♦ जगतराज रेग्मी

केही वर्ष अघिको अवस्थालाई फर्केर नियाल्दा कपिलवस्तु जिल्ला सरसफाइ सम्बन्धी सुविधा र उचित बानी व्यहोरा अवलम्बनका हिसाबले निकै पछि परेको जिल्लामा गनिन्थ्यो । देशमा सरसफाइ अभियान निकै अघि बढिसक्दा पनि यस जिल्लामा सरसफाइका गतिविधि ज्यादै नगण्य रूपमा रहेका थिए । यस्तो अवस्थामा हामी जस्ता शिक्षकहरूको मनमा अब केही त गर्नै पर्छ भन्ने हुट्हुटीले सताउनु स्वाभाविक थियो । किनभने विद्यालयको सरसफाइको अवस्था पनि अत्यन्त नाजुक थियो । विद्यालयमा चर्पी नभएकाले छात्रछात्राहरू दिसापिसाब गर्न जङ्गल, खोला र झाडीतिर जान बाध्य थिए ।
साबुन पानीले हात धुने (फूर्तिलो) समूह, वातावरण सरसफाइ गर्ने (सुकिलो) समूह, शौचालय सफा गर्ने (मेहेनती) समूह, पिउने पानीको धारा सफा गर्ने (निरोगी) समूह र पुनर्जलीय उपचार (स्वास्थ्य) समूहमा छात्रछात्राहरूलाई विभाजन गरियो ।
यही सन्दर्भमा २०५८ मंसिर २ देखि ४ गतेसम्म जिल्ला शिक्षा कार्यालय कपिलवस्तुले जिल्लाभरिका विद्यालयका सबै शिक्षकहरूलाई विद्यालय सरसफाइ सम्बन्धी तालिम प्रदान गर्यो, जुन तालिम नै कालान्तरमा पञ्च प्राथमिक विद्यालय (हाल पञ्च आधारभूत विद्यालय) लाई नेपालको विद्यालय सरसफाइ प्रवर्धनका क्षेत्रमा अग्रणी बनाउने आधार बन्यो । तालिमबाट फर्केर आउने बित्तिकै त्यहाँ पाएको ज्ञान अनुसार हामीले विद्यार्थीहरूको ‘सृजनशील बाल क्लब’ नामक क्लब गठन गर्यौं । यस अन्तर्गत पाँच वटा विधामा सरसफाइ अभियान प्रारम्भ भयो । यसका लागि साबुन पानीले हात धुने (फूर्तिलो) समूह, वातावरण सरसफाइ गर्ने (सुकिलो) समूह, शौचालय सफा गर्ने (मेहेनती) समूह, पिउने पानीको धारा सफा गर्ने (निरोगी) समूह र पुनर्जलीय उपचार (स्वास्थ्य) समूहमा छात्रछात्राहरूलाई विभाजन गरियो ।

करीव दुई दशक बित्न लाग्दा पनि यी समूहहरू प्रारम्भकै उत्साह अनुसार कार्यरत छन् । यसैगरी बाल क्लब, विद्यार्थीहरू र शिक्षक वर्गको संलग्नतामा विद्यालयमा सरसफाइ आचार संहिता निर्माण गरी कार्यन्वयन गरियो । सरसफाइको दिगोपन सम्बन्धी कुनै राष्ट्रिय नीति तर्जुमा हुनु अघि नै बालबालिकाहरूलाई सरसफाइलाई जीवनशैली बनाई बानी व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन बाल क्लबले सरसफाइका सूचकहरू तय गर्यो । यी सूचकहरू हासिल गर्नका लागि पाँच वटै समूहले आ–आफ्नो भूमिका तदारुकताका साथ निर्वाह गरे । फलस्वरूप विद्यालय सरसफाइमा नमूना बन्यो ।
व्यावहारिक ज्ञानको समुदायमा अनुसरण
विद्यालय मात्र सरसफाइयुक्त भएर सरसफाइ अभियान पूरा हुन नसक्ने ठहर गरी २०६९ भदौमा बालक्लब, शिक्षक र विद्यार्थीहरू मिलेर विद्यालयको सेवा क्षेत्र बैजलपुर र उत्तर पिपरा गाँउमा सरसफाइ सम्बन्धी र्याली, नाटक, गीत, सम्मान, स्याबासी आदि कार्यक्रम शुरु गरियो । करिब एक वर्षसम्म यो अभियान सञ्चालन भएपछि २०६० साउन २६ गते बैजलपुर र उत्तर पिपरा गाउँमा बेग्लाबेग्लै खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भए । दुवै समितिले शौचालय बनाउने र प्रयोग गर्ने कामको अनुगमन गर्न थाले । यसै सन्दर्भमा तत्कालीन जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय, युनिसेफ कपिलवस्तु र तत्कालीन खानेपानी तथा ढल निकास विभागको पर्याप्त सहयोग रह्यो । शौचालय र सरसफाइको महत्व बताउदै सबैलाई शौचालय बनाउन टोल अनुसार समूह गठन गरी काम बाँडफाँड गरियो ।
सुकुम्बासी बस्तीमा रहेको ४२ घरमा शौचालय बनाउन निकै कठिनाईको सामना गर्नु परे पनि २०६२ माघ २५ गते सुकुम्बासी बस्ती लगायत समुदायका सम्पूर्ण ३१६ घरधुरीमा शौचालय बनेर प्रयोग हुन थाले । विद्यालय परिवार र खानेपानी तथा सरसफाइ कार्यालयको तर्फबाट शौचालय प्रयोगको अनुगमन भयो । अनुगमनबाट शतप्रतिशत घरहरूमा शौचालय बनेर साबुन पानी समेत प्रयोग भएको देखिएपछि २०६२ फागुन ४ बैजलपुर र उत्तर पिपराका सम्पूर्ण गाँउबासीको उपस्थितिमा “खुला दिसामुक्त हाम्रो गाउँ, हेर्न मन लागे उत्तरपिपरा, बैजलपुर जाऊँ” भन्ने नारा सहितको होर्डिङ बोर्ड अनावरण गरी सरसफाइ सम्बन्धी प्रतिबद्धता जाहेर गर्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरियो ।
यो विद्यालय र यसको सेवा क्षेत्रमा हालसम्ममा नेपालका ४५ जिल्लाका प्रतिनिधिहरूबाट सरसफाइ सम्बन्धी क्रियाकलाप र अपनाइएका पद्धतिहरूको अवलोकन भएको छ, जुन हालसम्म निरन्तर चलिरहेको छ । २०७० कार्तिक ५ देखि ७ गते काठमाडौमा सम्पन्न पाँचौ साकोसानमा नेपालको प्रतिनिधित्व गर्दै पञ्च आधारभूत विद्यालय बैजलपुरले कार्यपत्र पेश गरेको थियो भने विभिन्न समयमा देशका विभिन्न ठाउँमा सञ्चालित तालिम सहजीकरण गर्ने अवसर गर्ने प्राप्त भएको थियो । हाल विद्यालय सेवा क्षेत्रलाई पूर्ण सरसफाइको अवस्थातर्फ लैजान शौचालयको प्रयोग, साबुन पानीले मिचीमिची हात हुने बानीको दिगोपना, घर आँगनको सरसफाइ, सुरक्षित पानी, सुरक्षित खाना र वातावरणीय सरसफाइ जस्ता सूचकहरू तय गरिएको छ । यसरी २०७६ भदौ ३१ गते खुला दिसामुक्त घोषणा भएको कपिलवस्तु जिल्लालाई आगामी पाँच वर्ष भित्र पूर्ण सरसफाइ जिल्लाका रूपमा परिचित गराउने लक्ष्यका साथ यहाँको सरसफाइ अभियान अघि बढेको छ । जिल्लामा पञ्च आधारभूत विद्यालयको भूमिका महत्वपूर्ण रहेको छ ।

फोटोहरु :विनोद धौलागिरी । खुला दिसामुक्त नेपाल : यात्रा वृत्तान्तबाट साभार गरिएको ।


1246 पटक हेरिएको 

