सरसफाइ प्रबर्द्वनमा सञ्चार क्षेत्रको अब्बल भूमिका, पूर्ण सरसफाइ प्रबर्द्वनका लागि सञ्चार रणनीतिको खाँचो

 394 पटक हेरिएको

काठमाडौ : पश्चिम नेपालको उच्च पहाडी जिल्ला बाजुराका सञ्चारकर्मी प्रकाश सिंह अहिले पनि अखबार, टेलिभिजन र एफ.एम. रेडियोमा सरसफाइका सवालको खोजी गरिरहनुहुन्छ । जिल्ला खुला दिसामुक्त घोषणा पछि पनि सरसफाइका सवाल ज्यूँका त्यूँ छन् । बेला बेलामा सञ्चार माध्यममा आउने समाचारमूलक साम्रग्री उहाँका लागि पर्याप्त लाग्दैनन् ।


यस्तै लाग्छ, सुदूर पूर्वको झापाको सदरमुकाम भद्रपुरमा रहेर पत्रकारिता गरिरहेका रोहित काफ्लेलाई । खुला दिसामुक्त अभियानका क्रममा झापा सञ्चार माध्यमले खेलेको भूमिका अहिले कम भएको हो र यसलाई तीव्रता नदिइकन पूर्ण सरसफाइ स्थापित नहुने उहाँको धारणा छ ।

आफू सम्पादक रहेको दैनिक अखबारको एकै अंकमा पाँच वटासम्म सरसफाइ प्रबर्द्वनका समाचारलाई स्थान दिने हिमाल खरेल अहिले अनलाइन समाचार पोर्टल सञ्चालन गर्नुहुन्छ । उहाँ सम्पादक प्रकाशक रहेको अनलाइनमा अहिले विरलैमात्र पूर्ण सरसफाइ प्रबर्द्वनका खवर आउँछन् । “खुला दिसामुक्त अभियानका क्रममा एउटा मात्र सवाल थियो : जसरी भए पनि चर्पी बनाउने र खुला दिसामुक्त जिल्ला घोषणा गर्ने”, खरेलको भनाइ छ, “पूर्ण सरसफाइ अभियानको क्रममा स्थापित गर्ने गहन महत्वका दर्जनौं सवाल छन्, जुन खोतल्न थालनी नै भएको छैन ।”

“दिनहूँ सयौं जना जम्मा हुने बस बिसौनी र हाट बजारमा शौचालय सुविधा छैन । विद्यालयहरुमा अझै पनि नाम मात्रका शौचालय छन् । जिल्लाको आधा भन्दा बढी जनसंख्या हेर्दा नै रातो देखिने प्रदूषित पानी पिउन वाध्य छ, विद्यालयमा विद्यार्थीहरुले दिसा पिसाव च्यापेर बस्नुपर्ने अवस्था छ”, खरेल भन्नुहुन्छ, “छात्राहरुले स्यानिटरी प्याड बिसर्जन गर्ने ठाउँ छैन, विद्यालयमा । यी सबै सवाललाई पुनः एक पटक स्थापित गर्नुपर्नेछ ।”

