
नेपालगञ्जमा सञ्चालित सार्वजनिक शौचालयहरुमा प्रयोगकर्ताको बदमासीले सार्वजनिक सम्पत्तिमा असुरक्षा बढेको छ । नेपालगञ्ज बजारको बिभिन्न क्षेत्रमा सञ्चालित सार्वजनिक शौचालय प्रयोगकर्ताको बदमासीका असुरक्षित हुँदै गएका छन् ।
सार्वजनिक शौचालयलाई सार्वजनिक सम्पत्तिको रुपमा स्थानीय तथा सर्वसाधारणले नलिँदा व्यवस्थापनमा चुनौती रहेको छ । शौचालयमा जाने व्यक्तिहरुले शौचालय भएको संरचना तोडफोड गर्ने कामले सञ्चालकलाई व्यवस्थापन गर्न गाह्रो भएको छ ।
नेपालगञ्जका बिभिन्न क्षेत्रमा रहेका शौचालयहरुको अनुगमनका क्रममा यस्तो समस्याले व्यवस्थापनलाई चुनौती दिएको देखिएको हो । अनुगमन गरिएका सबै शौचालयहरुमा सरसफाइको अवस्था ठिक रहे पनि प्रयोगकर्ताको बदमासीका कारण भएका संरचनाहरु तोडफोड भएको पाईएको छ ।
सीमा क्षेत्र जमुनाहा, चौलिक्का चोक, जयसपुर, धम्बोझी, कारकाँदो र राँझा चोकमा रहेको शौचालयको अवस्थाबारे अनुगमन गरिएको थियो । उपमहानगरपालिकाले शौचालय सञ्चालनका लागि ठेक्का दिईसकेपछि निभाउनुपर्ने जिम्मेवारीबाट पञ्छिएका कारण पनि समस्या देखिन्छ ।

पाईप, पानी तान्ने मोटर समेत पटक पटक चोरी
शौचालयको संरक्षणका लागि व्यक्तिको उपस्थिति हुने भएपनि राती शौचालयका सामाग्रीहरु चोरी हुने गरेको, पाईप, बेसिन, हात धुने क्षेत्र र ढोकाको चुक्कुल तोडफोड हुने गरेको देखिएको नेपालगञ्ज उपमहानगरपालिका वातावरण इन्जिनियर प्रकाश डिसीले जानकारी दिनुभयो ।
शौचालय सञ्चालनमा कुनै समस्या देखिएको छैन, इन्जिनियर डिसीले भन्नुभयो, तर स्थानीयले अपनत्व लिन सकेका छैनन् । रेखदेख गर्ने व्यक्तिको उपस्थिति हुँदासम्म ठिकै हुने र नभएको समयमा शौचालयको संरचनाको तोडफोड हुने गरेको इन्जिनियर डिसीले बताउनुभयो ।

शौचालय प्रयोग गर्ने सर्वसाधारण, बटुवा र स्थानीय व्यापारीहरु सबैका लागि संरचना भएको र यसको संरक्षण पनि गर्नुपर्छ भन्ने मानसिक बिकास नहुँदासम्म निरन्तर समस्या देखिने इन्जिनियर डिसीले बताउनुभयो । शौचालयमा नियमित पानीको व्यवस्थापनका लागि राखिएको मोटर पटक पटक चोरी भएर ठेकेदारलाई समेत व्यवस्थापन गर्न गाह्रो बनाएको छ ।
सार्वजनिक शौचालय संचालनको जिम्मा पाएको ठेकेदार क्लिनर्स कन्सर्न सर्भिसका प्रमुख बिमल शेर्पाली प्रयोगकर्तामा समेत प्रयोगबारे चेतना बिस्तार गर्नुपर्ने बताउनुहुन्छ । पटक पटक भौतिक संरचनामा क्षति पुर्याईन्छ, प्रमुख शेर्पालीले भन्नुभयो, व्यवस्थापन गर्न गाह्रो भइसकेको छ । तर पनि हरसम्भव प्रयास जारी छ ।
नेपालगञ्जमा सरसफाइको क्षेत्रमा उपमहानगरपालिकाको समन्वय सहकार्यमा काम गर्दै आएको गेरुवा ग्रामीण जागरण संघ बर्दियाद्धारा एस एनभि नेपालको सहयोगमा सञ्चालित स्वास्थ्य र बिकासका लागि नगर सरसफाइ तथा स्वच्छता परियोजना मार्फत गरिएको अनुगमनमा इन्जिनियर डिसी, एन एन भि नेपालका सिटि अफिसर सुरज राजभण्डारी, परियोजना संयोजक गफ्फार अलि शेष, फिल्ड सुपरभाईजर हिरेन्द्र शाही र पत्रकारको सहभागिता रहेको थियो ।


1352 पटक हेरिएको 

