ओडिएफ घोषणा भएको दशक पछि बल्ल शौचालय बन्दै

चितवन : चितवनको राप्ती -१३ को स्यामराङ गाउँलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको एक दशकभन्दा बढी भयो। तत्कालिन लोथर गाविसको केन्द्र कालिटारमा गरिएको भेलाले पुरै गाविसलाई खुल्ला दिसामुक्त घोषणा गरेको थियो। घोषणा हुँदा गाउँलेले ताली पनि बजाए।

तर यसको अर्थ बुझ्न र कार्यान्वयन गर्न भने उनीहरूलाई वर्षौं लाग्यो। स्थानीय दुङबाङ आधारभूत विद्यालयका प्रधानाध्यापक अतिवल प्रजाका अनुसार खुल्ला दिसामुक्त गाउँ घोषणा गर्नुअघि गाउँका घर नजिकै खाल्डो खनेर प्लास्टिकले बार्न केही बजेट खर्च गरिएको थियो। त्यसलाई स्थानीयले केराको पातले छानो हालेका थिए। ‘तर त्यो शौचालयको अस्तित्व एक महिना पनि रहेन। प्लास्टिक हावाले उडायो, शौचालयको प्रयोग हुनै पाएन,’ उनले भने।

गाउँलाई घोषणा गरिएको केही समयपछि जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गरियो। चितवन खुल्ला दिसामुक्त जिल्ला घोषणा हुने देशकै दोस्रो जिल्ला हो। कास्कीलाई २०६८ को असारमा घोषणा गरिएपछि चितवनलाई असोज ६ गते घोषणा गरिएको थियो। यसको नेतृत्व तत्कालीन जिल्ला विकास समितिले गरेको थियो।

गत साल त काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरिएको भव्य कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले पुरै देश खुल्ला दिसामुक्त बनेको घोषणा गरेका थिए।त्यतिखेर दक्षिण एसियामै नेपालले मात्र प्रत्येक घरमा शौचालयको पहुँच पुर्‍याउने खुल्ला दिसामुक्तको मानक पूरा गरेको दाबी गरिएको थियो। स्थानीय रेशमलाल चेपाङले गाउँ, जिल्ला हुँदै देश नै खुल्ला दिसामुक्त घोषणा हुँदा पनि अझै धेरैको घरमा शौचालयको पहुँच नपुगेको बताए।

‘सरकारले घोषणा त गर्‍यो तर अनुगमन गरेन,’ उनले भने, ‘घोषणा अघि काम गरेको भए त हाम्रो गाउँका सबै घरमा एक दशक पहिल्यै चर्पी भइसक्नुपर्ने।’ दशकअघि घोषणा भएपनि बल्ल यो गाउँमा शौचालय बन्न थालेका छन्, गाउँ विस्तारै खुला दिसामुक्त हुँदै गएको छ। स्यामराङका एबीलाल चेपाङको दैलोको शिरमा टाँसिएको एउटा स्टिकरमा लेखिएको छ ‘मेरो घरमा शौचालय छ, यसमा मलाई गर्व छ।’

२०७२ सालको भूकम्पले घर भत्काइदिए पछि एबीलालले सरकारी अनुदान लिएर केही समय अघिमात्रै नयाँ घर तयार पारेका छन्। घरनजिकै शौचालय पनि तयार भएको छ। यो शौचालय बनाउन उनलाई वातावरण संरक्षणसम्बन्धी सचेतना अभियान चलाउँदै आएको गैरसरकारी संस्था एक्का नेपालले सहयोग गरेको थियो।

‘घर र शौचालय दुबै तयार भएपछि सजिलो भएको छ। पहिले बिहानै उठेर जंगल धाउनु पर्दथ्यो, त्यो बाध्यता हटेको छ,’ उनले भने, ‘महिला, केटकेटीलाई साह्रै अप्ठेरो हुन्थ्यो। अब सजिलो भयो।’

तत्कालीन लोथर गाविसका अधिकांश घरमा शौचालय तयार भएका छन्। केही घरमा अहिले बन्दैछन्। विगतमा शौचका लागि जंगल धाउने स्थानीयबासी अचेल शौचालयको प्रयोग गर्ने भएका छन्। राप्ती – १३ का स्थानीय युवा आकर्षक चेपाङ अहिले स्नातक तहको अध्ययन गर्दैछन्। अध्ययनसँगै उनी आफ्नो गाउँमा बन्दै गरेको शौचालयको अवस्था बुझ्ने काम पनि गर्छन्।

‘एक्का नेपालको स्थानीय प्रतिनिधिका रूपमा मैले गाउँमा शौचालय बनाउने कामको समन्वय गर्दै आएको छु,’ उनले भने, ‘विगतमा आर्थिक अभावका कारण शौचालय बनाउन नसकेकाहरूले अहिले बनाएर प्रयोग गर्न थाल्नु भएको छ। केहीले बनाउँदै पनि हुनुहुन्छ।’

 

उनले सरकारी निकायले घोषणा गरेर यसै छाडे पनि गैरसरकारी संस्थाको प्रयासमा गाउँलेले शौचालयको सुविधा पाएको बताए। ‘संस्थाले आवश्यक सामग्री उपलब्ध गराउँछ, स्थानीयले श्रमको प्रयोग गर्नुहुन्छ,’ उनले भने, ‘शौचालयको प्रयोगले गाउँ सफा बन्दै गएको छ।’ उक्त वडाका वडाध्यक्ष सूर्यबहादुर चेपाङले बिहान, बेलुकी खानकै लागि संघर्ष गर्नुपर्ने जनताले शौचालयलाई प्राथमिकतामा राख्न नसकेको बताए।

‘बिस्तारै सबै कुरामा सचेत बन्दैछन्, बालबालिका पढ्न थालेका छन्, उनीहरूबाट बाबुआमाले सिकेका छन्,’ उनले भने, ‘स्थानीय तहले विकासका कामहरूमा ध्यान दिएको छ अन्य कामका लागि गैरसरकारी, दातृ निकाय र सहयोग संघ संस्थाहरुको सहयोग आह्वान गर्ने गरेका छौं।’ साभार : राजेश घिमिरे, चितवन/सेतोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार