
काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको मुहानमा मर्मत गर्ने काम ८० प्रतिशत सम्पन्न भएको छ । २०७८ असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानीको मुहानमा बाढीले थुपारेको ढुङ्गा माटो सफाइको काम सकिएकाले चैतसम्म पानी आउने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले खानेपानी आयोजना मर्मतको काम गरिरहेको छ । बाढीले थुपारेको ठूला ठूला ढुङ्गा नेपाली सेनाको सहयोगबाट विष्फोट गराएर नदी सफाइ गरिएको कम्पनीले जनाएको छ । अस्थायी रुपमा काठमाडौंमा पानी ल्याउन मेलम्ची सुरुङको गेट १, ९ र ३८ मात्र प्रयोग हुने भएकाले मर्मतको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानीले जनाएको छ ।
समितिका अनुसार गेट नम्बर ३८ मा हाइड्रोलिक सिष्टम बिग्रिएकाले यसमा थप मर्मतको काम शुरु भएको छ भने बाँकी गेटमा भएको क्षति हेरेर अस्थायी रुपमा पानी सञ्चालन गर्न नयाँ गेट जडान गरिनेछ । खानेपानीमन्त्री उमाकान्त चौधरीले केही दिन अघि मेलम्ची खानेपानीको हेडवर्क्स क्षेत्रको निरीक्षण गरी समयमै काम सम्पन्न गर्न निर्देशन दिदै खानेपानी आयोजना मर्मतको काममा खटिने कर्मचारीलाई पुरस्कृत गरिने वचन दिनुभएको थियो ।



1453 पटक हेरिएको 

