बस्ती बसालेको पाँच दशकपछि बल्ल खानेपानी सुविधा

  वास खवर सम्वाददाता  159 पटक हेरिएको

मोरङ : मोरङको कानेपोखरीमा मानव वस्ती बसालेको पाँच दशक पछि बल्ल शुद्धपानीको पहुँच पुगेको छ । कानेपाखरी गाउँपालिकाको वडा नं.७, हाइवे लाइनमा खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि दशकौंपछि पानी पिउन पाएका हुन् । खानेपानी आयोजनाको प्रदेश १ का कांग्रेस संसदीय दलका प्रमुख सचेतक सूयर्माराज राईले उद्घाटन गर्नुभयो। प्रदेश नं. १ प्रदेश निर्वाचन क्षेत्रमा एक निर्वाचन क्षेत्र एक खानेपानी आयोजना अन्तर्गत निर्माण भएको खानेपानी आयोजना २०७५ को पुस १६ गते राईले नै शिलान्यास गर्नुभएको थियो।

स्थानीय सामुदायिक वनको पाँच कट्ठा जमिनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो। कूल तीन करोड २७ लाख ९५ हजार रुपियाँको लागतमा निर्माण भएको आयोजनाका लागि प्रदेश सरकारले दुई करोड ३९ लाख ४० हजार ७० रुपियाँ एवं बाँकी सङ्घीय सरकार र कानेपोखरी गाउँपालिकाले अनुदान सहयोग गरेका हुन्। हालसम्म उपभोक्ता समितिले सात लाख रुपियाँ खर्च गरिसकेको छ।

सांसद राईले जिल्लाका कुनै पनि खानेपानी आयोजना यति छोटो अवधिमा सम्पन्न नभएको बताउनुभयो। विकासका काममा दलीय दृष्टिले हेर्दा हाम्रा आयोजनाहरू समयमा सम्पन्न हुन नसकेको बताउँदै उहाँले कानेपोखरीका ट्युबवेल र इनार सुकेर यहाँका बासिन्दा काकाकुल बन्न लागेकोले सानो बस्ती भए पनि कानेपोखरी हाइवे क्षेत्र नै रोजाइमा परेको बताउनुभयो ।

‘पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको कानेपोखरी बजारमा एक सय घर छन्, तिनका लागि करोडौँको खानेपानी आयोजना किन भनेर कुरा उठ्यो’ उहाँले भन्नुभयो । खानेपानी आयोजना जति उच्च स्थानमा राख्न सक्यो त्यति नै लागत खर्च कम र पानीको बहाव बढी हुने भएकोले प्राविधिक हिसाबले नै सानो बस्तीमा राखिएको उहाँले बताउनुभयो। ‘दुई लाख २५ हजार लिटर क्षमताको ओभरहेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी तीन हजार मिटर खानेपानी पाइप विस्तार गरिसकिएको छ। जति बढी पाइप विस्तार गर्न सकिन्छ, उति बढी उपभोक्ताको पहुँचमा खानेपानी पुग्नेछ’ सांसद राईले भन्नुभयो।

पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै बस्ती बसेको कानेपोखरीमा तत्कालीन समाजसेवी हरिप्रसाद अधिकारीले २०२५ तिर एउटा इनार खनाउनु भएको थियो। त्यही इनारको पानीबाट कानेपोखरी दक्षिणको गाउँका बासिन्दा समेत लाभान्वित भएका थिए। ५० को दशकमा ट्युबवेलको पानी पिउने प्रचलन आएसँगै कानेपोखरीको इनार मासियो तर नजिकैका खोलामा अत्याधिक उत्खनन् र वन क्षेत्र मासिने क्रम बढेपछि कानेपोखरी आसपासका गाउँमा रहेका ट्युबवेल र इनार सुक्न थालेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार