पूर्ण सरसफाइ अभियानमा हातको स्वच्छतालाई विशेष जोड दिइएको छ : कार्यक्रम व्यवस्थापक श्रेष्ठ

🔗
3
Shares

काठमाडौ : यु.एन. ह्याबिट्याटका जि.एस.एफ. कार्यक्रम व्यवस्थापक सुधा श्रेष्ठले पूर्ण सरसफाइ अभियानमा हातको स्वच्छतालाई विशेष महत्व दिएर हात धुने कामको प्रबद्र्धन गरिरहेको बताउनुभएको छ । उहाँले खुला दिसामुक्त अभियान पछिको पूर्ण सरसफाइ कार्यक्रम हातको स्वच्छता, शौचालयको प्रयोग र स्तरोन्नतिमा निरन्तरता, समुदायको सरसफाइ, महिनावारी स्वच्छताका कुरा र नगरपालिकाको संस्थागत संरचना र क्षमता अभिबृद्धिमा केन्द्रित रहेको बताउनुभयो ।

हातको स्वच्छता र यसको महत्वबारे वास खबरसँगको संक्षिप्त कुराकानीमा कार्यक्रम व्यवस्थापक श्रेष्ठले भन्नुभयो ‘‘समुदाय तहमा हातलाई कसरी स्वच्छता राख्ने भनेर प्रदर्शन गरेर पनि देखाएका छौं, पूर्ण सरसफाइका सूचकहरुलाई समेटेर हरेक घरले परिवारका प्रत्येक सदस्यहरुले शौचालय प्रयोग गरेको, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धोएको, शौचालय नियमित प्रयोग गरेको, सुरक्षित पानी मात्र पिउने गरेको जस्ता पक्षलाई प्रबद्र्धन गर्न स्वच्छ र सफा नमुना समुदाय समेत बनाएका छौं ।’’ उहाँका अनुसार यस्ता नमुना समुदायहरु कार्यक्रम लागु भएको हरेक जिल्लामा २० देखि ४० वटा सम्म बनेका छ्न् ।

हातको स्वच्छता सुनिश्चितताका लागि सुरुमा घरायसी तहलाई जोड दिईएको उहाँले बताउनुभयो । हात धुने ठाउँको उपलब्धता र हात धुने बानीको विकास गराउने काम निक्कै गाह्रो काम रहेको र कोरोना महामारीले केही हदसम्म हात धुने बानीमा विकास भएको उहाँको ठम्याई छ । उहाँले कोरोना महामारीलाई ध्यानमा राखी यस अवधिमा हातको स्वच्छतालाई बढी जोड दिइएको र घरायसी, संस्थागत र सार्वजनिक स्थानमा हात धुने स्थानको उपलब्धताका लागि ग्लोबल स्यानिटेशन फण्ड/यु.एन. ह्याबिट्याटले स्वास्थ्य संस्थामा हात धुने प्रदर्शनी गरिएको, केही स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक स्थान, हाटबजारमा हात धुने अस्थायी स्टेशनहरु राखिएको बताउनुभयो । “मानिस जमघट हुने र आवतजावत बढी हुने स्थानमा हातको स्वच्छता सुनिश्चत गरेमा संक्रमण जोखिम कम हुने र सरसफाइको सवाललाई स्थापित गर्न सहज हुने भएकोले संघसंस्थाहरुमा हातले छुनुनपर्ने हात धुने स्टेशन र सरसफाइ सामग्री सहयोग गर्यौं ।” उहाँले भन्नुभयो ।

हात धुने कामलाई व्यवहारमै रुपान्तरण गर्न ग्लोबन स्यानिटेशन फण्ड र युनिसेफको सहकार्यमा ह्याण्ड हाईजिन रोड म्यापको पनि विकास गरिसकेको उहाँले बताउनुभयो । ‘मानिसको बानीव्यहोरा तथा सोच बदल्नका लागि कस्तो किसिमको सन्देश दिँदा हुन्छ ? भनेर हामीले ह्याण्ड हाईजिनको रोड म्याप पनि तयार पारेका छौं ।’ उहाँले भन्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार