दिसाजन्य लेदो व्यवस्थापन र महिला सशक्तिकरणको सम्बन्ध

♦ श्रृजना कार्की

नेपाल खुलादिसामुक्त्त घोषणा पश्चात पूर्ण सरसफाइको अभियानमा लागी रहेको अवस्था छ । विभिन्न नगरपालिका र गाउँपालिकाहरुले खानेपानी, सरसफाइ र स्वच्ता योजना बनाएर पूर्ण सरसफाइका कार्यक्रमहरु कार्यान्वयन गरिरहेका छन् । कतिपय स्थानीय सरकारले भने पूर्ण सरसफाइ उन्मुख नमुना समुदाय तथा स्वस्थ समुदायहरु घोषणा गरिरहेका छन् ।


पूर्ण सरसफाइसँगै जोडिएर आउने जल्दोबल्दो बिषय हो, दिसाजन्य लेदोको व्यवस्थापन । स्थानीय सरकारले पूर्ण सरसफाइको अभियानलाई अघि बढाउँदा दिसाजन्य लेदो व्यवस्थापनलाई प्रमुखताका साथ समावेश गरी कार्यक्रम सञ्चालन गर्नुपर्छ । खुला दिसामुक्त अभियानका क्रममा बनेका चर्पीहरुको सेफ्टी ट्याङ्की दिसाजन्य लेदोले भरिदै जाने भएकाले दिसाजन्य लेदो व्यवस्थापनको अर्को विकल्प छैन ।

तर हालको अवस्था हेर्ने हो भने शौचालयबाट निस्कने दिसाजन्य फोहोरलाई प्रत्यक्ष खुल्ला जंगलहरुमा र खोलामा मिसाएको पाईन्छ । जसको कारण विभिन्न पानीजन्य रोगहरु देखिने, ग्रिनहाउस ग्यास उत्पादन भई वातावरणमा असर पर्ने र सफा शहरमा बस्न पाउने नैसर्गिक अधिकारको हनन भएको पाइन्छ । यी विभिन्न असरहरुलाई न्यूनीकरणका लागि बर्षेनी स्वास्थ्यमा अरबौ रकम खर्च गरी यसको आर्थिक भार सरकार तथा हामी आम जनताले त भोगिरहेका छौं भने अर्को ठूलो भार महिलाहरुले पनि भोगिरहेका छन् । जुन भारको बारेमा त्यत्ति छलफल हुने गरेको छैन ।

आई.एल.ओ.को एक प्रतिवेदन अनुसार विश्वव्यापी रुपमा हेर्दा कुल पारिश्रमिक विनाको कार्य (unpaid work) मध्येको ७६.२ प्रतिशत कार्यमा महिलाहरु संलग्न छन् । जुन पुरुषको तुलनामा ३.२ गुणा बढी हो । एसिया र प्रशान्त क्षेत्रमा यो दर अझ बढ्दो छ । झण्डै ८० प्रतिशत महिलाहरु यस क्षेत्रमा पारिश्रमिक नपाउने काम गर्छन् । यस क्षेत्रमा महिलाहरु पुरुषहरु भन्दा ४ गुणा बढी पारिश्रमिक नपाउने काम गर्दछन् ।

पितृसत्तामा आधारित समाज र हाम्रो सामाजिकीकरण प्रक्रिया हेर्दा पारिश्रमिक विनाको कार्य  (unpaid work) मा बिशेष गरी घरायसी कामहरु जस्तै सरसफाइ, खाना पकाउने, खुवाउने, बालवालिका तथा जेष्ठ नागरिक विरामी पर्दा वा अन्य समयमा हेरचाह गर्ने काम महिलाहरुले गर्ने गरेको पाईन्छ ।

शौचालयबाट निस्कने दिसाजन्य फोहोरलाई प्रत्यक्ष खोलामा मिसाउँदा विभिन्न पानीजन्य रोगहरु देखिने र यसबाट बिशेष गरी बालबालिका र जेष्ठ नागरिकहरु बढी प्रभावित हुने हुँदा घरका महिलाहरु उनीहरुको स्याहार सुसार र हेरचाहमा नै समय विताउनु पर्ने हुँदा महिलाहरुमा कार्यबोझ थपिन्छ । जसले गर्दा महिलाहरु चाहेर, नचाहेर अन्य पारिश्रमिक पाइने श्रम तथा पारिश्रमिक पाउने सेवाहरु वा अन्य सामाजिक तथा विकासका कार्यमा सक्रिय सहभागिता जनाउन पाउँदैनन् । यस यथार्थतालाई बिश्लेषण गर्ने हो भने हामी स्थानीय स्तरमा हरेक विकास कार्य वा अन्य कार्यमा महिलाहरुको सक्रिय सहभागिताको जत्ति अपेक्षा गर्छौ, त्यत्ति पाउँदैनौं ।

दिसाजन्य लेदो व्यवस्थापन प्राविधिक मात्र नभएर सामाजिक पाटो सँगै आउने विषय पनि हो । दिसाजन्य लेदाको व्यवस्थापनको कुरा गर्दा घरधुरी स्तरमा गरिने प्रशोधन र समुदाय स्तरमा गरिने प्रशोधन केन्द्रको कुरा हुन्छ । समुदाय स्तरमा प्रशोधन केन्द्र निर्माण भन्दा ठूलो यसको यसको ब्यवस्थापन पक्ष हो । जुन व्यवस्थापन पक्षमा चाहे घरधुरी स्तरमा होस वा समुदाय स्तरमा समुदायका हरेक वर्ग जातजाति, विभिन्न समूहका महिला तथा पुरुषहरु सक्रिय सहभागिता र योगदानको महत्व राख्दछ । त्यस कारण समुदायलाई सचेत गराउने देखि दायित्व बोध गराई सबैको सक्रिय सहभागितामा दिसाजन्य लेदो व्यवस्थापन गरिनु पर्दछ । दिसाजन्य लेदो व्यवस्थापनले धेरै पक्षमा सहयोग गर्दछ त्यस मध्ये स्वास्थ्यमा पर्ने आर्थिक भारमा कम गर्नुका साथै महिलाको कामको बोझ घटाउन समेत सहयोग पुग्दछ चाहे त्यो शहरी क्षेत्रमा होस वा ग्रामीण क्षेत्र ।

ग्रामीण क्षेत्रका महिलाको काम हेर्दा घाँस, दाउरा संकलन र गुईठा बनाउने अनि संकलित दाउरा र गुईठाबाट धुँवा रहित भान्छामा खाना पकाउने काम नियमित गरिने अन्य काम बाहेकका काम भित्र पर्दछन् । जुन कामका लागि महिलाहरुले समय खर्चिनुको साथ साथै आफ्नो स्वास्थ्य जोखिममा पारिरहेका छन् । उक्त समयलाई कम गरी महिलाहरुको कामको बोझ घटाउन र महिलाहरुको स्वास्थ्य सुधारका लागि पनि घरधुरी स्तरमा दिसाजन्य लेदोको व्यवस्थापनमा बायोग्यासलाई ब्यापक रुपमा चर्पी जडित बायोग्यासको प्रबर्द्वन गरी महिलाहरुलाई अन्य आयमूलक तथा सीपमूलक कार्यमा सहभागी गराउन सकिन्छ ।

बिगतमा हामी सबैले स्थानीय स्तरमा बाटो बनाउँदा त्यस बाटोमा महिला नि हिडछन भनी महिलाको शीर्षकको बजेट त्यसमा खर्चेको तितो अनुभव सँगै आगामी दिनमा भने समुदायस्तर तथा नेतृत्व स्तरबाट नै दिसाजन्य लेदो व्यवस्थापन गर्दा महिलाको कामको बोझमा कमी आउँछ र महिलाहरुलाई विभिन्न शसक्तिकरणका कार्यमा सहभागिता गराई समावेशी समाज निर्माण गर्न सकिन्छ भनी लबीङ गर्न जोड दिनुपर्छ । दिसाजन्य लेदो व्यवस्थापन गर्दा त्यसको दुरगामी सकारात्मक प्रभाव पर्ने भएकोले स्थानीय सरकारले दिसाजन्य लेदो प्रशोधन गरेर त्यसबाट उत्पादन हुने बायोग्यास होस वा मल वा प्रशोधित पानी नै किन नहोस् यसको पुनःप्रयोगको बाटोमा जानुपर्छ । यसले महिलाहरुको कामको भारलाई कम गरी महिलाहरुलाई सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा सहभागी गराउन शसक्त बनाउनेमा दुईमत छैन ।

त्यसकारण स्थानीय स्तरमा दिसाजन्य लेदो व्यवस्थापनको लागि योजनाका साथ लगानी गरी कार्यान्वयन गर्न तिर अघि बढनु पर्दछ । जसले गर्दा शहर होस वा गाउँको सभ्यता अझ बढ्नेछ, सबैले सम्मानका साथ जीवन जिउन र स्वच्छ वातावरणमा बाँच्न पाउने नैसर्गिक अधिकार प्राप्ति गर्नेछन् ।

लेखक ,वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)मा सिनियर प्रोग्राम अफिसर तथा जेन्डर फोकल पर्सनको रुपमा कार्यरत हुनुहुन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार