पहाडको टाकुरोमा बोरिङ गर्दा पानी निस्केपछि….

करिब १५ सय मिटर उचाइको भालुखोपमा डिप बोरिङ गर्दै

रामेछाप : पहाडको टाकुरोमा बोरिङ गर्दा पानी आउला भन्ने कल्पना पनि नगरेका रामेछाप सुकाजोरका बासिन्दा अहिले खुसीले गदगद छन् । कालिकुवा डिप बोरिङबाट पहाडको गहिराईबाट पानी तानेर खुवाएपछि स्थानीय हर्षित भएका हुन् । स्थानीय ढालविक्रम भन्नुहुन्छ ‘अनौठो लागेको छ, हामीले यस्तो टाकुरोमा जमिनमुनिको पानी आउने कुरा सोचेका पनि थिएनौं ।’ पहाडको टुप्पो खोपेर छिराइएको पाइप जमिनको सतहबाट २ सय ३९ मिटर गहिराईमा पुगेपछि पानी निस्किएको हो ।

जमिनमुनिको पानी प्रयोग गर्न समथर ठाउँ, नदी र खोलाको किनार नै चाहिन्छ भन्ने मान्यतालाई सुकाजोरको कालिकुवा डिप बोरिङ योजनाले चिरेको छ । सुकाजोरकै भालुखोप र रामेछापको केवलेश्वर पनि अग्ला पहाड हुन्  । ती दुवै स्थानमा पानी निस्किएपछि स्थानीय छक्क परेका छन् । करिब १५ सय मिटर उचाइको भालुखोपमा पानी निस्केपछि गाउँले हर्षित भएको स्थानीय गोपाल कर्माचार्यले बताउनुभयो । नगरपालिकाले सुक्खाग्रस्त सुकाजोरवासीका लागि खानेपानीको संकट टार्नका लागि उक्त महत्त्वाकांक्षी योजना अघि सारेको थियो ।

कालिकुवा डिप बोरिङ योजनाबाट रामेछाप नगरपालिकाको सुकाजोरका झन्डै ७ सय परिवारमा पानी वितरण गर्ने लक्ष्य योजनाले लिएको छ । त्यसमध्ये ३ सय परिवारले अस्थायी रूपमा पानीको उपयोग गर्न थालिसकेका छन् । ‘एक गाग्री पानी लिनका लागि एक बिहान बिताउनुपर्नेमा घरमै धारा ल्याएर खानेपानी अभाव टारेका छौं ।’ मुगानका रामबहादुर कार्कीले भन्नुभयो । रामेछाप नजिकैको उक्त बस्तीमा अब व्यावसायिक तरकारी र पशुपालनका लागि समेत पानी पर्याप्त हुन थालेको कार्कीले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार