
बाँके : बाँकेमा २०६३/६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अझै पनि अलपत्र अवस्थामा छन्। बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिको चासो नदेखिनु लगायतका कारणले डेढ दशक पहिले देखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा रहेको सरसफाइ तथा खानेपानी डिभिजन कार्यालय बाँकेका प्रमुख तिलक न्यौपानेले जानकारी दिनुभयो।
उहाँका अनुसार बाँकेका करिब १५ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी खाइरहेको जनाउँदै निर्माणाधीन सबै आयोजनाको काम पूरा भएमा ८५ प्रतिशत नागरिकले पाइप प्रणालीको पानी खान पाउनेछन्।
खानेपानी डिभिजन कार्यालयका अनुसार २०६३/६४ सालदेखि निर्माण सुरु भएको नेपालगञ्ज १६ जयसपुरमा रहेको खानेपानी आयोजनाको सुर्खेतरोड विस्तारका क्रममा सडकमा रहेको पाइपलाइन काटिएपछि अलपत्र परेको छ। त्यस्तै हवल्दारपुर नजिकै रहेको शमशेरगञ्ज खानेपानी आयोजना, राधापुर खानेपानी योजनालगायतका आयोजना हाल अलपत्र अवस्थामा छन्। ती सबै आयोजना सञ्चालनका लागि डिभिजन कार्यालयले प्रयास गरिरहेको प्रमुख न्यौपानेले बताउनुभएको खबर गोरखापत्र अनलाइनले प्रकाशन गरेको छ ।
सरकारले ठूलो रकम खर्च गरेर निर्माण सुरु गरेका आयोजना बीचमै अलपत्र पर्दा यहाँ खर्चिएको बजेट बालुवामा पानी खन्याएजस्तै भएको छ। डेढ दशकसम्म पनि आयोजना निर्माण सम्पन्न नहुँदा पानीका ट्याङ्कीहरू चुहिने, पुनः मर्मत गर्नुपर्नेलगायतका समस्या देखिने गरेको छ। धेरै योजना त रकम अभाव र दबाबका कारण सम्पन्न गर्न नसकिएको उहाँको भनाइ छ।
“बर्सेनि बजेट घट्दो छ तर माग बढ्दो छ। गत वर्षको तुलनामा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएको छ,” डिभिजन प्रमुख न्यौपानेले भन्नुभयो, “आवश्यक बजेट नआउँदा १०–१२ वर्षदेखिका आयोजना अलपत्र परेका छन्।” उहाँका अनुसार जिल्लामा सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधीन छन्।
यी आयोजनामध्ये चार–पाँचवटा आयोजना मात्र आंशिक रूपमा सञ्चालनमा रहेको कार्यालयले जनाएको छ। चालू आवमा कम्तीमा ८/१० वटा खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्रमुख न्यौपानेको भनाइ छ।


558 पटक हेरिएको 

