जमुनाबोझी राजापुर नगरपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख गाउँ

 1981 पटक हेरिएको
🔗
7
Shares

भिष्म लोध/ नेपालगञ्ज : बाँकेको राजापुर नगरपालिकाको वडा न ६ मा पर्ने जमुनाबोझी गाउँलाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको छ । सरसफाइ कार्यक्रमको निरन्तरता दिँदै आएको यस वडाको जमुनाबोझी गाउँलाई नगरपालिकाकै पहिलो पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो । प्रदेश सांसद दिवेश थारु, राजापुर नगरपालिकाकाका मेयर शिव प्रसाद थारु र उपमेयर मनकला कुमारी चौधरीले गाउँलाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्नुभएको छ । यस गाउँलाई घोषणा गर्नका लागि अढाई महिना अघिदेखि तयारी शुरु गरिएको थियो ।

एक वर्षअघि देखि नै सरसफाइको कार्यक्रममा जोड गरिएको र यस नगरपालिकाभरिकै पहिलो सरसफाइ उन्मुख क्षेत्रका रुपमा जमुनाबोझी गाउँलाई घोषणा गर्न सफल भएको वडा अध्यक्ष महेश चौधरीले जानकारी दिनुभयो । यो गाउँमा ७३ घरधुरी रहेका छन् । सबैको घरमा पूर्ण सरसफाइका सूचकहरु पुरा भएका छन् । वडा अध्यक्ष चौधरीका अनुसार यसका वडाको श्रीपुर, महादेवली, माहु, मानपुर लगायतका गाउँ, टोललाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्ने चरणमा रहेका छन् ।

यस वडालाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गर्नका लागि बिगतमा प्लान नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ, आई डि एस नेपाल लगायतले सहयोग गरिरहेको वडा अध्यक्ष चौधरीले बताउनुभयो । नेपाल सरकारले जारी गरेको पूर्ण सरसफाइ मार्गदर्शन २०७३ मा सन् २०३० सम्म सबैको लागि र सधैको लागि पूर्ण सरसफाइको अवस्था हासिल गर्नेतर्फ उन्मुख हुने उल्लेख छ ।

सरसफाइ मार्गदर्शनका अनुसार योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, घरायसी एवं संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ गरी सात वटा सूचक भित्रका सहायक सूचकहरु पुरा भएपछि कुनै पनि क्षेत्रलाई सफा र स्वच्छ क्षेत्र भनी स्व–घोषणा वा प्रमाणीकरण गर्न सकिनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार