यस्तो छ, मानव मलमूत्र व्यवस्थापन गर्ने गोलबजारको योजना : मेयरसँग भिडियो सम्वाद

सिरहा (गोलबजार) : सिरहाको गोलबजार नगरपालिकाले निजी घरको शौचालयको सेफ्टिक ट्याङ्क भरिएपछि निश्चित सेवा शुल्क लिएर खाली गरिदिने र विसर्जन गर्ने काम गर्दै आएको छ । नगरपालिकासँग भएको एउटा सरसफाइ मेसिन र कर्मचारीको सहायताले सेफ्टिक ट्याङ्की खाली गरी त्यसबाट निष्काशन हुने दिसाजन्य लेदो (मानव मलमूत्र) सिरहाकै मैनवती र गागनखोला किनारमा बिसर्जन गर्दै आएको छ ।

मानव मलमूत्र नगरपालिका सँग भएको डोजरले खाल्डो बनाई बिसर्जन गर्ने र खाल्डो भरिएपछि माटोले पुरिदिने भएकाले असुरक्षित नभएको गोलबजार नगरपालिकाका मेयर देवनाथ साहको दाबी छ । यद्यपि नगरपालिकाले अहिले जसरी दिसाजन्य लेदोको विसर्जन गर्दै आईरहेको छ, यसको सुधार गर्नुपर्छ भन्ने ध्येयका साथ नगरपालिकाले मानवमलमूत्र व्यवस्थापनका लागि दिर्घकालीन योजना बनाईरहेको छ ।

नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) बनाईसकेको छ भने दिसाजन्य लेदो (मानव मलमूत्र) को सुरक्षित व्यवस्थापनका लागि पनि छुट्टै योजनाको आवश्यकता महसुस गरी नगरव्यापी समावेशी सरसफाइ योजना समेत बनाईरहेको छ । यसै सन्दर्भमा हामीले गोलबजार नगरपालिकाका मेयर देवनाथ साह सँग मानव मलमूत्र व्यवस्थापनको दिर्घकालीन योजनाका बिषयमा कुराकानी गरेका छौं ।

हेरौं मेयर साहसँग गरिएको भिडियो सम्बाद

१० हजार घरमा अझै चर्पी बनाउन बाँकी

देश नै खुला दिसामुक्त राष्ट्र घोषणा भएपनि गोलबजार नगरपालिकामा अझै १६ प्रतिशत जनसंख्यामा आधारभूत स्तरको सरसफाइको अभाव छ । गोलबजार नगरपालिकाको आधारभूत घरधुरी सर्वेक्षण २०७७ ले नगरपालिकाको १० हजार ४ सय ६८ घर मध्ये १ हजार ६०७ अर्थात १६ प्रतिशत घरधुरीमा अझै चर्पीको अभाव रहेको देखाएको हो ।

यस्तै चर्पी भएकाको हकमा पनि ७ हजार ८९ अर्थात ६७.७२ प्रतिशत घरधुरीले मात्र चर्पीको समुचित प्रयोग गरिरहेका छन् भने बाँकी १ हजार ६७२ अर्थात १५.९७ प्रतिशत घरधुरीहरुले शौचालय भए पनि शौचालयको समुचित प्रयोग नगरेको पाईएको छ ।

नगरपालिकाका सरसफाइ फोकल पर्सन सुनिल यादवले भूमिहीन परिवारले चर्पी बनाउन नसकेको र उनीहरुको हकमा दुई चार घरको बीचमा एउटा शौचालय बनाएर भए पनि शौचालय प्रयोग गर्न लगाउने बताउनुभयो ।

सेफ्टिक ट्याङ्क जडित चर्पी १९ प्रतिशत मात्र

गोलबजार नगरपालिका क्षेत्रका अधिकांश शौचालय असुरक्षित छन् । नगरपालिकाको आधारभूत घरधुरी सर्वेक्षण २०७७ अनुसार १० हजार ४ सय ६८ घरपरिवार मध्ये १ हजार ९ सय ६१ अर्थात १९ प्रतिशत घरको चर्पी मात्र सेफ्टिक ट्याङ्क सहितका छन् । सबैभन्दा बढी ४ हजार ३ सय ३६ अर्थात करिब ४२ प्रतिशत चर्पी १ खाल्डे छन् ।

जुन जत्तिबेला भएपनि भरिन सक्ने सम्भावना छ । २३ प्रतिशत अर्थात २ हजार ४ सय १४ घरमा भने २ खाल्डे छन् । ती सुरक्षित नभए पनि एक खाल्डे शौचालयको तुलनामा तत्काल भरिन सक्ने सम्भावना देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार