काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले वीर अस्पताल अगाडि जमेको ढलको पोखरी जेटर लगाएर फ्लसिङ गरेर सुकाईएको छ । बीर अस्पताल सहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी बनेपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएल ले फ्लसिङ गरेर पोखरी सुकाइएको केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी दिनुभयो । ढल फुटेका ठाउँहरु पहिचान गरी सो को मर्मत गर्ने क्रममा रहेकाले अब बीर अस्पताल अगाडि ढलको पानी जम्ने समस्या हट्ने उहाँले बताउनुभयो । केयूकेएलले केही समय अघि पनि अस्पताल अगाडि जमेको ढलको पोखरी यसरी नै सुकाएको थियो ।
ढलको पोखरी बनेको हप्ता दिन भन्दा बढी बितिसक्दा पनि यस अघि कसैले चासो दिएका थिएनन् । काठमाडौं महानगरपालिकाले यो काम आफ्नो क्षेत्राधिकारभित्रको नभएको बताएको थियो । काठमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले सडक खनेर ढल बनाउनुपर्ने हो भने काम आफूहरूले सहजै अनुमति दिने बताएका थिए ।
केयूकेएलका ढल माहाशाखाका प्रमुख अर्जुनबाबु ढकालले वीर अस्पतालभित्रैको ढल प्रणालीका कारण सो ढल सडकमा निस्किएको बताउनुभयो । उहाँले बर्खायामदेखि नै सो स्थानको ढल प्रणालीमा समस्या देखिएको बताउनुभयो ।