
काठमाडौ : महिनावारी कप, हेर्दा कप जस्तै देखिने १०० प्रतिशत उच्च गुणस्तरीय मेडिकल ग्रेड सिलिकनले बनेको हुन्छ । यो एक पटक किनेपछि १२ बर्षसम्म प्रयोग गर्न मिल्ने गरी बनाएको हुन्छ । विभिन्न रङ र आकारमा किन्न पाईने महिनावारी कप स्यानिटरी प्याड भन्दा धेरै गुणा फाइदाजनक भएकाले महिलाको रोजाईमा पर्दै गएको छ ।
महिनावारी कप यसरी प्रयोग गर्नुहोस्

महिनावारी कप यसरी नै प्रयोग गर्नुपर्छ भन्ने हुँदैन । यो योनीको आकार हेरी ठूलो, मझौला र सानो आकारमा पाइन्छ । महिनावारी कप स्ट्रिङ सहितको र स्ट्रिङ नभएको गरी दुई प्रकारको हुन्छ ।
यसको चारवटा साना साना प्वालहरु हुनछन् । यी प्वालहरु भेजिनल प्यासेजमा राखिन्छ । यसले भ्याकुम बनाइदिन्छ र प्यासेजमा अड्केर बस्छ । यो लगाएपछि युटेरस भन्दा माथि तिर पनि नजाने र प्यासेजभन्दा तल पनि नआउने मेरी स्टोप्सकी राउतले बताउनुभयो ।
यसलाई निकाल्दा अलिकति दबाएर भ्याकुम निस्कन दिनुपर्छ । त्यसपछि सहजै निकाल्न सकिन्छ । यदि पहिलो पटक प्रयोग गर्दै हुनुहुन्छ भने ३ मिनेट जत्ति पानीमा उमालेर मात्र प्रयोग गर्नुपर्छ । प्रयोग भइरहेको अवधिमा भने सफा पानीले सफा गरेर प्रयोग गर्न सकिन्छ । पानी नभएको अवस्थामा टिस्यू पेपरले पुछेर पनि प्रयोग गर्न सक्नुहुन्छ । याद राख्नुहोस् पहिलो पटक प्रयोग गर्दै हुनुहुन्छ भने ६ घण्टापछि निकालेर कति भरियो भनेर जाँच गर्नुपर्छ । यसले कति समयसम्म राख्दा कति भरिन्छ भन्ने एकीन गर्न सजिलो हुन्छ ।
महिनावारी अवधिमा प्रयोग गरेपछि फेरि सफा पानीले सफा गरेर दुई, तीन मिनेटसम्म उमालेर थैलीमा प्याक गरेर राख्नुपर्छ ।



2217 पटक हेरिएको 