समस्याको सवालीकरणमा सञ्चार क्षेत्र

नेपालको सरसफाइ अभियानलाई गहिरो गरी विश्लेषण गर्ने हो भने कुनै पनि सवाललाई स्थापित गर्नका लागि सञ्चार क्षेत्रले अहम् भूमिका खेलिरहेको छ । ‘चर्पी नभएको घरमा पनि के छोरी दिनु ?’, ‘मोबाइल बोक्न सक्ने गरिब हुँदैनन्’, ‘घरमा चर्पी नहुने शिक्षकले कस्तो शिक्षा देलान् ?’, ‘घरमा चर्पीको व्यवस्था गर्न नसक्नेले के को छोरी चेलीको इज्जतको कुरा गर्नु ?’ जस्ता विषयलाई स्थापित गर्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुहुन्छ खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारी । “सन् २००३ सम्म चर्पी भनेको प्राविधिकको विषय हो भनेर सीमित हिस्साको कब्जामा रहेको सवाललाई सामाजिक सवाल बनाउने कार्यमा समाजशास्त्रीय/मानवशास्त्रीय दृष्टिकोण र सञ्चार क्षेत्रको कभरेजको उत्तिकै महत्वपूर्ण भूमिका छ”, समाजशास्त्री अधिकारीको भनाइ छ, “सञ्चार क्षेत्रले नै भि.आई.पी. हरुलाई पनि खुला दिसामुक्त अभियानमा लाग्न वाध्य बनाएका प्रशस्त उदाहरण नेपालमा छन् ।”


खानेपानी, सरसफाइ तथा स्वच्छताका सवाललाई मिनेट भरमै जिल्लाभर फैलाउने काममा सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेलेका कारण पनि जिल्ला खुला दिसामुक्त घोषणा भै पूर्ण सरसफाइमा समेत फड्को मार्न सकेको बताउनुहुन्छ लामो समयदेखि सरसफाइ प्रबर्द्वनमा क्रियाशील प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीका कार्यकारी निर्देशक प्रेमनारायण गैरे । “सीमित संघसंस्था र निकाय मात्र खानेपानी, सरसफाइ तथा स्वच्छताका सरोकारवाला हुन् भन्ने मान्यतालाई भत्काउन पनि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका खेल्यो”, उहाँको भनाइ छ, “सूचना तथा जानकारी प्रसारण गर्नेदेखि राम्रो काम गर्नेलाई हौसला दिने र सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्र महत्वपूर्ण खम्बाको रुपमा रह्यो ।”

सञ्चारकर्मीको स्थलगत अनुगमन र दवाव

सञ्चारकर्मीहरुले समाचार प्रकाशन प्रसारण गर्ने मात्र नभै स्थलगत अनुगमन र दवाव सृजना गर्नाले ओझेलमा परेका विषयहरु सम्बोधन भएको पाइन्छ । “झापाका सन्दर्भमा कुरा गर्ने हो भने हामीले तीन दर्जन विद्यालयमा पुगेर त्यहाँ बन्द रहेका चर्पीका ताला फोडेका छौं, दिसाले भरिएका शौचालय आफै सफा गरेका छौं र स्वास्थ्य संस्थामा थुप्रिएको फोहरलाई खाडल खनेर व्यवस्थापन गर्न लगाएका छौं”, सरसफाइ प्रबर्द्वन मिडिया मिसनका सदस्य हिमाल खरेलको भनाइ छ, “विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको बैठक बसालेर सुधारको योजना बनाउन लगाई त्यसको अनुगमन समेत गरेका छौं ।”


कच्ची खाल्डे चर्पी सुरक्षित सरसफाइ प्रबर्द्वनमा समस्याको रुपमा देखिएपछि सञ्चारकर्मीहरुले ‘कच्ची चर्पी भत्काउने अभियान’ सञ्चालन गरेर सुरक्षित सरसफाइ प्रबर्द्वनलाई गति दिएको सम्झनुहुन्छ झापा जिल्ला खुला दिसामुक्त अभियानमा सहारा नेपालको तर्फबाट कार्यक्रम संयोजक किसन गौतम । “हामी अभियानकर्ताहरु पुग्दा कच्ची चर्पी भत्काउन नदिने र सुरक्षित चर्पी समेत नबनाउने घरधुरीमा सञ्चारकर्मी साथीहरुको स्थलगत ‘एक्सन’ ले निकै सहयोग पुग्यो”, गौतम भन्नुहुन्छ, “दिउँसो स्थलगत एक्सन लिने, साँझ समाचार प्रकाशन प्रसारण हुने गर्दा समुदायमा निकै सकारात्मक माहौल बन्यो ।”

खुला दिसामुक्त अभियानको गुणस्तर अनुगमनमा समेत सञ्चारकर्मीहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको सम्झनुहुन्छ यू.एन. ह्याबिट्याटका सप्तरी जिल्ला संयोजक हरि बूढाथोकी । “नेपाल पत्रकार महासंघ नै जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको सदस्य हुने प्रावधान थियो, महासंघको तर्फबाट अध्यक्ष नै सबैजसो स्थलगत अनुगमनमा पुग्नुभयो”, बूढाथोकी भन्नुहुन्छ, “महासंघका अध्यक्ष नै फिल्डमा पुगेपछि स्थानीय तहलाई समेत गुणस्तर कायम गर्न दवाव सृजना हुनेरहेछ ।”

सीमित सञ्चारकर्मी वा सञ्चार गृह मात्र नभै जिल्लामा रहेको सिंगो सञ्चार क्षेत्र नै सरसफाइ अभियानको मुख्य साझेदारको रुपमा रहेकोले पनि जिल्लामा अभियानको गुणस्तर कायम हुनुका साथै छोटो समयमा जिल्ला खुला दिसामुक्त घोषणा हुन सकेको बताउनुहुन्छ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ झापाका सचिव बाबुराम कार्की । “सबैजसो गुणस्तर अनुगमन र प्रमाणीकरण अनुगमनमा सञ्चारकर्मी सहितको संयुक्त टोली बनाएर गयौं”, कार्कीको भनाइ छ, “गुणस्तरमा सम्झौता गरी खुला दिसामुक्त घोषणाका लागि हतारिने प्रवृत्तिलाई कम गर्न सञ्चारकर्मीको फिल्ड अनुगमनले सघायो ।”


सञ्चार क्षेत्रले प्राथमिकताका साथ समस्या र सवालहरु उजागर गरिसकेपछि जिल्ला र प्रदेशका मुख्य सरोकारवालाहरुले समेत स्थलगत भ्रमण गरी सरसफाइ प्रवद्र्धनमा क्रियाशील भएको सम्झनुहुन्छ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेल । “मिडियामा दवावमूलक समाचार आउन थालेपछि दुईवटै प्रहरी संगठनका जिल्ला प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी लगायतको टोली हामीसँगै समस्याग्रस्त क्षेत्रमा पुगेर छलफल तथा अन्तरक्रिया गर्ने र सरसफाइको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि क्रियाशील हुन निर्देशन दिने काम भयो”, अध्यक्ष पोर्तेलको भनाइ छ, “जिल्लाका प्रमुखहरु गाउँ पुग्न थालेपछि सरसफाइ झनै चासो र सरोकारको विषय बन्न पुग्यो ।”

रणनीतिक सञ्चार साझेदारीको परिणाम

नेपालको खुला दिसामुक्त अभियानको एक महत्वपूर्ण विकास साझेदार ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको तर्फबाट विभिन्न जिल्लामा सञ्चार सहकार्यमा प्रत्यक्ष संलग्न जिल्ला संयोजक विनोद शर्माका भनाइमा कार्यक्रमको सञ्चार साझेदारीको नीतिकै कारण सञ्चार सहकार्य प्रभावकारी हुन पुगेको हो । “हामी कार्यरत सबै जिल्लामा ‘सूचनाको पारदर्शिता’ मा ध्यान दिनुका साथै सरसफाइलाई एक प्रमुख सवालको रुपमा स्थापित गर्नका लागि सहकार्य गर्‍यौं”, शर्माको भनाइ छ, “ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले थालनीदेखि नै सञ्चार सहकार्यलाई कार्यक्रमका प्रमुख चार खम्बामध्ये एक मान्दै आएको छ ।”


मोफसलमा विषयगत पत्रकारिता (बिट पत्रकारिता) फस्टाइ नसकेको अवस्थामा सञ्चार क्षेत्रलाई सही सूचना, सही समयमा र सही ढाँचामा उपलब्ध गराउन नसक्दा सवालहरु ओझेलमा पर्ने गरेको पाइन्छ । तर, शर्मा भने सञ्चार क्षेत्रलाई सूचना उपलब्ध गराउनुभन्दा पनि सूचनाको श्रोतसम्म पहुँचको अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुहुन्छ । “हामी विकास सहजकर्ताहरुले सूचना कब्जा गरेर राख्नुभन्दा पनि सूचनामा सञ्चार क्षेत्रको पहुँच पुग्नुपर्छ”, उहाँ भन्नुहुन्छ, “सबै सञ्चारकर्मीहरु सबै विषयमा विज्ञ नहुने हुनाले विकास सहजकर्ताहरुले विषयगत बुझाइ स्पष्ट पार्न सहयोग गर्नुपर्छ ।”

यू.एन. ह्याबिट्याटको यही सहज रणनीतिका कारण आफूहरु सरसफाइ अभियानको एक प्रमुख साझेदारको रुपमा रहन सकेको विकास पत्रकारिताको अभ्यास गरिरहेका झापाका पत्रकार रोहित काफ्लेको अनुभव छ । “सूचना र जानकारीका भोका हामी सञ्चारकर्मीलाई सूचनामा कहिल्यै पनि कमी भएन, त्यसैले पनि सञ्चार अभियान सञ्चालन गर्न सक्यौं”, काफ्ले भन्नुहुन्छ, “यू.एन. ह्याबिट्याटको सहजीकरण नहुँदा पनि सरसफाइका मुद्दाले पत्रकारितामा स्थान पाइरहेका छन् ।”

सञ्चार क्षेत्रबाट सामाजिक दायित्वबोध

सरसफाइलाई विकास साझेदार र स्थानीय तहको सरोकारको विषयको रुपमा हेर्ने गरिन्थ्यो । यस मान्यतालाई चिर्नका लागि पहिले सञ्चार क्षेत्रले आफ्नो सामाजिक दायित्वबोध गरेर सरसफाइ तथा स्वच्छतालाई प्राथमिकता दिएको स्मरण गर्नुहुन्छ, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका तत्कालीन सचिव एवम् स्थानीय देउराली एफ.एम. का समाचार प्रमुख प्रेमनारायण आचार्य । “त्यसबेला हामीले गरेको मिडिया कभरेज हेर्दा लाग्छ कि त्यतिबेला सरसफाइ बाहेक मिडिया कभरेजका लागि अन्य सामाजिक सवाल नै थिएनन् ।” ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रम अन्तर्गत सञ्चारकर्मीहरुका लागि आयोजना गरिएको क्षमता अभिवृद्धि कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी भैरव रिसालको सहजीकरणपछि आफूहरु प्रभावित भएको र सरसफाइलाई बहुसरोकारको सामाजिक सवालको रुपमा स्थापित गर्न सिंगो सञ्चार क्षेत्र एकजुट भएर लागेको आचार्यको भनाइ छ ।

अनुदानमुखी पद्धतिबाट निर्देशित खुला दिसामुक्त र सरसफाइ प्रबर्द्वन कार्यलाई ‘व्यक्तिको आधारभूत जिम्मेवारी’को विषय बनाउने कार्यमा सञ्चार माध्यमहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुहुन्छ, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व अध्यक्ष शोभाखर पन्थी । “प्रकाशन प्रसारण गरेवापत सञ्चार माध्यमले पैसा नै खोज्छन् भन्ने मान्यता भन्दा हामी माथि उठ्न सक्यौं”, पन्थीको भनाइ छ, “लेनदेनको दायराभन्दा बाहिर गैसकेपछि आलोचनात्मक र फराकिलो दृष्टिकोणबाट सामाजिक बहस सृजना गरियो, जसले सरसफाइलाई अनुदानको विषय नभै व्यक्ति र परिवारको आधारभूत जिम्मेवारीको विषयको रुपमा स्थापित गर्न सक्यो ।”

पूर्ण सरसफाइमा समेत रणनीतिक साझेदारीको आवश्यकता : हिमाल खरेल (सरसफाइ प्रवद्र्धन मिडिया मिसन, झापा)

देश खुला दिसामुक्त घोषणा भयो, तर पूर्ण सरसफाइ प्रवद्र्धनको ठूलो कार्यभार बाँकी छ । खानेपानी, सरसफाइ र स्वच्छता नै स्वस्थ र समृद्ध जीवनका आधार रहेछन् भन्ने अहिलेको कोरोना कहरले समेत पुनः प्रमाणित गरेको छ । खुला दिसामुक्त अभियानका क्रममा बनेका कतिपय चर्पी बिग्रे भत्केका छन्, तिनको मर्मत सम्भार अहिले छायाँमा परेको छ । दिगो विकास लक्ष्यले भने अनुसार सुरक्षित सरसफाइ सुविधामा स्तरउन्नति गर्ने बल्लतल्ल थालनी भएको छ । संस्थागत सरसफाइ सुविधा अहिले पनि कमजोर छन् । प्रयोगकर्तामैत्री सरसफाइ संरचना बन्न सकेका छैनन् । घरायसी सरसफाइ, वातावरणीय सरसफाइ र सुरक्षित पानीको प्रयोग गर्न अझै पनि सिकाइरहनुपर्ने आवश्यकता र अवस्था छ । भावी पुस्ताको सुनिश्चित भविष्यका लागि पनि धर्तीलाई रासायनिक प्रदूषणको चपेटाबाट बचाउनुपर्नेछ । सरसफाइ भन्नासाथ ‘चर्पी बनाउने’ भन्ने बुझाइलाई बदलेर यसलाई ‘जीवनपद्धति’ मा रुपान्तरण गर्नुपर्नेछ । सञ्चार क्षेत्रको सक्रिय र सार्थक भूमिका विना यो सब असम्भव छ ।

खानेपानी, सरसफाइ तथा स्वच्छताका सवालमा केन्द्रित हुने बैकल्पिक सञ्चार माध्यमलाई प्रबर्द्वन गर्नाले सञ्चार क्षेत्रमा गहन रिपोर्टिङ (In-Depth Reporting) लाई सघाउँछ, तर पर्याप्त भने हुँदैन । त्यसैले, यस क्षेत्र केन्द्रित सञ्चार माध्यम र मूलधारका सञ्चार माध्यम दुबैसँग साझेदारी गर्दै पूर्ण सरसफाइलाई राष्ट्रको इज्जत, जनस्वास्थ्य, प्रतिष्ठा, आवश्यकता, संवैधानिक हक र मानव अधिकारको सवालको रुपमा स्थापित नगरेसम्म टुक्रे प्रयासहरुले सार्थकता पाउन सक्तैनन् । सरसफाइ अभियानको पहिलो खुड्किलो मात्र पार भएको छ, अझै धेरै चुनौती बाँकी छन्, प्रष्ट्याउनुपर्ने विषय बाँकी छन् र खोतल्नुपर्ने यसभित्रका सवालहरु बाँकी छन् । सरसफाइ गुरुयोजना २०६८ ले सञ्चार क्षेत्रलाई समेत अघि बढ्न निकै सहयोग पुग्यो । त्यसैले, अब बन्ने पूर्ण सरसफाइ गुरुयोजनाले सञ्चार रणनीति कस्तो हुनुपर्छ भन्ने मार्गचित्र कोर्नुपर्ने आवश्यकता छ । सोही मार्गचित्रलाई संघीयदेखि स्थानीय सरकार र सम्पूर्ण विकास साझेदारले पछ्याउन सकेमा मात्र पूर्ण सरसफाइ एक प्रमुख सवालको रुपमा स्थापित हुन सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार