
धनगढी : धनगढी उपमहानगरपालिका–५ मा पर्ने पिपल चौतारा–लब्ली चोक खण्डको सडक निर्माणमा ढिलाई भएको छ । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले खानेपानीको पाइप व्यवस्थापन हुन नसकेकाले काममा ढिलाई भएको जनाएको छ । “खानीपानीको पाइप टुटफुट भएका कारणले काम ६ महिना ढिलो भयो, खानेपानीको पाइप र बिलुजीको पोल व्यवस्थापन भएको ठाउँमा हामीले समयमै काम गरेका छौं । हसनपुर खण्ड (पिपल चौतारा–लब्ली चोक–दाहाल टोल) मा खानेपानीको पाइप फुटेर डिस्टर्ब भएको छ ।” कालिका कन्स्ट्रक्सनका इन्जिनियर प्रकाशचन्द्र कँडेलले भन्नुभयो ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, धनगढी उपमहानगरपालिका खानेपानी, संस्थान र विद्युत प्राधिकरण लगायत सरोकारवालाको बैठकले एक महिना अघि खानेपानीको पाइप र बिजुलीको पोल व्यवस्थापन गर्ने निर्णय गरे पनि सो निर्णय अनुसार कार्यान्वयन नहुँदा सडक निर्माणमा ढिलाई भएको हो । “समस्या समाधान गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने जिम्मेवारीमा रहेको उपमहानगरपालिकाले तदारुकताका साथ काम गरेको छैन” इन्जिनियर कँडेलले भन्नुभयो “सरकारी काम ढिला सुस्ती हुने भएकाले हामीले समयमै काम गर्न पाएका छैनौं ।”
इन्जिनियर कँडेलले खानेपानीको पाइप र बिजुलीको पोल व्यवस्थापन हुन नसकेकाले सुस्त गतिमा निर्माण भइरहेको बताउनुभयो। दुई वर्षे ठेक्काको म्याद २०७९ भदौसम्म छ । सो अवधिसम्म सबै सडकको निर्माण कार्य सम्पन्न गर्ने गरी काम गरिरहेको भए पनि ती बाधाहरूले समस्या भइरहेको उहाँको भनाइ छ ।
संघीय योजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर ड्रोना कट्वालले खानेपानीको पाइप व्यवस्थापनका लागि पहल भइरहेको बताउनुभयो । उहाँले धेरै जसो सडकमा परेको खानीपानीको पाइप सार्न स्वीकृति दिइ सकिएको र बाँकी समस्या खानेपानी संस्थान, विद्युत कार्यालय, धनगढी उपमहानगरपालिका र अन्य उपभोक्ताहरुको सहकार्यमा व्यवस्थापन गरिने बताउनुभयो ।
हसनपुर सडकसंँगै क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्गत धनगढीमा सात वटा सडक खण्ड (१०.२४ किमि) निर्माणको ठेक्का कालिका कन्स्ट्रक्सनले लिएको छ । त्यसमध्ये सहिद गेट–क्याम्पस रोड र डिभोटी–पिपल चौतारा खण्डको काम मात्रै तीव्र गतिमा भएको छ । चौराहा–कैलाली नाला (चार लेन), गुल्म–चर्च र मालपोत रोडमा निर्माण प्रारम्भ नै भएको छैन भने चारवटा सडक खण्डको निर्माण कार्य सुस्त छ ।


976 पटक हेरिएको 

