
काठमाडौ : पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट शव जलाउन सक्ने मेसिन जडान गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपतिनाथमा जडान गरिएको वातावरणमैत्री शवदाह गृहको अनावरण गर्नुभएको हो । पशुपति क्षेत्र विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले दाउराबाट शव जलाउने आधुनिक वातावरणमैत्री शवदाह गृह जडान गरेको हो । यस अघिको विद्युतीय शवदाह गृह पनि सन्चालनमा रहेको छ ।
हिन्दु परम्परा अनुसार शव दाउराबाटै जलाउने मान्यता राख्नेहरुले अब मेसिनमा पनि दाउराबाटै शव जलाउन पाउनेछन् । आधुनिक मेशिनको प्रयोगबाट शव जलाउँदा दाउराबाटै शव जलाउने हिन्दु संस्कार पनि जीवित रहने र वातावरणमा पनि कुनै असर नपर्ने अपेक्षा गरिएको छ । काठको खपत कम हुने र एउटा शव जलाउन अधिकतम डेढ घण्टा मात्र लाग्ने र वातावरणमैत्री पनि भएकाले यो मेसिन जडान गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
कार्यक्रममा मन्त्री भट्टराईले विश्वका हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अन्य धर्म, संस्कृति र सम्प्रदायका मानिसहरुको पनि पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने काम भइरहेको बताउनुभयो ।


1397 पटक हेरिएको 

