
मोरङ : मोरङको कानेपोखरीका नागरिकले ट्युबवेलको पानी प्रयोग गर्दै आएका थिए । कुल ८ हजार ४ सय ४९ घरपरिवार रहेको यो पालिकामा २३४ घरपरिवारले इनार र कुवाको पानी पिउँथे । इनार र कुवाको भन्दा ट्युबवेलको पानी स्वस्थकर मानिए पनि परीक्षण हुँदैन थियो । सामान्य ट्युबवेलको पानीसम्म खान नपाउने घरपरिवार गाउँपालिकाभित्र थिए ।
जनप्रतिनिधिले स्वच्छ खानेपानी व्यवस्था गर्न पहल लिएपछि अहिले कानेपोखरीबासीले घरआँगनमै स्वच्छ खानेपानी पाएका छन् । उपभोक्तालाई घरघरमा खानेपानी पु¥याउन दुई आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अहिले ओभरहेड ट्यांकी निर्माण गरिएको छ भने पानी अभाव भएको स्थानमा चापाकल व्यवस्था गाउँपालिकाले गरेको वडा नम्बर २ का वडाध्यक्ष सुशील कार्कीले बताए ।
पालिकाले पाइप लाइन विस्तार गरेपछि गाउँपालिकाको वडा नम्बर ७ को उच्च स्थानमा रहेको चालीसबिघे टोलबासीले लिफ्टिङ मार्फत स्वच्छ खानेपानी उपभोग गर्न पाएका छन् । बयरवन खानेपानी उपभोक्ता संस्थालाई प्रत्येक वर्ष न्यूनतम १० देखि अधिकतम २४ लाख रकम उपलब्ध गराएर पानी अभाव हुन नदिने व्यवस्था मिलाइएको छ । वडा नम्बर ३ र ४ मा खानेपानी ट्यांकी निर्माण भएको छ । त्यसबाहेक केरुङ, बयरवन र हुक्लाबारीमा ट्यांकी बनाइएको छ । विद्युत् अवरुद्ध हुँदा पनि पानी आपूर्ति नखलबलियोस् भनेर जेनेरेटर व्यवस्था भइरहेको वडा नम्बर ७ का वडाध्यक्ष मोहन अधिकारीको भनाइ छ ।
खानेपानीमा मात्रै होइन, सरसफाइ क्षेत्रमा पनि पालिकाले थुप्रै परिवर्तन गरेको छ । गाउँपालिकामा जनप्रतिनिधि आउनुअघि जम्मा १३ वटा शौचालय थिए । वायोग्यास प्लान्ट १२ सय थिए । फोहोर पानी प्रशोधनशाला र ल्यान्डफिल साइट नहुँदा फोहोर व्यवस्थापनमा चुनौती थियो । अहिले खुला दिसामुक्त पालिका घोषणा भएसँगै सार्वजनिक र घरघरमा शौचालय निर्माण भएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले जानकारी दिए । पालिका खबरबाट ।


824 पटक हेरिएको 

