चरिकोट : दोलखाको ऐतिहासिक ढुंगेधाराको जिर्णोद्वार गरिएको छ । बाग्मती प्रदेश सरकारको अनुदान तथा स्थानीय सहभागितामा भीमेश्वर नगरपालिका वडा नं. २ मा रहेको खानेपानी उपभोक्ता तथा सरसफाई समितिले ऐतिहासिक ढुंगेधारा राइतिको जिर्णोद्वार गरिएको हो ।
बाग्मती सरकार खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय अन्तर्गतको खानेपानी महाशाखा मार्फत प्राप्त ५० लाख तथा स्थानीयबाट ५ लाख बराबरको श्रमदान सहित ५५ लाखमा जिर्णोद्वार सम्पन्न भएको खानेपानी उपभोक्ता तथा सरसफाई समिति भीमेश्वर नगरपालिका २, दोलखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
किराँतकालमा स्थापना गरिएको मानिने राइतिको दीर्घकालिन संरक्षणका लागि प्राचिन ढुंगेधारा संरक्षण समिति गठन गरी नियमित सरसफाई र संरक्षण गर्ने भएको छ । यसका लागि २ लाख ५० हजार रुपैयाँको अक्षय कोषको समेत ब्यवस्था गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । को भनाई छ । राइतिमा रहेका तीन धारा मध्ये बीचमा ठूलो धारा रहेको छ भने दुईवटा धारा मकर आकारका रहेका छन् । धाराको विभिन्न भागहरुमा बराह, हनुमान, कृष्ण, नरसिंह नारायणका प्राचिन मुर्तिहरु रहेका छन् । सरस्वतीको मुर्ति भने हराएकोले नयाँ निर्माण गरिएको छ । साथै झिंगटीले छाएको एक आकर्षक पाटी पनि पुरातात्विक शैलीमा निर्माण गरिएको छ ।
राईतिमा रहेका प्राचीन मुर्तिहरु हेर्दा यी किराँत कालिन मुर्ति रहेको भन्न सकिने दोलखाका इतिहासका जानकार तिर्थ नारायण जोशीले बताउनुभयो। मल्लकालमा राजाहरुले स्नानगर्ने भएकोले यसलाई राजहिटी समेत भनिने गरेको जोशीको भनाई छ । तत्कालिन दोलखा राज्य रहँदा राइति नजिकै रानीमहल समेत रहेको उहाँले बताउनुभयो । रानीमहल समय कालखण्डसँगै ध्वस्त भएको जोशीले बताउनुभयो । दोलखाका महत्वपूर्ण चाडपर्वहरुमा राईतिको पानी नै प्रयोग गर्नु पर्ने सांस्कृतिक मान्यता रही आएको छ ।
राइतिको जिर्णोद्वारपछि अब दोलखामा रहेका अन्य ऐतिहासिक ढुङ्गे धाराहरुको पनि जिर्णोद्वारको काम शुरु भएको दोलखाका सामाजिक अगुवा अनिल श्रेष्ठको भनाई छ ।