सल्यानटारमा मनपाङ खोलाको पानी ल्याइने

धादिङ : धादिङको सल्यानटारमा मनपाङ खोलाको पानी ल्याइने भएको छ । प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनीले खानेपानी आयोजना निर्माणको सल्यानटारमा शिलान्यास गर्नुभएको हो । खानेपानीको चरम अभाव रहेको सल्यानटारमा फियान नेपालले खानेपानी पिउन पाउनु आधारभूत मानव अधिकारको सवाल रहेको बारे पटक पटक वकालत गरेपछि सल्यानटारमा खानेपानी निर्माण हुने भएको हो । फियान नेपाल खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको क्षेत्रमा काम गर्ने मानव अधिकारवादी संस्था हो ।

संस्थाले ६ पुस २०७२ मा स्थानीयलाई खाद्य अधिकारको बारेमा जानकारी गराएपछि चन्द्रप्रसाद कँडेलको संयोजकत्व सल्यानटार खाद्य अधिकार समूह गठन गरेको थियो । कँडेलको नेतृत्वमा खाद्य अधिकार समूहले खानेपानी खान पाउनु आफूहरूको हक अधिकार रहेको दाबी गर्दै विभिन्न सरकारी निकाय, खानेपानी मन्त्रालय र नेतृत्व तहमा जनवकालत गर्दै जाने क्रममा सहलगानी कोषसंँग सम्बन्ध गाँसिएपछि सल्यानटारमा खानेपानी निर्माण हुने निश्चित भएको हो ।

मनपाङ खोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तर्गत सञ्चालन हुने सल्यानटार सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको ३० करोड ४० लाख ४६ हजार ८ सय १ रुपैयाँ लागत अनुमान रहेकोमा सगुन कन्स्ट्रक्सन रुपन्देहीले २३ करोड ८५ लाख ४९ हजार ३ सय ८७ रुपैयाँमा सम्झौता गरेको छ । सगुनले १२ जेठ २०८१ मा काम सम्पन्न गर्ने गरी संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनसँंग १२ जेठ २०७९ मा सम्झौता गरेको हो ।

कम्पनीले मुहानमा इन्टेक एक वटा, मनपाङ खोला नजिक संकलन ट्यांकी एक वटा निर्माण गर्नुपर्नेछ । मुख्य पाइपलाइन १५ हजार ८ सय ४ किमि, शाखा पाइपलाइन ५३ हजार ६० किमि रहनेछ । सल्यानटार सिक्टारमा पानी प्रशोधन केन्द्र एकवटा, पानी वितरण ट्यांकी चार सय घनमिटरको दुईवटा, समितिको कार्यालय भवन, चौकीदार भवन एकवटा र निजीधारा २ हजार ८ सय ९७ वटा निर्माण गर्नुपर्ने उल्लेख छ ।

सल्यानटार खाद्य अधिकार समूहका वर्तमान संयोजक नमराज अधिकारीले आफूहरूले गरेको संघर्षले सफलता पाउँदा निकै खुसी भएको बताउनुभयो । खाद्य अधिकार समूहका सदस्य एवं मनपाङ खोला सल्यानटार खानेपानी तथा सरफाइ उपभोक्ता समितिका सचिव राधिका भण्डारीले खानेपानीको हकअधिकार दाबी गर्दै सरकारी संस्था वा निकायमा जाँदा त्यहाँका मानिसहरूले नपत्याएको स्मरण गर्दै फियान नेपालले आवश्यक सहयोग मात्र नभई बाटो पनि कोरिदिएको बताउनुभयो ।

सल्यानटार खाद्य अधिकार समूहका सदस्य एवंं मनपाङ खोला सल्यानटार खानेपानी तथा सरफाइ उपभोक्ता समितिका उपाध्यक्ष लक्ष्मण उप्रेतीले समूहको बैठक बस्दा वा तालिममा सहभागी हुँदा वा खानेपानीको सवालमा डेलिगेसन जाँदा नेता मानेकाहरू नै खिस्याएको स्मरण गर्नुभयो । फियान नेपालले पानी ल्याइदिने सल्यानटारमा, कर्मचारी जागिर पचाउन आएको हो । तिमीहरूको होटलको खाजा खर्च मात्र हो भन्नुहुन्थ्यो । अहिले उहाँहरू पनि छक्क पर्नु भएको छ । समूह र समितिमा रहनेहरू त खुसी नै छौं उहाँले भन्नुभयो ।

शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य गुरुप्रसाद बुर्लाकोटी, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती, उपाध्यक्ष देवराज धरेल, पूर्वअध्यक्ष शम्भुकुमार थापा र वडा अध्यक्षहरू उपस्थित हुनुहुन्थ्यो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार