मौलिक विधिको वलमा राष्ट्र बन्यो खुला दिसामुक्त : पूर्ण सरसफाइका लागि कस्तो तयारी चाहिन्छ ?

♦ विनोद धौलागिरि/विराटनगर
♦ पी. टी. लोप्चन/काठमाण्डौ

◊ तराई मधेश क्षेत्रमा खुला दिसामुक्त अभियानको थालनीताका सुनसरी जिल्ला संयोजक काशिकान्त ठाकुरलाई तालिममा सिकाइएका खुला दिसामुक्त गराउने प्रज्वलनका विधिहरु अपूगजस्तै लाग्थ्यो । जति नयाँ ठाउँ, उति नै नयाँ अवस्था, नयाँ समस्या । नयाँ ठाउँमा, नयाँखाले समस्याासँग जुझ्दै जाँदा खुला दिसामुक्त अभियानमा नयाँ विधि जन्मियो : मिसन ओ.डि.एफ, सुनसरी जिल्लाको ब्राण्डको रुपमा ।

◊ ज्यादै कमजोर संस्थागत सरसफाइ, भएका संस्थागत चर्पी पनि प्रयोग नहुने । विद्यालयका चर्पी भताभुंग, विद्यार्थी दिसा पिसाव गर्नका लागि झाडीतर्फ । अर्कोतर्फ मापदण्ड पूरा नगरेका असुरक्षित कच्ची चर्पी देखाउँदै समुदायले सुरक्षित चर्पी बनाउनै नमान्ने, न त वडास्तरीय समितिहरुले नै ती कच्ची चर्पीलाई सुधारिएको चर्पीले विस्थाापित गर्न सक्ने । उपायको खोजी गर्दै जाँदा सञ्चारकर्मीहरुले फिल्डमा नै गएर ‘एक्सन’ लिनुपर्ने अवस्था सृजना भयो । यही ‘एक्सन’ ले नै अन्ततः ‘मिडिया फिल्ड मिसन’ को ब्राण्ड बनायो ।

◊ सरसफाइ अभियान सहजकर्ताहरुले सहजीकरण गर्दा चर्पी बनाउन तयार हुने, तर उनीहरु फर्किएपछि फेरी छेपाराको उखानजस्तै, न चर्पी बनाउने न त खुलामा दिसा गर्ने काम नै बन्द गर्ने । सहजकर्ताहरु हैरान भएपछि सम्पूर्ण सरोकारवाला र स्थानीय समुदायको प्रतिवद्धतालाई व्यवहार उतार्नका लागि नैतिक दवाव सृजनाको उपाय खोज्दै जाँदा सर्लाही जिल्लामा विकास भयो : ‘सरसफाइ सत्याग्रह’ ।

◊ युवा सहजकर्ताहरुमा रहेको जोस, प्रतिवद्धता र अठोट, नतिजाका लागि हुटहुटी । यही प्रतिवद्धता र जिम्मेवारीलाई बारा जिल्लाका युवा सहजकर्ताहरुले प्रक्रियागत रुपमा स्थापित गरे : सरसफाइ संघर्ष शिविर । संघर्ष शिविर पछिल्ला दिनमा महोत्तरी जिल्लालाई खुला दिसामुक्त गराउन समेत सहायकसिद्ध भयो ।

खुला स्थानमा दिसा गर्नेहरुलाई दिमागमा झड्का लगाउँदै आफूले गरिरहेको व्यवहारप्रति घृणा उत्पन्न गराई सुरक्षित चर्पीको निर्माण गरी त्यसमा मात्र दिसा पिसाव गर्ने र खुलामा दिसा गर्ने वानीलाई पूर्ण रुपमा बन्द गराउनका लागि ‘प्रज्वलन’ गर्ने विधि खुला दिसामुक्त गराउनका लागि ‘समुदायमा आधारित पूर्ण सरसफाइ’ अन्तर्गत नयाँ पद्धति र अवधारणा थियो । सहभागितामूलक ग्रामीण लेखाजोखा (Participatory Rural Appraisal) का पिताको रुपमा चिनिने रबर्ट च्याम्बर र कमल कारले थालनी गरेका प्रज्वलन (Triggering) विधिहरु दक्षिण एशिया मात्र नभै विश्वभर नै जस्ताको त्यस्तै अवलम्वन गरिए । “तर, नेपालमा यति छिटै मौलिक विधि र औजार (Tools) को प्रयोग र अभ्यास गरियो कि तालिम अभिमुखीकरणहरुमा सिकाइएका विधिहरु नै फिक्का लाग्न थाले”, सन् २००९ मा नेपालमा पहिलो पटक आयोजना गरिएको पूर्ण सरसफाइका लागि प्रज्वलन प्रशिक्षक प्रशिक्षणका सहजकर्ता समेत रहेका यू.एन. ह्याबिट्याटका सरसफाइ तथा स्वच्छता विश्लेषक मदनकुमार मल्ल भन्नुहुन्छ, “अवस्था र आवश्यकता अनुसार नयाँ प्रयोग गर्दै जाँदा मौलिक विधिहरुको जन्म हुँदै गयो, जसले नेपालको सरसफाइ अभियानलाई सार्थक निस्कर्षमा पुर्‍याउने काम मात्र गरेन, अभियानलाई विश्वभर नै चिनाउन पनि सफल भयो ।”

अभियानको क्रममा गर्दै, सिक्दै

मोरङको रंगेली नगरपालिका, वडा नं.७ (माथि) र झापा गाउँपालिकाको सितुमारी (तल) मा निर्माण गरिएका सामुदायिक चर्पी । रंगेलीमा भूमिहिनका लागि एकै ब्लकमा चर्पी निर्माण गरिएको छ भने सितुमारीमा एकै स्थानमा अलग अलग चर्पी निर्माण गरिएको छ । तस्वीर : विनोद

सन् २००३ ताका समुदाय तहमा खुला दिसामुक्त अभियान थालनी भएदेखि नै प्रज्वलन र उत्प्रेरणाका लागि स्थान र परिवेशविशेष तौरतरिका अपनाउँदै आएको पाइन्छ । यसै क्रममा २००४/२००५ मा नेपालको मौलिक पद्धतिको रुपमा ‘विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ’ को विकास गरियो, जुन नेपालका धेरै जिल्लाहरुमा विस्तार भयो । मूलतः मध्य तराईदेखि पश्चिम तराई र पहाडी क्षेत्रमा समेत यस पद्धतिअनुसार विद्यालय सेवा क्षेत्रहुँदै साविकका सिंगै गाविसहरु खुला दिसामुक्त घोषणा गरिए । “खासमा, विद्यालयको अगुवाइमा सेवा क्षेत्रमा सरसफाइ अभियानलाई तीव्र बनाएपछि नै सरसफाइ समुदायको सवालको रुपमा स्थापित हुन सक्यो”, आफ्नो विद्यालय सेवा क्षेत्रलाई नेपालकै पहिलो खुला दिसामुक्त क्षेत्र बनाउन नेतृत्वदायी भूमिका खेल्नुभएका पञ्च आधारभूत विद्यालय बैजलपुर कपिलबस्तुका प्रधानाध्यापक जगत रेग्मी सम्झनुहुन्छ, “शिक्षक, विद्यार्थीको पहलमा अभिभावक उत्प्रेरित भैसकेपछि एकीकृत पहल चालियो, जसले समुदायलाई नै खुला दिसामुक्त गराउन निर्णायक ऊर्जा प्रदान ग¥यो ।”

क्षेत्रगत प्रज्वलन (Sector Triggering) सरसफाइ प्रवद्र्धनमा नेपालको अर्को मौलिक विधि हो, जुन मूलतः सन् २०१२ देखि सबैजसो जिल्लामा कुनै न कुनै रुपमा थालनी गरियो । “विभिन्न क्षेत्रका अगुवाहरुलाई आफ्नो दायित्व र जिम्मेवारीवोध गराउँदै सरसफाइ अभियानमा उहाँहरुको प्रतिवद्धता र सोको कार्यान्वयनको खोजी गर्ने विधिको रुपमा क्षेत्रगत प्रज्वलनको विकास भयो”, यस अवधारणाका एक सर्जक खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारी भन्नुहुन्छ, “मूलतः राजनीतिक क्षेत्र, सहकारी, युवा क्लब, आमा समूह, शिक्षक, निजी क्षेत्र लगायतलाई सरसफाइका सरोकारवालाको रुपमा स्थापित गरी अभियानलाई तीव्रता दिन यस विधि निकै फलदायी रह्यो ।”

चर्पी हुने घरधुरीलाई पहिचान र प्रमाणीकरणका लागि थालनी गरिएको सरसफाइ परिचयपत्र चर्पी नहुने घरधुरीका लागि वाध्यकारी अस्त्रको रुपमा समेत प्रयोग गर्न थालियो । चर्पी हुनेलाई प्रोत्साहन गर्न र नहुनेलाई नैतिक दवाव दिनका लागि यसको प्रयोग गरिएको जानकी महिला जागरण समाज धनुषाका टिम लिडर विष्णुकुमार भण्डारी बताउनुहुन्छ ।

जटिलताले सिकाएका विधिहरु

संघर्ष शिविर अन्तर्गत महोत्तरीमा विभिन्न तीर्थस्थलको तस्वीर छुवाएर चर्पी बनाउनका लागि प्रतिवद्धता लिंदै अभियान स्वयंसेवक र सहजकर्ताहरु, तस्वीर : गोविन्द सुवेदी

‘पाइखाना, घरका गहना’ होस् या ‘सरसफाइ…अपने लेल’ भन्ने ट्याग लाइन नै किन नहून्, सरसफाइलाई सामाजिक सवालको रुपमा स्थापित गर्न निकै सहयोग पुगेको बुझाइ सामाजिक अभियानमा सक्रिय जनकपुर युथ डेमलपमेण्ट फोर्सका सरोज मिश्रको छ ।

वि.सं. २०६८ आषाढदेखि जिल्लाहरु नै खुला दिसामुक्त घोषणा हुन थाले । एक दर्जनभन्दा बढी जिल्लाहरु नै खुला दिसामुक्त घोषणा भैसक्दा पनि मध्य तराई मधेश क्षेत्रमा खुला दिसामुक्त अभियानले तव्रिता पाउन सकेको थिएन । यसे क्रममा पूर्वी तराइको जिल्ला सुनसरीमा चर्पी नै नबनाउने र बनाइहाले पनि त्यसमा दिसा पिसाव नगर्ने कार्यलाई रोक्ने क्रममा मिसन ओडिएफ जन्मिएको बताउनुहुन्छ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीका तत्कालीन प्राविधिक र हाल कोशी गाउँपालिका सुनसरीका सरसफाइ फोकल पर्सन ललिता लम्साल । “मिसन ओडिएफको मुख्य उद्धेश्य खुल्लामा दिसा गर्नु सामाजिक अपराध हो भन्ने भावना विकसित गराउनु थियाो र खुल्लामा दिसा गर्ने कार्यप्रति सामाजिक अस्वीकृति जन्माउनु नै हो”, लम्साल भन्नुहुन्छ, “मैले आफ्नै जग्गामा दिसा गरेको छु, कसको के बिगारिदिएको छु र भन्दै अटेर गर्नेहरुलाई खुल्लामा दिसा गर्दा कानुनी कारवाही समेत हुन सक्छ भन्नेसम्मको भावना जागृत गराउनका लागि समेत मिसन ओडिएफ सञ्चालन गरियो ।” उहाँकै शब्दमा भन्ने हो मिसन ओडिएफ खुलामा दिसा गर्ने वानी विरुद्धको प्रतिरोधी अभियान थियो, जसले समुदायमा व्याप्त मौनताको संस्कारलाई तोड्नका लागि समेत भूमिका खेल्यो ।

‘गहना जेवर रुप श्रृंगार, चर्पीविना सब बेकार’ भन्ने नारालाई सबैको मुख मुखमा झुण्ड्याएर चर्पीको महत्व बुझाउन सकेको बताउनुहुन्छ यू.एन. ह्याबिट्याट बारा जिल्ला संयोजक उमा सिंखडा ।

विहान सबेरैदेखि साँझ अबेरसम्म समुदयमा सरसफाइ प्रबर्द्वनका लागि योजनावद्ध रुपमा क्रियाशील हुँदै जाँदा ‘डेराडण्डा’ र ‘आवासीय परिचालन’ को अवधारणा जन्मिएको बताउनुहुन्छ समाज उत्थान युवा केन्द्र धनुषाका टिम लिडर सुजितकुमार मण्डल । “सहजकर्ता र समुदायका युवाहरु समुदायभित्रै निश्चित स्थानमा बसी विहान सबेरै खुलामा दिसा हुने स्थानमा गश्ती गर्ने, त्यसपछि घरदैलो गरी चर्पी बनाउनका लागि अनुरोध गर्ने र दिउँसो संस्थागत परिचालनका लागि समन्वय गर्ने गरिन्थ्यो”, मण्डल सम्झनुहुन्छ, “चर्पी बनाउनका लागि आपूर्ति पक्षको व्यवस्थापन गर्नुका साथै असहाय घरधुरीलाई चर्पी बनाउनका लागि श्रमदान र सामग्री सहयोग जुटाउने कामपछि पुनः साँझमा खुलामा दिसा गर्ने स्थानमा गश्ती गरिन्थ्यो ।” यतिलेमात्र डेरा डण्डा र आवासीय परिचालको दैनिकी कहाँ सकिन्छ र ? साँझमा समुदायमा भेला गरी सरसफाइ प्रबर्द्वन र आनिवानी परिवर्तनका लागि वृत्तचित्र प्रदर्शन गरी प्रतिवद्धतासहित त्यस दिनका क्रियाकलाप सकिन्थे । सामान्यतः डेरा डण्डा साविकको एक गाविसभित्र १५ दिनसम्म नियमित रुपमा सञ्चालन गरिन्थ्यो ।

धनुषाको प्र.खे. महुवामा पहिचान सहितको पोशाक लगाएर सामुहिक तस्वीर खिचाउँदै युवा दस्ताका सदस्यहरु । तस्वीर : सुजितकुमार मण्डल

जिल्लाका मुख्य साझेदार र सहजकर्ताहरुको संयुक्त अभियानको रुपमा रहेको सरसफाइ संघर्ष शिविरले बारा, सर्लाहीदेखि महोत्तरीसम्म खुला दिसामुक्त अभियानलाई तार्किक निस्कर्षमा पुर्‍याउन बल मिलेको बताउनुहुन्छ यू एन. ह्याबिट्याटका धनुषा/महोत्तरी जिल्ला संयोजक गोविन्द सुवेदी । “खुला दिसामुक्त अवस्था हासिल गर्नका लागि आवश्यक बल लगाउँदै विपन्न र वञ्चितीमा पारिएकाहरुलाई निर्माणका लाागि सहयोग समेत गरियो”, सुवेदीको भनाइ छ, “सहजकर्ता र साझेदारसँगै समुदायका अगुवा र युवाहरुको समेत सहभागिता हुने भएकोले श्रमदान, स्थानीय सामग्री व्यवसथापन, नैतिक एवम् सामाजिक दवाव र व्यक्ति एवम् समुदायलाई प्रज्वलन गरी प्रतिवद्धता लिंदा खुला दिसामुक्त अभियामा सोचेभन्दा राम्रो सफलता हासिल भयो ।”

युवाहरुले पहिचानसहित सरसफाइ गुरिल्लाको अवधारणा पश्चिम तराईको दाङबाट सुरु भयो, जसलाई डेराडण्डा, आवासीय परिचालन र सरसफाइ संघर्ष शिविरले अझै समृद्ध बनाउने काम गर्‍यो ।

सरसफाइ व्यवहार परिवर्तनमा कमजोर देखिएका समुदायमा पुगेर समुदायलाई छलफल, अन्तरक्रिया गर्नुका साथै सुधारिएको चर्पी बनाउन नमान्ने घरधुरीमा कच्ची चर्पी भत्काउने, विद्यालय एवम् अन्य संस्थागत सरसफाइको अनुगमन गरी तत्स्थानमा सुधारका लागि प्रतिवद्धता लिने र त्यसलाई सोही दिन समाचार र लेखको रुपमा प्रकाशन प्रसारण गर्ने ‘मिडिया फिल्ड मिसन’ ले खुला दिसामुक्त अभियानमा रौनकमात्र थपेन, साझेदारलाई जिम्मेवार बनाउँदै जिल्ला नै खुला दिसामुक्त अवस्थामा पुर्‍याउन सघायो ।

नयाँ सामाजिक मान्यता निर्माणको प्रयास

खुला दिसामुक्त अभियान सिर्फ चर्पी बनाउने अभियानमात्र थिएन, यो नयाँ सामाजिक मान्यता समेत स्थापित गर्ने अभियान थियो । चर्पी बनाउनका लागि अनुदानकै खोजी गर्ने समुदायलाई ‘हातमा मोबाइल बोक्नेहरु गरिब हुँदैनन्’ भन्ने मान्यता स्थापित गर्न होस् या चर्पीलाई घरको गहनाको रुपमा स्थापित गरेर होस्, अनुदानमुखी अवधारणालाई चिर्ने क्रममा नयाँ सामाजिक मानकको जन्म भयो । ‘गहना जेवर रुप श्रृंगार, चर्पीविना सब बेकार’ भन्ने नारालाई सबैको मुख मुखमा झुण्ड्याएर चर्पीको महत्व बुझाउन सकेको बताउनुहुन्छ यू.एन. ह्याबिट्याट बारा जिल्ला संयोजक उमा सिंखडा ।

चर्पी नभएको घरमा छोरीलाई विहे गरेर नदिनु भन्ने कुारमा जोड दिएर बनाइएको ‘जेकर घरमे चर्पी नहीं ओमर घरमे सादी नहीं’ भन्ने नाराले चर्पी बनाउनैपर्छ भन्ने मान्यतालाई स्थापित गर्न सघाएको बताउनुहुन्छ जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति धनुषाका तत्कालीन जिल्ला कार्यदल संयोजक विजयकुमार यादव । ‘पाइखाना, घरका गहना’ होस् या ‘सरसफाइ…अपने लेल’ भन्ने ट्याग लाइन नै किन नहून्, सरसफाइलाई सामाजिक सवालको रुपमा स्थापित गर्न निकै सहयोग पुगेको बुझाइ सामाजिक अभियानमा सक्रिय जनकपुर युथ डेमलपमेण्ट फोर्सका सरोज मिश्रको छ । यसमाथि पनि, समय समयमा देखाइने सडक नाटक र त्यसमा बोलिने चोटिला सम्वादहरुले युवाहरुलाई सरसफाइ अभियानमा गोलबन्द गर्नका लागि निकै हदसम्म भूमिका खेलेको रंगदर्पण नाट्य तथा कला केन्द्रका रितेस साहको भनाइ छ ।

समुदाय नै सिकाइका श्रोत केन्द्र

खुला दिसामुक्त अभियानका क्रममा समुदायमा घुलमिल भएर कामन गर्दा धेरै सिकाइ भएको अनुभव सुनाउनुहुन्छ यू.एन. ह्याबिट्याटका अर्घाखाँची जिल्ला संयोजक शिवराज न्यौपाने । “पश्चिम बाजुरा र रसुवादेखि मध्यको दोलखा र अर्घाखाँचीसम्म समुदायमा पुगेर गरिने छलफल, अन्तरक्रिया, बैठक र स्थलगत भ्रमणबाट नै हामीलाई धेरै सिकाइ भयो”, न्यौपानेको भनाइ छ, “एक ठाउँका राम्रा अभ्यासलाई अको ठाउँमा अनुशरण गर्दा अझै परिस्कृत हुँदै प्रभावकारिता वृद्धि भएको पाइयो । वास्तवमा, समुदाय नै हाम्रा सिकाइका पाठशाला र विश्वविद्यालयजस्तै बने ।”

खुला दिसामुक्त संघर्ष शिविर अन्तर्गत खुला स्थानमा दिसा गर्नेहरुले प्रयोग गर्ने पानीको भाँडा खोसेर जम्मा गरिन्थ्यो र तिनलाई देखाउँदै समुदायमा प्रज्वलित गरिन्थ्यो । तस्वीर : गोविन्द

खुलामा दिसा गर्नेलाई पहेंलो फूलको माला लगाएर स्वागत गर्ने र चिया खुवाएर पठाउने होस् वा लोटा खोस्ने अभियान होस्, सबै समुदायमा छलफल गर्दाका उपज हुनन् । मोरङ जिल्लाको कटहरी गाउँपालिकामा खुलामा दिसा गर्नेलाई ड्रोन क्यामेराबाट फोटो खिच्ने काइदा समेत समुदायमा छलफलका क्रममा नै निस्किएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङका अध्यक्ष नरेश पोखरेलको भनाइ छ । “स्थानीय तहहरु खुला दिसामुक्त हुन नसकिरहेको समयमा त्यहाँका प्रमुख उपप्रमुखको सहभागितामा एक दिनको कार्यशाला गरियो, र अन्तमा खुला दिसामुक्त गर्ने उहाँहरुको प्रतिवद्धतापछि सबैलाई पहेँलो फूलको माला लगाइयो”, अध्यक्ष पोखरेलले भन्नुभयो, “खुला दिसामुक्त नगरेसम्म त्यो दिसाको रंगको प्रतिनिधित्व गर्ने पहेंलो माला भन्दै प्रज्वलन गरेपछि उहाँहरु यति धेरै कटिवद्ध हुनुभयो कि, दुई महिनाभित्रै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न सक्यौं ।”

चर्पी हुने घरधुरीलाई सम्मान र नहुनेहरुलाई प्रज्वलनका लागि चर्पी हुने घरधुरीमा हरियो झण्डा गाड्ने र हरियो स्टिकर लगाउने अभियानले समेत समुदायलाई सुरक्षित चर्पी निर्माण गर्न र सरसफाइयुक्त व्यवहार अवलम्वन गर्न निकै हदसम्म सहयोग पुग्यो ।

लक्ष्यलाई भेटाउन सहयोगी क्रियाकलाप

प्रज्वलन, घरदैलो, अभिमुखीकरण, नियमित अनुगमन र प्रतिवद्धता लिने कार्यले चर्पी बनाउनका लागि तयार हुने दर बढायो । यस क्रममा आपूर्ति पक्षलाई बलियो बनाउन र विपन्न तथा असहायहरुलाई सहयोग गर्नका लागि सरसफाइ बजारीकरणको प्रबर्द्वन गरियो । दिगो सरसफाइ प्रवद्र्धन समुदायको समेत जिम्मेवारीको विषय भएको वोध गराउन र सरसफाइ प्रवद्र्धनमा बाह्य अनुदानको आशालाई न्यूनीकरणका लागि दानविर अभियान सञ्चालन गरी सक्नेले नसक्नेलाई, हुनेले नहुनेलाई र सम्पन्नले विपन्नलाई सहयोग गरी समुदायलाई खुला दिसामुक्त गरेको बताउनुहुन्छ ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका सिराहा/सप्तरी जिल्ला संयोजक हरि बूढाथोकी ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमले सहजीकरणमा साझेदारी गरेका स्थानमा स्थानीय तहमा थालनी गरिएका जोड कोषले सरसफाइ प्रवद्र्धनका लागि साधन श्रोत जुटाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुहुन्छ विराट सामुदायिक अध्ययन केन्द्र झापाका कार्यक्रम अधिकृत अर्जुनकुमार पाठक । “खुला दिसामुक्त अभियानको क्रममा साविक गाविस, नगरपालिका र नगरपालिकाका वडा तहमा स्थापना गरिएका सरसफाइ कोषमा हामीले कार्यक्रमको तर्फबाट सहयोग गर्नका लागि जोड कोषको रुपमा रकम जम्मा गर्नुपर्ने प्रावधान थियो, जसले गर्दा साविकका गाविस र नगरपालिकाहरुले सरसफाइ प्रबर्द्वनात्मक क्रियाकलापका लागि बजेट व्यवस्था गर्ने कार्यको थालनी भयो”, पाठक सम्झनुहुन्छ, “त्यस क्रममा सहकारी, सामुदायिक वन, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुले समेत सरसफाइ कोषमा सहयोग गर्नुभयो, फलस्वरुप विपन्नलाई सहयोग गर्न वा प्रबर्द्वनात्मक क्रियाकलाप गर्नका लागि बाहिरकाहरुसँग सरसफाइ तथा स्वच्छता समन्वय समितिहरुले हात पसार्नुपर्ने वाध्यता हटेर गयो ।”

 

साविकका गाविस, नगरपालिका र वडा तहमा सरसफाइ सम्मेलन भए, सामुहिक प्रतिवद्धता व्यक्त गरियो र त्यसलाई कार्यान्वयनमा ल्याउने र अनुगमन गर्ने संयन्त्र बन्यो । “सामाजिक अभियानहरु कति सुव्यवस्थित रुपमा अघि बढाउनुपर्छ भन्ने कुराको उदाहरण नै थियो, खुला दिसामुक्त अभियान”, जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका सदस्य एवम् अनुगमन समिति सदस्य बाबुराम कार्की भन्नुहुन्छ, “युवाहरुले श्रमदान गरे, बालबालिकाले चर्पी बनाउनका लागि चर्पी नहुने शिक्षकलाई लिखित अनुरोधपत्र पठाए, प्रमुख जिल्ला अधिकारीलाई साक्षी राखेर छोराछोरीले चर्पी बनाइदिनका लागि अभिभावकलाई अनुरोध गरे, चर्पी नहुने विद्यालयलाई महिनावारीको समयमा छात्राहरुले ‘यातनागृह’ को संज्ञा दिएका समाचार प्रकाशन र प्रसारण भए । यी सबै स्वतस्फूर्त जन्मिएका अभियानका ऊर्जादायक विधिहरु थिए ।”

विधिहरुको क्रमवद्ध प्रयोग र एकीकृत पहल

मिडिया फिल्ड मिसन अन्तर्गत झापाको पथरियामा विद्यालयको बन्द चर्पी खोल्न लगाएर अनुगमन गर्दै सञ्चारकर्मीहरु । तस्वीर : विनोद

यी र यस्तै दर्जनौं मौलिक विधि र उपायहरुको बलमा देश नै खुला दिसामुक्त हुन सफल भयो । अनुदानमुखी अवधारणाबाट शून्य अनुदान पद्धतिमा फड्को मारेर खुला दिसामुक्त हुन सजिलो भने थिएन । सरसफाइ गुरुयोजना २०६८ ले सरसफाइ प्रबर्द्वनका लागि एकमुष्ठ अनुदान नदिए पनि विपन्न र असहायहरुलाई सहयोग गर्नका लागि बाह्य अनुदानमा भर पर्नुभन्दा पनि आवश्यकता अनुसार ‘स्थानीय सहयोग संयन्त्र’ तयार गरी आवश्यक कोषको प्रवन्ध गर्न मार्गनिर्देश गरेको थियो ।

हातैमा आएको अनुदानलाई सहयोग संयन्त्रमा बदल्नु कम्ती चुनौतिपूर्ण भने थिएन । “चर्पी बनाउने घरधुरीले वि.सं. २०६९/०७० सालतिर पनि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट आंशिक सहयोग पाउँथे, त्यस रकमलाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको निर्णयबाट एकमुष्ट साविक गाविसको सरसफाइ कोषमा जम्मा हुनेगरी नीतिगत निर्णय गरियो”, जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति सदस्य समेत रहेका प्रकाश सचेतन समूह (प्राग) अर्घाखाँचीका कार्यकारी निर्देशक प्रेमनारायण गैरे सम्झनुहुन्छ, “साविक गाविस खुला दिसामुक्त घोषणा भैसकेपछि डिभिजन कार्यालयबाट सरसफाइ कोषमा जम्मा गरेको रकम खुला दिसामुक्तको दिगोपन र पूर्ण सरसफाइ प्रबर्द्वनका लागि प्रयोग गरियो ।”

अन्य दर्जनौं कार्यक्रममा चर्पी बनाउनका लागि अनुदान दिने प्रावधान भने कायमै थियो । सुनौला हजार दिन आयोजना, बहुक्षेत्रीय पोषण कार्यक्रम, वातावरणमैत्री स्थानीय शासन लगायतका कार्यक्रममा भएको अनुदानको प्रावधानलाई स्थानीय सहयोग संयन्त्रणमा रुपान्तरण गरी खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको निर्णय अनुसार परिचालन गर्ने व्यवस्था गर्न निकै पापड बेल्नुपरेको सम्झनुहुन्छ धनुषा जिल्ला कार्यदलका संयोजक विजयकुमार यादव ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु, खुला दिसामुक्त घोषणा, गाउँ सरसफाइ सम्मेलन लगायतका अवसरमा आफ्नै लगानीमा सुरक्षित चर्पी बनाउने, सरसफाइ कायम राख्ने घरधुरीलाई पुरस्कृत गर्ने परिपाटीले सरसफाइलाई ‘पुरस्कार र सम्मानको विषय’ बनायो ।

पूर्ण सरसफाइ अभियान अब स्वास्थ्य, वातावरण र जीविकोपार्जनका माध्यमबाट समृद्धिमा केन्द्रित हुनुपर्छ 


पूर्ण सरसफाइ अभियानको चरणमा प्रज्वलनको अवधारणा र विधि कस्तो हुनुपर्ला ?

हामीले खुला दिसामुक्त अभियानको थालनीदेखि अहिले पूर्ण सरसफाइ अभियानको चरणसम्म आइपुग्दा प्रज्वलनका मौलिक विधिहरु प्रयोग गर्‍यौं । दिमागप्रधान भन्दा पनि दिलप्रधान विधिहरुलाई हामीले मौलिक विधिको रुपमा अघि बढायौं ।

हिजोका दिनमा हामीले सरसफाइलाई आत्मसम्मान र स्वाभिमानको विषयको रुपमा जोड दिएका थियौं, र त्यससँगै स्वास्थ्य र विकासलाई समेत जोडेका थियौं । तर, सरसफाइ र विकासबीचको अन्तरसम्बन्धमा धेरै जोड दिन सकेका थिएनौं, विकासको सवाल केही पछाडि परेको थियो ।

अबको प्रज्वलन भनेको योजनाको चरणदेखि नै थालनी हुनुपर्छ । आवश्यकता पहिचान, सरोकारवालाको विश्लेषण, श्रोत साधन पहिचान र परिचालन, विभिन्न विषयहरुको कार्यकारण सम्बन्ध पत्ता लगाउने र विभिन्न विषयबीचको अन्तरसम्बन्धलाई अबको चरणमा स्थापित गर्नुपर्छ । अबका दिनमा, सरसफाइलाई स्वास्थ्य र जीविकोपार्जनको विषयको रुपमा स्थापित नगरेसम्म सफल हुन सकिदैन । त्यसेले, अबको पूर्ण सरसफाइ भनेको विकासका लागि, वातावरणीय दीगोपननका लागि, स्वास्थ्य र समग्रमा समृद्धिका लागि हुनुपर्छ । हिजोका दिनमा जस्तो दिसा कोट्याउने या झिंगाको खुट्टा गनेर दिसाको हिसाव गर्नेजस्ता विधि अबको चरणमा काम लाग्दैनन् ।

पूर्ण सरसफाइको चरणमा व्यवहार परिवर्तनमा केन्द्रित हुनुपर्ने छ, र जीविकोपार्जनलाई समेत सँगसँगै जोडेर लैजानुपर्ने छ । यसका लागि सहयोगी विधिहरुको प्याकेज नै तयार गर्न सकिदैन ?

हिजोका दिनमा प्रज्वलन भन्ने कुरा एकल विषयको रुपमा रहेको थियो । तालिम अलग्गै थियो, योजना अलग्गै थियो, समुदायमा परिचालन अलग्गै थियो, समुदायमा गएर फेरी प्रज्वलनका विधि प्रयोग गरिन्थ्यो । अब भने त्यसरी अलग अलग गरेर हुँदैन ।

आधाररेखा सर्वेक्षण गर्छौं भने त्यसको नतिजाबाट नै प्रज्वलित गर्नुपर्छ ता कि गतिलो योजना बन्न सकोस्, कार्यान्वयनको प्रक्रिया गतिलो बनेस् र अनुगमन सँगसँगै प्रभावकारी हुन सकोस् । विभिन्न विषयको कार्यकारण सम्बन्धको खोजी गरी त्यसलाई सम्बोधन हुनेगरी योजना गर्नुपर्छ ।

स्थानीय सरकारकै कुरा गर्ने हो भने पालिकाभित्र बहुविषय र पहुपक्ष छन् । त्यहाँ प्रशासन छ, सुरक्षा छ, कृषि पशुपालन, सामाजिक विकास सबै छन् । स्वास्थ्य र शिक्षा त झनै विशाल विषय छन् । वातावरण र न्यायका आफ्नै इकाइ र संरचना छन् । यी सबैलाई एकीकृत रुपमा लैजानुपर्छ, र सरसफाइलाई सबै विषयसँग अन्तरसम्बन्धित विषयको रुपमा लैजान सक्नुपर्छ ।

पूर्ण सरसफाइका लाागि गरिने प्रज्वलनमा यी र यस्तै यतिवटा विधि हुन्छन् भन्नुभन्दा पनि पूर्ण सरसफाइलाई अन्य सबै विषयसँग जोडेर, वातावरण, स्वास्थ्य र जीविकोपार्जनसँग सँगै लैजानेगरी प्याकेज तयार गर्न सकिन्छ, र गरिनुपर्छ । यसका लागि गरिने अबका प्रयासहरु तथ्य, खोज र अनुभवमा आधारित भएर गरिनुपर्छ । पूर्ण सरसफाइ जीविकोपार्जन र आर्थिम भौतिक समृद्धिसँग जोडेर लगिएन भने अब समुदायले पत्याउँदैन ।

त्यसो भए पूर्ण सरसफाइका अबका मुख्य सूचक कस्ता हुनुपर्ला ?

चर्पीको निर्माण, समुचित प्रयोग र स्तरोन्नति त भैहाल्यो । यसबाहेक स्वास्थ्य र वातावरणसँग जोडिएका पानीको शुद्धीकरण, दिसाजन्य लेदो व्यवस्थापन र व्यक्तिगत सरसफाइ भए पुगिहाल्यो नि । अन्य सानातिना विषयलाई यिनी सूचकभित्र राख्न सकिन्छ । जुन विषयको Frequency र स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर बढी छ, तिनैलाई मुख्य सूचक बनाएर लैजानुपर्छ ।

अब बन्दै गरेको पूर्ण सरसफाइ गुरुयोजनाले पूर्ण सरसफाइ प्रवद्र्धनका विधि, पद्धति र तौरतरिकालाई कसरी दिशानिर्देश गर्ला ?

साझेदार संस्था एवम् निकायहरुबीच साझेदारीको अवधारणा, सरसफाइको अन्तरसम्बन्ध लगायतका विषयलाई पूर्ण सरसफाइ गुरुयोजनाले केही दिशानिर्देश गर्न सक्छ । हिजोका दिनमा खुला दिसामुक्त अभियानका क्रममा हामी दिमागप्रधान नभएर दिलप्रधान रुपमा अघि बढ्यौं । अब भने योजना, साधन श्रोतको पहिचान, सरोकारवाला विश्लेषण, स्वास्थ्य र सरसफाइदेखि जीविकोपार्जन, आर्थिक समुन्नति र समग्र विकासको बाटोमा अघि बढ्नुपर्छ । गुरुयोजनाले यसलाई एउटा Framework मा राखेर दिशानिर्देश गर्न सक्छ ।

समय, परिस्थिति र ठाउँ सुहाउँदो नवीनतम अभ्यासहरुमा जोड दियौं 


हामीले सरसफाइमा हिमाल, पहाड, तराई गरी सबै विशेषता भएको भूगोलमा काम गर्‍यौं र त्यहीको समय, परिस्थिति र ठाउँ सुहाउँदो नवीनतम अभ्यासहरु पनि गर्‍यौं । जस्तो उदाहरणका लागि सरसफाइलाई विकास निर्माणका अन्य पूर्वाधारहरु सँग सम्बन्ध स्थापित गर्‍यौं । सुनसरीमा शिक्षाले इच् वान टिच वान कार्यक्रम सञ्चालन गरेको थियो । हामीले पनि उक्त कार्यक्रमलाई लिङ्क गरेर हरेक व्यक्तिले सरसफाइको कुरा चाहिं अर्को व्यक्तिलाई पनि सम्झाउनु पर्‍यो भनेर कार्यान्वयन गरेका थियौं । त्यसपछि चर्पी बनाऔ, विकास लैजाउ भनेर विकास सँग लिङ्क गर्‍यौं । तपाईको घर वा तपाईको समुदायमा सबैले चर्पी बनाएर, एकदम सरसफाइयुक्त भयो भने त्यसलाई प्राथमिकतामा राखेर अन्य विकासका गतिविधिहरु जस्तो कल्भर्ट, बाटो बनाउने, ग्राभेल गरिदिने, पुलपुलेसा बनाउने र पूर्ण सरसफाइ उन्मुख समुदाय बन्यो अर्थात घोषणा गर्न सफल भयो भने उनीहरुलाई अन्य कार्यक्रम पनि दिने भनेर कतिपय पालिकाको वडाले निर्णय नै गर्न थाल्यो । यो सरसफाइको क्षेत्रमा भएको एउटा नवीन प्रयास नै हो ।

यस्तै सुरु सुरुमा स्कुलको सेवा क्षेत्रको ३० घरलाई पनि खुला दिसामुक्त घोषणा गर्ने चलन ल्यायौ । पछाडि पारिएका, दलित, जनजाति, आदिवासीहरुले पनि आफ्नो समुदायलाई खुला दिसामुक्त घोषणा गर्न थाल्यो भने अर्को गाउँलाई पनि प्रतिष्ठाको सवाल हुन्छ । अनि फलाना गाउँले गर्दा हामीले किन गर्न नसक्ने ? हामी पनि गर्छौ भनेर अरुले पनि गर्छन् भन्ने हिसाबले सुरु गर्‍यौं । त्यसपछि विद्यालयको सेवा क्षेत्र भित्रका समुदायलाई खुला दिसामुक्त घोषणा गर्‍यौं । अनि विद्यालय सेवा क्षेत्र हुँदै वडामा पुग्यौं, वडालाई गर्दै तत्कालीन गाउँ विकास समितिलाई गर्‍यौं । जिल्ला भरिका गाउँ विकास समितिलाई समेट्यौं । यसरी आंशिक बाट पूर्ण तिर गयौं । आंशिक देखि पूर्णमा जाँदा स्कुल सेवा क्षेत्रलाई पनि घोषणा गर्ने हुँदा स्कुलका चर्पीहरु पनि सुधार भयो । बालबालिकाको सरसफाइको बिषयमा पनि दृष्टि पुग्यो । स्कुल सेवा क्षेत्र भित्रका संघसंस्थाहरु वडा कार्यालय, सामुदायिक भवन, स्वास्थ्य संस्था, प्रहरी चौकी जस्ता संस्थामा समेत सरसफाइको सुनिश्चितता गर्ने कामहरु अगाडि बढ्यो । त्यो पनि साँच्चिकै रचनात्मक काम नै थियो सरसफाइका लागि ।

अब पूर्ण सरसफाइयुक्त समुदाय घोषणा गर्ने क्रममा सरसफाइका जत्ति पनि सूचकहरु छन्, ती सूचकहरुमा हामीले नै यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्दा पनि उनीहरुले नै योजना बनाउन लगाउने, जस्तो कुन सूचकलाई पहिलो प्राथमिकता दिनुहुन्छ ? दोस्रो प्राथमिकता कुन सूचकलाई दिनुहुन्छ । किनकि त्यो त आवश्यकतामा आधारित हुनुपर्‍यो नि । त्यो हिसाबले काम गर्दा उनीहरुले अपनत्व ठान्यौ, पैसा समुदायबाटै उठायो र लगानी ग¥यो । समुदायकै सहयोगी भावना भएका मानिसहरुलाई पनि समेट्यो । त्यस्तै समुदायमा रहेका महिला समूह, युवा क्लव, वन उपभोक्ता समूह, खानेपानी उपभोक्ता समिति, किशोरी समूह, सहकारी संस्थाहरुलाई समेटेर कुन संघसंस्था र कुन व्यक्ति विशेषबाट कस्तो सहयोग लिन सकिन्छ भनेर वर्गीकरण गरेर त्यो अनुसार सहयोग लिएकाले कार्यक्रम अभियानको रुपमा परिणत भयो । होइन भने कार्यक्रम प्रोजेक्टको रुपमा जान्थ्यो । प्रोग्रामको रुपमै मात्र जान्थ्यो । त्यो भनेको बाहिरको डोनरले, बाहिर सहयोगी निकायले सहयोग गरेको खण्डमा मात्र चल्थ्यो । तर यहाँ स्वतःस्फूर्त रुपमा समुदायबाट आफै जागरुक भएर समुदायबाटै पैसाको जोहो गरेर अगाडि बढेकाले दिगो पनि भयो ।

मानिसको धारणा तथा व्यवहार परिवर्तन गर्ने भन्ने कुरा धेरै गाह्रो काम हो । हामी पनि कहिलेकाही यो गर्न हुँदैन भन्ने थाहा हुँदा हुँदै त्यही काम गरिरहेका हुन्छौं नि । त्यसैले व्यवहार परिवर्तन एकैपटक हुने होइन, बानीको विकास गराउँदै लैजाने हो । यसका लागि के कारणले भइरहेको छैन ? बानीको विकास हुन नसक्नुमा त्यस्तो के छ ? यो कुरा भन्यो भने चाहिं पक्कै पनि हुन्छ भन्ने हामीले पत्ता लगाउन सक्यौं भने त्यो गर्न सजिलो हुन्छ । त्यसैले पहिलो कुरा कारणको जरा खोतल्नुपर्छ । यसका लागि गाउँमा गएर, उनीहरुसँग बसेर, छलफल गरेर, उनीहरुलाई छलफल गर्न सक्ने वातावरण बनाएर त्यही छलफलबाट समाधानको खोजी पनि गरियो भने खुला दिसामुक्त अभियान जस्तै पूर्ण सरसफाइ अभियानलाई पनि सफल बनाउन सकिन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार