
सल्यान : कालीमाटी गाउँपालिका–३ स्याउ जिउलाका ५० वर्षीय जीवरात रावतले गाउँमा सिँचाइ सुविधा नहुँदा खेतीका लागि ठूलो कष्ट गरे । ‘आकाशेपानी पर्छ कि भनेर बाली लगाउँथ्यो, पानी नपरेपछि पूरै बाली खडेरीले सखाप हुन्थ्यो,’ उनले भने, ‘कुनै साल त बीउ पनि जोगाउन मुस्किल ।’ तर उनले यसपालि धेरै वर्षपछि असार पहिलो साता नै धान रोपाइँ गरे । अहिले धानबालीमा सिँचाइ पनि नियमित गर्न पाएका छन् ।
कालीमाटी गाउँपालिका–१ टोटकेका निर्मल घर्तीले पनि असार दोस्रो साता रोपाइँ सके । गत वर्षसम्म मकै उत्पादन हुने उनको पाखोमा अहिले लहलह धान भुलिरहेको छ । ‘धान लगाएपछि यो वर्ष त वर्षभरि नै पुग्ने अन्न उत्पादन हुन्छ कि भन्ने आशा छ,’ उनले भने, ‘खेतमा धान लगाउन नपाउँदा बजारको चामलको भर थियो, अब आफ्नै उत्पादनले पुग्छ कि ?’
झण्डै ३५ हेक्टर खेतमा सिँचाइ गर्ने उद्देश्यले योजनाको काम थालिएको थियो । तर बजेट नआएपछि श्रमदान मार्फत योजना निर्माण गरिएको हो । अहिले ३ गाउँका झण्डै ७ सय रोपनी खेतमा सिँचाइ सुविधा पुगेको छ । जसबाट झण्डै १ सय परिवार लाभान्वित भएको अर्का किसान डिल्ली केसीले बताए । ‘यसपालि खेतीपाती गर्ने समयमा वर्षा कम भए पनि असारको अन्तिम नलाग्दै सबै किसानले रोपाइँ सकेका थियौं,’ उनले भने, ‘अहिले सबैका खेतमा धान झुलिरहेका छन् ।’ उनले गाउँमा सिँचाइ सुविधा पुगेपछि आकासेपानीको भरमा खेती गर्नुपर्ने र मकै मात्र खेती गर्नुपर्ने बाध्यता हटेको बताए । सिँचाइको सुविधा भएपछि ३ बालीसम्म खेती गर्न सकिने भएको उनको भनाइ छ । उनका अनुसार धानखेती नहुँदा गाउँका किसानले बाहिरको चामलको भर पर्ने गरेका थिए । ‘बढीमा ५ महिना पुग्थ्यो,’ उनले भने, ‘अब वर्षभरि नै पुग्ने अन्न आफै फलाउँछौ कि भन्ने आशा छ, अब त तरकारीखेती गरेर पनि घरखर्च धान्न सकिन्छ कि भन्ने आँट पलाएको छ ।’
कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले सिँचाइ सुविधा पुगेपछि किसानलाई नगदेबालीतर्फ उत्साहित गर्ने वडा कार्यालयले योजना बनाएको बताए । उनका अनुसार पहिलो वर्ष भएकाले यो वर्ष सबै किसानले धान लगाएका छन् । ‘अब व्यवसायिक तरकारी खेतीतर्फ किसानलाई आकर्षित गर्न सके सबै किसान आत्मनिर्भर बन्न सक्छन्,’ उनले भने, ‘त्यसका लागि मल, बीउ र बजारीकरणमा सहयोग गर्ने गरी योजना बनाइरहेका छौं ।’


616 पटक हेरिएको 

