सेप्टिक ट्याङ्क सफाइकर्मीले भोगिरहेका १० चुनौती (भिडियो)

काठमाडौ : शौचालय प्रयोग गरेपछि मानव मलमूत्रले भरिएको सेप्टिक ट्याङ्क खाली गर्नु अनिवार्य काम हो । सेप्टिक ट्याङ्क खाली गर्ने (रित्याउने) काम सेप्टिक ट्याङ्क सफाइकर्मीहरुले मात्र गर्न सक्छन् । पहिले – पहिले हातले नै सफाइ गर्दै आएपनि अहिले भने विभिन्न खालका उपकरणको सहायताले सफाइ गर्छन् । यद्यपि सेप्टिक ट्याङ्क सफाइकर्मीले भोगिरहेका चुनौती भने अनगिन्ती छन् ।

चुनौती १ : विसर्जन गर्ने स्थलको अभाव

सेप्टिक ट्याङ्क सफाइकर्मी/व्यवसायीले भोग्दै यो पहिलो समस्या हो । कुनै पनि घरको शौचालयको सेप्टिक ट्याङ्कबाट मानमलमूत्र झिकेर ल्याएपछि अब कहाँ बिसर्जन गर्ने भन्ने समस्याले सधैं सताउने गरेको सेप्टिक ट्याङ्क सफाइकर्मीहरु बताउँछन् । काठमाडौ उपत्यका लगायत अन्य शहरी क्षेत्रमा पनि दिसाजन्य लेदो प्रशोधन केन्द्रहरु नहुँदा एक ठाउँमा जम्मा भएको मानवमलमूत्र खाली गरेर अर्को ठाउँमा स्थानान्तर गरेजस्तो काम मात्र भईरहेको छ ।

चुनौती २ : सुरक्षात्मक सामग्रीहरुको अभाव

मानवमलमूत्रले भरिएको सेप्टिक ट्याङ्क सफाइ गर्ने काम आफैमा जोखिमपूर्ण काम हो । झनै सफाइकर्मीहरुसँग सुरक्षात्मक सामग्रीहरु समेत नहुँदा थप जोखिमको सामना गरिरहनु परेको छ । पर्याप्त साधन स्रोतको अभावमा सफाइकर्मी सुरक्षात्मक सामग्रीहरु (पन्जा, मास्क, गम्बुट, हेल्मेट) बिनै काम गर्न बाध्य छन् । यसले उनीहरुको स्वास्थ्यमा झनै खतरा उत्पन्न हुने जोखिम कायमै छ ।

चुनौती ३ : दुर्घटना र मृत्युको जोखिम धेरै

सेप्टिक ट्याङ्कको फेदमा जमेको दिसाजन्य लेदो निकाल्नका लागि कहिलेकाही सेप्टिक ट्याङ्क भित्रै छिर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा ज्यानै जान सक्ने खतरा हुन्छ । सफाइकर्मी धन माझी भन्नहुन्छ ‘एक पटक म सेप्टिक ट्याङ्क भित्र अक्सिजन अभावमा निस्सासिएको थिएँ, सेप्टिक ट्याङ्क कम गहिराइको थियो र हतार हतार फुत्त बाहिर निस्कन सकें ।’ उहाँले यस क्षेत्रमा कतिबेला दुर्घटना हुने टुङ्गो नहुने र ज्यानै जान सक्ने सम्भावना पनि हुन्छ । यी बाहेक विजुलीको लाइन सर्ट भएर करेन्ट लाग्न सक्ने, सेप्टिक ट्याङ्को स्ल्याबहरु भाँचिएर खस्न सक्ने, हात खुट्टामा घाउ, चोटक पटक लाग्ने लगायत थुप्रै दुर्घटनाका जोखिमहरु हुन्छन् ।

चुनौती ४ : सामाजिक हेयको पेशा/व्यवसाय

सफाइक्षेत्रमा काम गर्ने भन्ने वित्तिकै समाजले गर्ने व्यवहार नै छुट्टै हुने उनीहरुको अभाव छ । आफ्नै घरको शौचालयको सेप्टिक टयाङ्क सफा गरेपछि पनि पैसा दिने क्रममा दुई तला माथिको झ्यालबाट मिल्काईदिने गरेको सफाइकर्मी धन माझीले बताउनुभयो । सफाइक्षेत्रमा विगत दुई दशकदेखि क्रियाशील सुनिल बस्नेतका अनुसार सामाजिक हेयकै कारण लुकेर काम गर्नुपर्ने अवस्था रहेको छ । ‘के काम गर्छौ ? भनेर कसैले सोध्यो र यो क्षेत्रमा भन्यो भने नाक खुम्च्याएर उता पट्टि फर्किन थाल्छ, हामीले लुकेर काम गर्नुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो ।

चुनौती ५ : छैन दुर्घटना तथा जीवन बीमा

सफाइक्षेत्रमा काम गर्ने श्रमिकले दुर्घटना र मृत्युको जोखिम मोलेर काम गर्नुपर्ने भएपनि अहिलेसम्म दुर्घटना तथा जीवन बीमा नभएको सफाइकर्मी बताउँछन् । कथंकदाचित दुर्घटना भएर ठूलै घाउ चोटपटक लागे पनि आफैले उपचार गर्नुपर्छ । कथंकदाचित मृत्यु भईहालेमा पनि जीवन बीमा नभएका हुनाले आश्रित परिवारको विचल्ली हुने अवस्था छ । सफाइकर्मी धन माझी भन्नुहुन्छ ‘अरु केही नभएपनि दुर्घटना तथा जीवन बीमा र उपदानको व्यवस्था भएमा राम्रो हुन्थ्यो, यत्ति भए केटाकेटीलाई पनि केही आश हुन्थ्यो नि ।’

चुनौती ६ : अस्वस्थकर मानवीय आचरण

शौचालयको सेप्टिक ट्याङ् भित्र कण्डम, प्याड, गुट्खाको खोल, खैनीको खोल जस्ता पदार्थहरु समेत हुने र ती मेसिनमा अड्किएर पटक पटक मेसिन बिग्रिने गरेको सफाइकर्मीहरुको अनुभव छ । मानिसको अस्वस्थकर आचरणका कारण आफूहरुले धेरै दुःख पाईरहेको पाईरहेको र कहिलेकाही त काम गर्दा गर्दै मेसिन बिग्रिएर काम नै अधुरो हुने गरेको उनीहरु बताउँछन् ।

चुनौती ७ : संगठित नहुँदा समस्या झन बिकराल

काठमाडौ उपत्यकामा मात्र करिब ५० को हाराहारीमा सेप्टिक ट्याङ्क सफाइ सञ्चालकहरु छन् । उनीहरु मध्ये कुनै सँग एउटा ट्याङ्कर र कुनै सँग २ दुई वटा ट्याङ्कर रहेको उनीहरु बताउँछन् । तर संगठित नभएका कारण यत्ति नै संख्यामा छन् भन्ने एकीन तथ्याङ्क अहिलेसम्म कहीं कतै पनि उपलब्ध छैनन् ।

सेप्टिक ट्याङ्क सफाइ व्यवसायीहरुको लामो इतिहास भएपनि उनीहरु अहिलेसम्म संगठित भएका छैनन् । संगठित भएर काम गर्दा राज्यले झनै दुःख दिने बुझाइका कारण पनि संगठित हुन नमानेको सेप्टिक ट्याङ्क व्यवसायी सुनिल बस्नेत बताउँनुहुन्छ । यस क्षेत्रमा कार्यरत व्यवसायी तथा सफाइकर्मी खुलेर सार्वजनिक नहूँदा उनीहरुका समस्याका बारेमा समेत खुलेर बहस हुन सकेको छैन ।

चुनौती ८ : प्रविधियुक्त नहुँदा समस्यै समस्या

काठमाडौ उपत्यकामा सेप्टिक ट्याङ्क खाली गर्न प्रयोग गरिरहेका सबैजसो ट्याङ्कहरु उक्त प्रयोजनका लागि विकास गरिएको होइन । व्यवसायीले नै आवश्यकता अनुसार मिनी ट्रकमा ट्याङ्कर तथा अतिरिक्त उपकरणहरु (पानी तान्ने मेसिन, पाइप, तार ) लगायत जडान गरेर निर्माण गरिएका हुन् । यो जोडजाम गरेर बनाएको हुनाले काम गर्ने क्रममा धेरै दुःख दिने गरेको उनीहरुको अनुभव छ । पानी तान्ने मेसिनले दिसाजन्य लेदो तान्नुपर्दा विभिन्न विकारहरु अड्किने, बारम्बार तारहरु तानिरहनुपर्ने, बिजुलीको स्वीच अन र अफ गरिरहनुपर्ने भएकाले करेन्ट लाग्ने सम्भावना हुने जस्ता समस्याहरु आईरहने सफाइकर्मीहरु बताउँछन् ।

चुनौती ९ : ट्राफिक प्रहरीको अनावश्यक रोकतोक

सफाइको काम २४ सै घण्टा खुला हुनुपर्ने भएपनि ट्राफिकले रोकेर हैरान बनाउने गरेको उनीहरुको अनुभव छ । गाडीको कम्पनीबाट उत्पादन भएको भन्दा बेग्लै तोडमोड गरेको भन्दै घण्टौं रोक्ने, केरकार गरेर दुःख दिने गरेको र सफाइ गर्न समयमा पुग्न नसकेको उनीहरु बताउँछन् । ‘यो क्षेत्र यस्तो छ कि, ट्राफिकले रोकेपछि चिट नकाटेको दिन हुँदैन, चिट काटेपछि त्यसको पैसा तिर्न, ब्लुबुक, लाइसेन्स लिन जान यत्ति गाह्रो छ कि, त्यसको कुरै नगरौं, जसका कारण हामीले आफ्नो काम निर्वाध तरिकाले गर्नै पाएका छैनौं ।’ सफाइ व्यवसायी सुनिल बस्नेतले भन्नुभयो ।

चुनौती १० : अनुगमन तथा नियमनको अभाव

सेप्टिक ट्याङ् सफाइ व्यवसायलाई नियमन र व्यवस्थापन गर्न अहिलेसम्म कुनै पनि प्रयास भएका छैनन् । यस क्षेत्रमा बजार सम्भावनाको अध्ययन नै नगरी ट्याङ्कर हालेर काम सुरु गर्ने नयाँ व्यवसायी धेरै आउने क्रममा रहेको र कालान्तरमा काम नभएपछि उनीहरुको लगानी फस्ने सम्भावना पनि धेरै छ । तसर्थ अख्तियारप्राप्त निकायले उनीहरुको नियमन तथा व्यवस्थापन गर्न उनीहरुको माग छ । ‘कसले गर्ने भन्ने कुरा त थाहा भएन, तर कम्तीमा अब सम्बन्धित निकायबाट इजाजत लिएर मात्र सेप्टिक ट्याङ्क सफाइ व्यवसाय गर्नुपर्ने प्रावधान ल्याउनै पर्ने भएको छ’ व्यवसायी सुनिल बस्नेतले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार