मानवमलमूत्र व्यवस्थापनको क्षेत्रमा नेपालको अवस्था र अबको आवश्यकता : सरसफाइ विज्ञ सुमन शर्मासँग वास सम्वाद

नेपाल खुलादिसामुक्त राष्ट्र घोषणा भएपछि सिद्धान्ततः सबै जनसंख्यामा आधारभूत स्तरको सरसफाइ सुविधा पुगेको छ । सबै घरमा चर्पीको प्रबन्ध भएपछि अब सरसफाइको काम सकियो भनेर सरसफाइ सम्बन्धी कार्यक्रममा कतिपय गाउँपालिका/नगरपालिकाले पूर्ण बिराम लगाई सकेका छन् ।

तर त्यसो होइन । सबैको घरमा शौचालय बनाएर खुला दिसामुक्त क्षेत्र घोषणा गरेपनि सरसफाइको थप काम गर्न बाँकी नै छ । खुला दिसामुक्त घोषणा गर्नु भनेको सरसफाइको पहिलो खुड्किलो मात्रै हो । खुला दिसामुक्त घोषणा गरेपछि घर घरमा बनेका चर्पीको खाडलमा वा सेफ्टिक ट्याङ्कीमा जम्मा भएको मानवमलमूत्र कि खोलानालामा छोडिएको छ, कि बनजंगलमा छोडिएको छ कि त यत्तिकै खाडल भित्र वा सेफ्टिक ट्याङ्कीमा भरिएर रहेको अवस्था छ ।

हो अब चर्पीबाट फ्लस गरेर पठाएको दिसालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्छ । हामीले गरिसकेको दिसालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्ने भनेको के हो त ? दिसाको सुरक्षित व्यवस्थापन कसरी गर्न सकिन्छ ? नेपालमा यसको अवस्था कस्तो छ ? अबको बाटो कस्तो हुनुपर्छ ? लगायत बिषयमा पूर्व सचिव एवं सरसफाइ विज्ञ सुमन प्रसाद शर्मा सँग गरिएको वास सम्वाद ।

हेरौं यो भिडियो सम्बाद :

के हो मानव मलमूत्र व्यवस्थापन ?

हामीले चर्पीमा गरेको दिसा फ्लस गरेपछि कहाँ जान्छ ? तपाई हामी मध्ये धेरैले यो बिषयमा सोचेका हुँदैनौं । जब फ्लस गरिन्छ उक्त दिसा ढल प्रणालीमा जोडिएको भए ढल मार्फत बग्दै खोलामा पुग्छ भने खाल्डो वा सेफ्टिक ट्याङ्की जडित शौचालयको दिसा कि सेफ्टिक ट्याङ्की कि त खाल्डोमै जम्मा हुन्छ ।

पूर्व सचिव तथा वास विज्ञ सुमन प्रसाद शर्मा मानव मलमूत्र व्यवस्थापनलाई पूर्ण चक्रको रुपमा हेर्नुपर्ने बताउनुहुन्छ । उहाँका अनुसार शौचालयमा विसर्जनदेखि त्यसको भण्डारण गर्ने, खाली गर्ने, त्यहाँबाट उचित ठाउँमा पु¥याउने, प्रशोधन गर्ने र पुनःप्रयोग सम्मको चक्र यसमा पर्दछन् । ‘दिसालाई ढल प्रणालीद्वारा या त ट्रक प्रणालीद्वारा अर्थात अनसाइट डाइजेसन प्रणालीद्वारा त्यसलाई उचित ठाउँमा पु¥याएर प्रशोधन गरेपछि त्यो किटाणुरहित, प्रदुषण रहित र वातावरणमा प्रतिकुल प्रभाव नपार्ने खालको भएपछि विसर्जन वा त्यसको पुनःप्रयोग गर्नुपर्दछ ।’

मानव मलमूत्र व्यवस्थापनको वर्तमान अवस्था

सबै नेपालीमा आधारभूत सरसफाइको पहुँच पुगेको बताएपनि अझै पनि १० देखि २० प्रतिशत जनसंख्याले खुला ठाउँमै दिसा गर्ने गरेको अनुमान छ । विश्व स्वास्थ्य संगठन र युनिसेफले बर्षैपिच्छे प्रकाशन गर्ने जेएमपीको डाटाले त नेपालमा सुरक्षित तरिकाले व्यवस्थापन गरिएको सरसफाइ झण्डै जेरो प्रतिशत नै देखाएको सरसफाइ विज्ञ शर्माको भनाइ छ । ‘स्यानिटेशन त छ तर सुरक्षित तरिकाले व्यवस्थापन गरिएको सरसफाइ छैन । त्यसो हुनुको लागि सबै सरसफाइको अवस्थाहरु सफा हुनुपर्‍यो । हाम्रो चर्पीहरु सफा हुनुपर्‍यो ।’ शर्मा भन्नुहुन्छ ‘हामीले संरचनागत कुरा गर्‍यौ भने पनि जुन चर्पीहरु छन् तिनीहरु प्रदुषणमुक्त हुनुपर्‍यो ।’

खुला दिसामुक्त घोषणाका क्रममा बनाएका सेफ्टिक ट्याङ्कहरु समेत ठीक तरिकाले नबनाएको उहाँको अनुभव छ । ठीक तरिकाले नबनाएको सेफ्टिक ट्याङ्कमा डाइजेसन हुन पाउँदैन । अथवा त्यो सेफ्टिक ट्याङ्कबाट जथाभावी लेदो निस्किरहेको हुन्छ । जसले गर्दा भूमिगत पानी प्रदुषण भईरहेको हुन्छ । त्यसको डिजाइन राम्रो भईरहेको छैन ।

वास विज्ञ शर्माका अनुसार काठमाडौका झण्डै ६० देखि ७० प्रतिशत क्षेत्र ढल प्रणालीमा आबद्ध छ । तर सडक विभागले बर्षातको पानी हाल्ने ढलसँगै शौचालयको ढल मिसाईदिएको छ । यसले गर्दा शौचालयबाट फ्लस गरेर पठाए पनि वाग्मती तथा विष्णुमति र टुकुचा जस्ता नदी प्रदुषित भएका छन् । वातावरणलाई प्रदुषित बनाएको छ । त्यसकारण यसलाई सुरक्षित भन्न मिल्दैन ।

मानवमूत्रको सुरक्षित व्यवस्थापन गर्न भएका प्रयास

शौचालयबाट फ्लस गरेको दिसा ढल प्रणाली मार्फत सीधै खोला तथा नदीमा बिसर्जन हुने अवस्थाको अन्त्य गर्दै प्रशोधन पछि मात्र सुरक्षित विसर्जन गर्न केही प्रयास भएका छन् । काठमाडौको गुहेश्वरीमा दैनिक ३ करोड २० लाख लिटर फोहोरपानी प्रशोधन गर्ने केन्द्र सञ्चालनमा आएको छ । तर अब मेलम्चीको पानी मात्र १७ करोड लिटर आउने र त्यसको ८० प्रतिशत फोहोरमा परिणत हुने भएकाले यसले मात्र धान्न नसक्ने निश्चित छ ।

वास विज्ञ सुमन प्रसाद शर्मा दैनिक ३ करोड २० लाख लिटर क्षमताको गुहेश्वरीको ट्रिटमेन्ट प्लान्टले मात्र नधान्ने भएकाले कोड्कु तथा सुन्दरीघाटमा पनि यस्तै फोहोरपानी प्रशोधन प्लान्ट निर्माण भईरहेको बताउनुहुन्छ । उहाँका अनुसार काठमाडौ बाहिरका केही क्षेत्रहरुमा पनि सीमित मात्रमा ढल प्रणालीहरु बनेका छन् ।

ढल प्रणालीमा जडान नभएकालाई के गर्ने ?

सबै ठाउँमा ढल विछ्याउन आर्थिक तथा प्राविधिक दृष्टिकोणले सम्भव हुँदैन । ढल प्रणालीमा जडान नभएका शौचालयको हकमा के गर्ने त ? वास विज्ञ शर्मा भन्नुहुन्छ ‘जहाँ स्थलगत सरसफाइको व्यवस्था छ वा जहाँ चर्पी सँगै सेफ्टिक ट्याङ्क वा खाल्डोमा जम्मा भएको हुन्छ । त्यस्तो मानवमलमूत्रलाई अहिले समझदारीमा कसैको बारीमा खाल्डो खनेर हाल्ने वा खोलामा लगेर मिल्काई दिने वा सेफ्टिक ट्याङ्की बाट निकालेर ढलको विर्को खोलेर फेरि ढलमा नै हाल्ने अभ्यास छ ।

वास विज्ञ शर्मा यो तरिका पूर्णतय गलत भएको र यसलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न समग्र भ्यालु चेनलाई नै समावेश गर्नुुपर्ने बताउनुहुन्छ । ‘हामीले बनाउने सरसफाइ आयोजनाहरु समावेशी बनाउनुपर्छ । नगरव्यापी समावेशी सरसफाइ भित्र सम्पूर्ण नगरपालिकालाई नै आवद्ध गरेर अगाडि बढाउनुपर्छ । सरसफाइको प्रणाली भित्रं ढलै हुनुपर्छ भन्ने होइन, ढल नभएको ठाउँमा अनसाईट ट्रिटमेन्ट हुनसक्छ । जहाँ डिवाट्स प्रणाली राख्न सकिन्छ । विभिन्न किसिमका प्रविधिहरुको समुचित प्रयोगद्धारा सम्पूर्ण नगरलाई नै आवद्ध गराउनुपर्छ ।’

नगरव्यापी समावेशी सरसफाइ किन ?

वास विज्ञ शर्मा नगर भित्र बसोबास गर्ने सबैका लागि सरसफाइको समान पहुँच हुनुपर्ने र यसका लागि नगरव्यापी समावेशी सरसफाइ आयोजनाहरु सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘एउटा कुनै क्षेत्र अलि धनी व्यक्तिहरु बस्ने क्षेत्रमा मात्र ढल हालिदिएर सरसफाइ भयो भन्न मिल्दैन । गरिबको बसोबास भएको, उच्च ठाउँमा बस्ने तथा होचो ठाउँमा बस्ने सबैलाई नै आवद्ध गर्ने गरी नगरव्यापी सरसफाइ आयोजना सञ्चालन हुनुपर्छ । यसरी सञ्चालन भएको नगरव्यापी सरसफाइ आयोजनाबाट निस्केको फोहोरलाई समुचित तरिकाले व्यवस्थापन गर्नुपर्छ ।

संविधानले पनि सरसफाइलाई पहुँचको अधिकार, स्थानीय स्वयत्त शासन सञ्चालन ऐनले पनि यसलाई स्थानीय सरकारको प्रमुख आफ्नो कार्यक्षेत्रको आधार बनाएको छ । यसको अलावा खानेपानी, सरसफाइ चाहिं केन्द्रिय, प्रादेशिक, स्थानीय सरकारको उत्तिकै दायित्व हो भनेर पनि भनेको छ । यसमा नगरपालिका, प्रादेशिक सरकार, संघीय सरकार सबै तहको सरकारको भूमिका किटान गरिएको दिएको छ ।

यसमा कानुनी व्यवस्था नभएको होइन । वास विज्ञ शर्मा भन्नुहुन्छ ‘नीति पनि सरसफाइ गर्नुपर्ने भन्ने त होला, त्यसलाई कार्यमा रुपान्तरित गर्ने कामहरुमा मात्र अलि कमी देख्छु । त्यसका लागि नीतिगत व्यवस्था पनि आवश्यक छ । त्यसलाई मूर्त रुप दिनका लागि रणनीतिक कार्ययोजनाहरु बन्नुपर्ने हुन्छ । कार्ययोजना बमोजिम कार्यक्रम पनि बन्नुपर्छ । नगरव्यापी समावेशी सरसफाइ त गर्ने, तर त्यो कसरी गर्ने भनेर निर्देशिका र प्रारुपहरु तयार गर्नुपर्छ । त्यसमा के कस्ता कार्यक्रहरु रहन्छन् ? त्यसलाई कसरी सञ्चालन गर्नुपर्छ भनेर परिभाषित गर्नुपर्ने आवश्यकता देखिन्छ ।’

 

सरसफाइ क्षेत्रको लक्ष्य हासिल गर्न अपर्याप्त बजेट

सरसफाइ क्षेत्रमा विनियोजित बजेट एकदमै न्यून छ । खानेपानी तथा सरसफाइ क्षेत्रकै बजेट हेर्यौं भने राष्ट्रिय जिडिपीको १.३ प्रतिशत मात्र विनियोजन हुने गरेको वास विज्ञ शर्मा बताउनुहुन्छ । खानेपानी मन्त्रालयमा मस्यौदाको रुपमा रहेको क्षेत्रगत विकास योजनाले समेत सरसफाइको लक्ष्य हासिल गर्न बार्षिक जिडिपीको झण्डै ३ प्रतिशत हाराहारी बजेट आवश्यक आंकलन गरेको छ ।

त्यो भनेको सरकारले नै सबै बजेट हालेर ल्याउनु पर्छ भन्ने नभई स्थानीय बजेटहरु, व्यक्तिगत घरायसी खर्च, प्राइभेट सेक्टरबाट लगानी गर्ने कुराहरु पनि हुने उहाँको भनाई छ ।

खानेपानीमा भन्दा पनि सरसफाइलाई अझ बढी बजेटको आवश्यकता पर्ने उहाँको भनाइ छ । ‘यसलाई राम्रो सँग सञ्चालन गर्ने हो भने त खानेपानी भन्दा पनि महँगो प्रणाली हुन्छ ।’ उहाँले भन्नुभयो ।

सरसफाइमा लगानीको अवसर

स्थानीय सरकारसँग बजेट परिचालन गर्ने क्षमता छ । स्थानीय सरकारले सरसफाइको महत्व बुझिदिने हो भने सबैभन्दा पहिले मेरो नगर सफा हुनुपर्छ भनेर सरसफाइ सम्बन्धी कार्यक्रमलाई बढावा दिनुपर्ने वास विज्ञ शर्माको जोड छ । ‘विकासको सुरुवात कहाँबाट गर्ने भन्यो भने मेरो शहर सफा गरेर गर्ने, खोलानाला सफा गर्ने, सबै प्राणीलाई जलचरहरुलाई पनि बाँच्न पाउने अधिकार सुरक्षित गर्ने, मानिसहरुलाई स्वच्छ हावामा सास फेर्न पाउने, स्वच्छ वातावरणमा हिड्न पाउने अधिकार संरक्षण गर्ने प्रारम्भिक विकासको कुरा गर्ने भन्ने चाहिं गर्न सकिन्छ । त्यसरी गर्‍यौं भने यस क्षेत्रमा लगानी बढाउन स्थानीय सरकारहरुले सक्छन् ।’

विकासको प्रथम चरण र अन्तिम चरण पनि व्यवस्थित र सुरक्षित सरसफाइ नै हुने उहाँको भनाइ छ । ‘मान्छेले धेरै विकास गरिसकेपछि के गर्ने ? सफा हुने, स्वस्थ हुने, के का लागि विकास गरेका हामीले ? जीवन यापन हाम्रो सुखी होस्, सफा होस्, समृद्ध होस, सुस्वस्थ होस् .भनेर ।

अब सुस्वस्थ हुनाका लागि पनि के चाहियो ? सरसफाइ नै चाहियो । धेरै पैसा कमाएको मान्छेले के गर्छ भन्दा घरमा राम्रो शौचालय बनाउँछ । कोठा कोठामा शौचालय बनाउँछ । आर्थिक विकास गरेपछि पनि मान्छेले सबैभन्दा खर्च गर्ने शौचालयमै हो । त्यसैले विकासको शुरु चरण पनि सरसफाइ र अन्तिम चरण पनि सरसफाइ नै हो ।’ उहाँले भन्नुभयो ।

यसकारण विकासको हरेक चरणमा सरसफाइको आवश्यकता छ । शर्मा भन्नुहुन्छ ‘यसलाई महसुस गरेर स्थानीय सरकारहरुले आफ्नो बजेट परिचालनलाई अलिकति हात खुकुलो बनाउनु भयो, यो क्षेत्रको महत्व बुझ्नु भयो भने चाहिं स्थानीय सरकार, प्रादेशिक सरकारहरुले लगानी जुटाउन सक्छन् । त्यसका लागि इनोभेटिभ रुपमा निजी क्षेत्रलाई अगाडि ल्याउन सकिन्छ ।

पब्लिक प्राईभेट पार्टिसिपेसन गर्न सकिन्छ । त्यसका लागि चाहिं निजी क्षेत्रसँग पूँजी छैन भने पूँजी आकर्षित गरौंला । त्यो आएको पूँजीलाई चाहिं क्रमिक रुपमा तिर्दै जाने गरी व्यवस्थापन गरौंला । व्यवस्थापन गर्ने उपायहरु पनि छन् । स्थानीय सरकारहरुले यस क्षेत्रलाई प्राथमिकता चाहिं दिनुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार