
संखुवासभा : सदरमुकाम खाँदबारीकी आशा श्रेष्ठले मासिक ५ हजार लिटर खानेपानी उपभोग गरेबापत २ सय ३० रुपैयाँ शुल्क तिर्छिन् । ५ हजार लिटर नाँघेको खण्डमा थप प्रति हजार लिटर ७५ रुपैयाँ थपिँदै जान्छ । धारा जोड्दा उनले ७ वर्षअघि नै ११ हजार रुपैयाँ जडान शुल्क पनि तिरेकी थिइन् । अहिले मासिक शुल्क पनि महँगो भएको उनको गुनासो छ ।
उठाइरहेको मासिक शुल्कबाट साना सहरी खानेपानी उपभोक्ता समितिले भने नगर विकास कोषलाई ऋण तिरिरहेको छ । उक्त समिति २४ करोड रुपैयाँ ऋणमा छ । समितिका ग्राहक २ हजार ९ सय ६१ बढी छन् । सात वर्षअघि खानेपानी संयन्त्र निर्माणका लागि उक्त समितिले नगर विकास कोषबाट २२ करोड ऋण लिएको थियो । खानेपानी सञ्चालन भए पनि समितिले उपभोक्ताबाट महसुलबापत संकलन गरेको ३ करोड तिरेको अध्यक्ष नरेन्द्रकुमार राईले बताए । ‘अहिले ब्याजसहित अझै २४ करोड रुपैयाँ तिर्न बाँकी छ,’ उनले भने, ‘उपभोक्तासँग मासिक महसुल उठाएको भरमा ऋण तिर्न नसक्ने भयौं ।’
महँगो शुल्क तिरेपनि असुरक्षित पानी वितरण
उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत खाँदबारी मकालु सडक खण्डमा पाइप गाडेर पानी ल्याइएको छ । कुल निर्माण लागतको ५ प्रतिशत रकम जनसहभागितामा गर्नुपर्ने भएपछि मुख्य पाइप लाइनदेखि धारा जडानको दूरी हेरेर प्रतिघर ५ हजार देखि २५ हजारसम्म उपभोक्ताबाट रकम संकलन गरिएको थियो । लाखौं रकम बुझाएको र मासिक रूपमा पनि महँगो शुल्क तिरे पनि उपभोक्ताले भने सुरुवाती अवस्थादेखि नै पर्याप्त पानी पाएका छैनन् । २४ सै घण्टा खानेपानी उपलब्ध गराउने लक्ष्य राखेर खानेपानी संरचनाको निर्माण सुरु गरिएको थियो । अहिले २ दिन बिराएर सदरमुकाम खाँदबारीमा खानेपानी वितरण गरिँदै आएको छ ।
‘ऋण धेरै भएकाले व्यवस्थापन नहुन्जेल महसुल घटाउन सकिँदैन,’ अध्यक्ष राईले थपे, ‘ऋण तिर्ने निकाय खोज्दैछौं ।’ मांसिमाको पानी अवरुद्ध हुँदा सेकाहाको महाभीर, छभैया र भ्याङखोला मुहानको पानी व्यवस्थापन गरिन्छ । ट्रिटमेन्ट प्लान्ट पनि बन्द भएकाले लेदोसहितको धमिलो पानी आउँछ । ‘महँगो शुल्क तिर्दा पनि उपभोक्ताले स्वच्छ पानी प्रयोग गर्न पाएनन्,’ स्थानीय यादकुमारी मास्के भन्छिन् । समितिले जडान शुल्क बापत उपभोक्ताबाट अग्रिम ५ प्रतिशत अर्थात् २ करोड १५ लाख उठाएको थियो । त्यसबेला यो खानेपानी संयन्त्रबाट खाँदबारी नगरपालिकाको १ देखि ९ वडा, चिचिला गाउँपालिकाको चिचिला बजार क्षेत्र र कुवापनीका उपभोक्तालाई पानी पुर्याउने लक्ष्य थियो । कान्तिपुर दैनिकबाट साभार ।


637 पटक हेरिएको 

