्राविधिक संयोजक एवं डिभिजन सिँचाई कार्यालय धनुषाका प्रमुख भगवान झालेले बताउनुभयो ।

उहाँका अनुसार नदीको डिपिआर भईसकेको छ भने जनकपुरधामको बसविट्टीदेखि मौनी बाबाको स्थानसम्म पहिलो चरणको कार्य एक दुई दिनभित्रै सुरु हुनेछ । प्रदेश २ का सांसद रामअशिष यादवले नदीको सौन्दर्यीकरण भएपछि पर्यटकहरुको केन्द्र बन्ने छ बताउनुभयो । सौन्दर्यीकरण शुरुवात भएसंगै स्थानीयबासिन्दा हर्षित भएको ऐतिहासिक दूधमती संरक्षण समितिका अध्यक्ष सुदीप मण्डलले बताउनुभयो । मण्डलको नेतृत्वमा डेढ वर्षदेखि प्रत्येक शनिवार सफाइ अभियान सञ्चालन भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार