घर घरमा मिटर जडित खानेपानीका धारा

दोलखा : दोलखाको शैलुङ गाउँपालिका–३ को बोत्ले गाउँका घर घरमै खानेपानी सुविधा पुगेको छ । वाटर एड र सामुदायिक विकास मञ्चको ३८ लाख ५७ हजार अनुदा तथा उपभोक्ताको ६ लाख ५३ हजार बराबरको श्रमदानबाट दोलखाको दुर्गम गाउँ बोत्लेमा पहिलो पटक मिटरसहित धारा जडान गरिएको हो ।

खुस्माने देवीथान खानेपानी योजनाबाट बोत्लेका ३३ घर र २ सामुदायिक धारामा पानी झरेको छ । यसअघि पानीको मुहान गाउँ नजिकै भएर पनि व्यवस्थित हुन सकेको थिएन । त्यसैले यहाँका बासिन्दा खोलाबाटै पानी ल्याएर खान बाध्य थिए । घरघरमै पानीका धारा बनेर पानी झर्न थालेपछि स्थानीय पनि खुसी भएका छन् । घरघरमा पानीको धारा बनेपछि अब पानी लिन जाने समय पनि बचत भएको छ भने सरसफाइ गर्न पनि सहज हुने भएको छ ।

खानेपानी योजनाका लागि गाउँपालिकाले पनि लगानी गरेको छ भने स्थानीयले पनि श्रमदान गरेका छन् । यी धारामा पानी झरेपछि अब शैलुङ गाउँपालिका–३ का ४५ घरमा मात्र पानीका धारा पुग्न बाँकी रहेको वडाध्यक्ष वीरबहादुर तामाङले बताउनुभयो । वडाध्यक्ष तामाङले पाँच सय भन्दा बढी घरधुरी रहेको यो वडामा बाँकी घरमा पनि गाउँपालिकाकै स्रोतमा पानीको धारा घरघरमा पुर्‍याउने बताउनुभयो ।

बोत्ले गाउँमा खानेपानी योजना हस्तान्तरण कार्यक्रममा जिसस दोलखाका प्रमुख बर्जुराम घतानेले गैरसरकारी संस्थाको सहयोग पनि सरकारको विकास साझेदार भएकाले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न सजिलो हुने बताउनुभयो । यस्तै शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठले अब आफ्नो गाउँपालिकाभित्रका हरेक घरमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्य रहेको बताउनुभयो ।

हरेक घरघरमा खानेपानीका मिटर जडान गरिएको धारा बनेपछि अब कसले कति पानी प्रयोग गर्‍यो भन्ने थाहा पाउन सकिन्छ । यसले जथाभावी पानी खेर जान रोकिन्छ भने पानी प्रयोग वापत मासिक न्यूनतम् शुल्कको व्यवस्था गरिएको छ । विगतमा बनेका योजनाको व्यवस्थित मर्मत संभार नहुँदा अलपत्र परेपछि अहिले उपभोक्ता समिति मार्फत व्यवस्थापन गर्ने गरी मर्मत संभार कोषको समेत व्यवस्था गरिएको छ । मर्मत संभार र नियमित पानी आपूर्तिका लागि हरेक घरधुरीले पानी उपयोग गरे वापत शुल्क समेत निर्धारण भएको छ ।

योजनासँगै सीप र प्रविधि पनि हस्तान्तरण गरेकाले अब नियमित मर्मत संभार गरेर योजना चलाउन स्थानीयले अनुरोध गरेका छन् । सामुदायिक विकास मञ्चका अध्यक्ष राजु थापाका अनुसार शैलुङ गाउँपालिकाका ३ वटा वडामा मात्र यस्ता मिटर जडित धारा ६ वटा योजना पूरा भएको छ । यी बस्तीमा पानीको सुविधा पुगेपछि अरु टोलका घरघरमा पनि खानेपानी विस्तार गर्ने गाउँपालिकाले योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार